रोष्ट्रमबाटै सांसदले ‘फ्लाइङ किस’ गरेपछि…

विराटनगर । प्रदेश नं. १ सरकारले गत शुक्रबार पेश गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि प्रदेशसभामा आइतबारदेखि सुरु भएको छलफलमा सांसद सर्वध्वज साँवाले सबैको ध्यान खिचे ।

संसदमा उभिएर बोल्दा रमाइलो गर्ने साँवा रोष्ट्रम्ममा पुगेपछि उनको प्रस्तुति सबैलाई एक प्रकारको मनोरञ्जन नै हुने गरेको छ ।

नीति तथा कार्यक्रमबारे सांसदहरुले धारणा राख्नेक्रममा आइतबार रोष्ट्रममा पुगेका सांसद साँवाले त्यसलाई समर्थन गरेको भन्दै ‘फ़्ल्याइङ्ग किस’ गरे । कोरोनाको विषम परिस्थितिमा सरकारले बृहत् क्षेत्र समेटेर नीति तथा कार्यक्रम ल्याउन सकेको भन्दै उनले त्यसलाई ‘फ्लाइङ किस’ दिएर समर्थन गरेका हुन् ।

‘ठूला देशहरूमा समेत संसद् चल्न नसकेको बेला प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई म फ्लाइङ किस दिन चाहन्छु’ साँवाको भनाइ थियो । उनले रोस्ट्रमबाटै नीति तथा कार्यक्रम बहुत राम्रो भएको भन्दै हात उठाएर फ्लाइङ किस दिएका थिए ।

फ्लाइङ किस दिँदा संसद्मा उपस्थित सबै सांसदहरू हाँसेका थिए । सांसद साँवाले नीति कार्यक्रमलाई छातीभरि माया दिन अँगालोमा बाँध्न चाहन्छु भन्दा पनि संसदमा हाँसोको फोहरा छुटेको थियो ।

साँवाको प्रस्तुतिमा मुख्यमन्त्री शेरधन राई र आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की आपसमा मुखामुख गर्दै मुस्कुराएका थिए भने विपक्षी सांसदहरु पनि खित्का छाडेर हाँसेका थिए ।

आइतबार, २५ जेठ, २०७७, साँझको ०६:१३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर