विराटनगर । विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रबाट थप २७ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् ।
कोभिड–१९ उपचार केन्द्रमा उपचाररत ४१ मध्ये कोरोना सङक्रमितहरु २७ जना कोरोनामुक्त भई आज एकसाथ डिस्चार्ज भएका हुन । आज कोरोनामुक्त भई डिस्चार्ज हुनेमा उदयपुरका २, झापाका ७, मोरङका ५, सुनसरीका ४, धनकुटाका २, खोटाङका १ र सप्तरीका २ जना गरि कुल २४ जना पुरुष तथा ४ जना महिला रहेका अस्पताल व्यवस्थापन समितिका संयोजक ज्ञानबहादुर बस्नेतले बताउनुभयो । त्यसैगरि धरानस्थित बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पनि आज ३ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन । डिस्चार्ज भएका सबैलाई सम्बन्धित जिल्ला पठाईने प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिनुभयो ।
यसरी प्रदेश नं. १ मा कोरोनामुक्त हुनेको संख्या ७८ पुगेको छ भने आज मात्रै थप १६ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ । यससँगै प्रदेश नं. १ मा भने कोरोना सङक्रमितको सङख्या भने २ सय १ पुगेको छ ।