विराटनगर । प्रदेश १ सरकारले यही जेठ २३ गते शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा पेश गर्ने भएको छ ।
बुधबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले सरकारले आर्थिक वर्ष २०७७÷७८ लागि नीति तथा कार्यक्रम शुक्रबार ३ बजेको बैठकमा पेश गर्ने निर्णय गरेको हो ।
नीति तथा कार्यक्रम प्रदेश प्रमुख सोमनाथ प्यासी अधिकारीले पेश गर्नुहुनेछ । सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीका अनुसार बैठकले प्रदेश सरकार विपद् खोज, उद्धार एवं राहत वितरण कार्यविधि निर्देशिका २०७६ को संशोधन गरेको छ भने प्रादेशिक सञ्चार प्रतिष्ठान गठनसम्बन्धी कार्यविधिलाई स्वीकृति प्रदान गरेको छ ।
यस्तै कोरोनाको प्रभावले कृषकमा पर्न गएको अप्ठ्यारोलाई सहज बनाउन कृषक राहत कार्यविधिलाई पास गरेको र प्रदेश सरकारको सार्वजनिक खरिद नियमावलीलाई स्वीकृति प्रदान गर्ने निर्णय भएको प्रवक्ता कार्कीले बताउनुभयो ।
सरकारले प्रदेश १ का लागि छुट्टै सार्वजनिद खरिद नियमावलीसमेत निर्माण गरेको छ । यस्तै अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम कार्यान्वयन कार्यविधिलाई समेत मन्त्रिपरिषदे स्वीकृति दिएको छ ।