संघर्षबाट जन्मिएका पत्रकारको जिम्मेवारी

 राजन केडी

प्रेस सेन्टर स्थापना भएको दुई दशक पूरा भएको छ । २०६१ पुसमा रोल्पाको इरिवाङमा युद्ध पत्रकारका रुपमा क्रियाशील जनपक्षीय पत्रकारहरुको राष्ट्रिय भेला आयोजना गरियो । त्यही मिति र स्थानबाट प्रेस सेन्टरको जन्म भएको थियो ।
प्रेस सेन्टरले जनताको आन्दोलनका पक्षमा जनयुद्धको एक सशक्त प्रचार मोर्चाको भूमिका निर्वाह गर्दै आएको छ । युद्ध पत्रकारिताको रूपमा एउटा पुस्ताबाट अर्काे पुस्तामा सर्दै क्रान्तिकारी पत्रकारिता क्रान्तिकारी पत्रकार संघका रुपमा अघि बढ्न थाल्यो  । जनपक्षीय संचार सामग्री उत्पादन र क्रान्तिकारी पत्रकारको मोर्चा गठन प्रमुख काम बोध गरी २०६१ माघ १५ गते महेश्वर दाहालको संयोजकत्वमा अखिल नेपाल क्रान्तिकारी पत्रकार संघ गठन गर्नु जनयुद्धको आवश्यकता बुझाउनु मात्र सम्बन्धित थिएन, त्यतिबेलाको राज्यसत्ताले फैल्याएको झुट्टो प्रचारलाई खण्डन गर्नुसँग पनि सम्बन्धित थियो ।

जनताको न्यायपूर्ण संघर्षलाई व्यापक प्रचार गर्न क्रान्तिकारी पत्रकारको महत्वपूर्ण भूमिका रहन्छ  । क्रान्तिकारी पत्रकार संघ, क्रान्तिकारी पत्रकार महासंघ हँुदै प्रेस सेन्टर बनेको जनपक्षीय पत्रकाहरुको संगठनमा संगठित पत्रकाहरुले जनताले निर्माण गरेका इतिहास, वर्तमानका संघर्ष र भविष्यको योजनालाई प्रचार गरिरहेका छन् । जनताका विचार, भावना, अनुभव, कल्पना, सपना र संवेदना जनपक्षीय पत्रिकाहरु जनदिशा दैनिक, जनादेश साप्ताहिक, जनविद्रोह दैनिक, रेडीयो गणतन्त्रहरुमा अभिव्यक्त हुन पाए  । यी संचार माध्यमहरुबाट स्वतन्त्रता, समानता, सामाजिक न्यायको वकालतमा प्रेस सेन्टरमा आवद्ध पत्रकाहरुले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

माओवादी केन्द्रले अघि सारेका विचारलाई जनतासँग जोड्न, संगठित गर्न प्रेस सेन्टरले स्थापनादेखि नै महत्वपूर्ण योगदान दिँदै आएको छ  । प्रेस सेन्टरले जनताको आन्दोलनका पक्षमा, विशेषगरी जनयुद्धको समर्थनमा सशक्त भूमिका निर्वाह गर्दै आएको छ । युद्ध पत्रकारिता र जनयुद्धको प्रचारप्रसारमा यस संगठनले ऐतिहासिक योगदान पु¥याएको छ । नेपालमा जनयुद्ध सुरु भएपछि क्रान्तिकारी पत्रकारिता र क्रान्तिकारी पत्रकार संघका रूपमा जनपक्षीय पत्रकारिताको अवधारणा विकसित हुँदै गयो, जसले जनताको संघर्षलाई लिपीबद्ध गर्ने काम गरेको छ ।

यस संघको मुख्य उद्देश्य जनयुद्धको आवश्यकता बुझाउनु मात्र होइन, नेपाली समाजलाई सामाजिक न्याय र समाजवादको बाटोमा हिडाउने थियो । जनपक्षीय पत्रकारिता भनेको समाजको उत्पीडित वर्गको आवाज बन्ने, सामाजिक परिवर्तनको पक्षमा उभिने र समतामूलक समाजको निर्माणका लागि काम गर्ने एक सशक्त माध्यम हो । प्रेस सेन्टरले श्रमजीवी पत्रकारहरूको न्यायका लागि विभिन्न आन्दोलनको अगुवाइ पनि गरिरहेको छ ।

जनयुद्धको जगमा भएको १९ दिने जनआन्दोलन, संविधान सभाबाटै संविधान निर्माणमा दबाब, मधेस आन्दोलन, जनजाति आन्दोलन, लैंगिक आन्दोलन, विभिन्न पहिचानका आन्दोलनहरुको प्रचार प्रसार सेन्टरमा आबद्ध पत्रकारहरुले गरेका छन् । आलोचनात्मक चेतको विकास एवम् समाजको रूपान्तरणमा जनपक्षीय पत्रकारिताको महत्वपूर्ण भूमिका रहन्छ  । पत्रकारितालाई आवाजबिहीनहरुको आवाजको रुपमा परिभाषित गरिन्छ । यस परिभाषाले जनआवाजलाई बुलन्द गर्ने बुझाउँछ  । यसै कारण पत्रकारितालाई जनभावनाको वकालत गर्ने विशिष्ट माध्यमका रूपमा लिइन्छ । जनपक्षीय पत्रकारिताकै बाटोमा प्रेस सेन्टर एकताबद्ध हुँदै आएको छ र सामाजिक न्यायसहितको समाजवादको प्रचार गर्ने दृढ सङ्कल्पका साथ अघि बढेको छ ।
पत्रकारितालाई शासकहरूले आफ्नो सत्ताको रक्षा, हितहरूको संरक्षण, क्रान्तिकारीहरूको दमन, आफ्नो हितअनुकूल विचार, भावना र मूल्यहरूको निर्माण, आममानिसको चेतना एवं संस्कारलाई आफ्नो स्वार्थ अनुरूप र आफ्नो यशोगानका निम्ति पनि प्रयोग गर्ने प्रयास गर्दै आएका छन्  । वर्गीय, जातीय, लैङ्गिक विभेद र उत्पीडनको संरक्षण एवं विस्तार, अमानवीय मूल्यको निर्माण, सांस्कृतिक सङ्कीर्णता र अहङ्कारको विकास, जातीय श्रेष्ठताको भावनाको निर्माण, जीवन विरोधी दृष्टिकोणको विकास र त्यसको संरक्षण, निरङ्कुशता, अधिनायकवादको समर्थन, व्यक्तिवाद र समाजको सानो हिस्साको सुखवादको निम्ति पनि पत्रकारितालाई उपयोग गर्ने प्रयास गरिएको छ  । सामन्तवादी युगमा पत्रकारहरुको सानो अंशले प्रत्यक्ष अप्रत्यक्ष रूपमा सामन्तवादको संरक्षण र संवद्र्धनका निम्ति भूमिका निर्वाह ग¥यो । त्यो समयमा स्वतन्त्रता, समानता र सामाजिक न्यायका भावनालाई दबाइयो  । दरबारीया पत्रकारहरु जन्माइए । पत्रकारितालाई आफ्नो उद्देश्यअनुरूप डोहो¥याउन केही पत्रकारहरुलाई दरबारमा आश्रय दिइयो  । पत्रकारितालाई यस रूपमा उपयोग गरिन थालेपछि त्यसको प्रतिरोधमा परिवर्तनमुखी पत्रकारिता पनि सँगसँगै सक्रिय रह्यो  ।

पत्रकारहरुकै संघर्षले गर्दा नेपालको संविधान २०७२ मा पूर्ण प्रेस स्वतन्त्रता लेखिएको छ । तर, पत्रकारितालाई आजपनि सत्ता रक्षाको उपकरण, सत्ताअनुकूल प्रचार र मूल्य निर्माण एवं उत्पीडक वर्गको हितका निम्ति प्रयोग गरिँदै छ । पुँजीवादको विभेदकारी संरचनाको संरक्षणमा पत्रकारिताको प्रयोग हुँदैछ । वर्गभेद, रङ्गभेद, जातिभेद, लिङ्गभेदको संरक्षण र विस्तारमा पत्रकारितालाई उपयोग गरिँदै छ । एकता, सहिष्णुता, सद्भाव, परस्पर विश्वास, मानवतालाई, आदिलाई नष्ट गर्न पत्रकारिताको उपयोग आजको कटु यथार्थ हो । पत्रकारको स्वत्रन्त्र भूमिकालाई पाखालगाउँदै यसलाई मजाकको विषय बनाइएको नमिठो यथार्थ जनपक्षीय पत्रकारका अगाडि छ ।

पुँजीवादी मिडियाले पस्केका झुटलाई खण्डन गर्दै यथार्थ सूचनाको विस्तार, सबै प्रकारका विभेद एवं उत्पीडनका विरुद्ध उभिन सक्नु जनपक्षीय पत्रकाहरुको मूख्य जिम्मेवारी हो । विविधता र बहुलतालाई स्वीकार गर्न सक्नु, पहिचानको सम्मान र संरक्षणका निम्ति आवाज उठाउन प्रतिबद्ध हुनु, स्वतन्त्रता, समानता र सामाजिक न्यायका पक्षमा उभिन सक्नु नै जनताका पत्रकारहरुको कार्यभार हो ।

जनपक्षीय पत्रकारितामा झुटा प्रचार कुराको अर्थ हुँदैन । विभेद र उत्पीडनलाई परास्त गर्न गरिने पत्रकारिता नै सार्थक हुन्छ । उत्पीडनका समस्त रूपहरूका विरुद्ध उभिएर र स्वतन्त्रता, समानता, सामाजिक न्यायलाई केन्द्रमा राखेर नै प्रेस सेन्टरमा संगठित पत्रकारहरुले पत्रकारिता गर्न सक्छन् । सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य एवं समानता र संविधानमा लेखिएको छ । जनताले सामानताबोध व्यवहारमै गर्न पाउनु पर्छ । यस्तो वातावरण निर्माण जनपक्षीय पत्रकारिता गर्नेहरु नै अघि सर्नुपर्छ । जनपक्षीय पत्रकारले यसका निम्ति के गर्ने भन्ने कुरामा वैचारिक स्पष्टता हुनु पर्छ । मुलुकलाई जोगाउन, बाह्य थिचोमिचोको प्रतिवाद गर्न र स्वाधीनता एवं स्वाभिमानको रक्षा गर्न समानता र जनपक्षीय पत्रकारिताको दृष्टिकोणमा आधारित भएरै सम्भव हुन्छ  । प्रेस सेन्टरमा आबद्ध पत्रकारले यसै अनुरूप भूमिका निर्वाह गर्नुपर्छ ।

आधुनिक संचारका माध्यमलाई परिवर्तनको विरोधमा प्रयोग गरिदंैछ  । नेपाली समाजमा आर्थिक असमानता र उत्पीडन संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा पनि छ । समाजमा आर्थिक श्रेणीको निर्माण भएको छ  । एकातिर सम्पन्नहरू छन् अर्कातिर विपन्नहरू । नेपाली समाजमा छुवाछुतलगायत जातीय विभेदका विविध रूपहरू छन् । लैङ्गिक विभेद र उत्पीडन समाप्त भएको छैन । आदिवासी, जनजाति र मधेशीहरूले अहिले पनि आफूलाई उपेक्षित र उत्पीडित अनुभव गरिरहेका छन् । यस्ता उत्पीडन अन्त्यका लागि जनपक्षीय पत्रकारको भूमिका अपरिहार्य छ ।

नेपाली पत्रकारितालाई बिथोल्न आज अनेकन तत्वहरू सक्रिय छन् । तिनका आ–आफ्ना अभिष्ट छन् । पत्रकारिता कमजोर हुने अनेकन तस्बिर हाम्रा अगाडि छन् । हाम्रो प्रेस स्वतन्त्रतामाथि, चोट लाग्दै आएको छ । पत्रिकातामा आगो सल्काउने प्रयास हुँदै आएका छन् । त्यसैले जनपक्षीय पत्रकारितालाई जोगाउन सशक्त भूमिका निर्वाह गर्नुपर्ने समय हो यो  । हामी अत्यन्त संवेदनशील र गम्भीर बन्नुपर्ने समयमा छौँ  । यसकारण समयले हामीबाट अझ प्रभावकारी भूमिकाको अपेक्षा गरेको छ ।
पुँजीवादी मिडियाले झूठ र भ्रमको प्रचार गरि जनताको व्यवस्थालाई खराब देखाउने प्रयास गरिरहँदा, जनपक्षीय पत्रकारहरूले यथार्थ सूचना र सत्यको पक्षमा उभिनु आवश्यक छ । विभिन्न किसिमका उत्पीडन र विभेदको अन्त्यगर्दै, स्वतन्त्रता, समानता र सामाजिक न्यायका मूल्यलाई आत्मसात गर्न पत्रकारहरूले ध्यान दिनुपर्नेछ । यही कारणले, वर्ग संघर्षबाट जन्मिएका संचारकर्मीको कार्यभार भनेको छिपछिपे पत्रकारिता होइन, समस्याको गहिराई पुगी समाधानमुखी पत्रकारिता गर्नु हो । यसका लागि, जनपक्षीय पत्रकारहरूले अझ बढी एकताबद्ध भएर, समानताको पक्षमा खडा हुने र समाजमा परिवर्तन ल्याउने दृढ सङ्कल्पगर्नु पर्ने आवश्यकता छ ।

डोकोमा रेडियो बोकेर डाँडाँकाँडा घुमेका, ओढारबाट पत्रिका निकालेका जनपक्षीय पत्रकारहरुका लागि आजको समय संवेदनशील र चुनौतीपूर्ण छ । आधुनिक मिडियाको भीडमा पत्रकारिताको स्वतन्त्रता र समाज परिवर्तन गर्ने जिम्मेवारीलाई जोड दिँदै, जनपक्षीय पत्रकारिताले यथार्थ र साँचो सूचना प्रदानगर्ने, उत्पीडन र विभेदका विरुद्ध लड्ने, समाजमा समानता र न्यायको स्थापना गर्ने कामलाई निरन्तरता दिनुपर्नेछ । यो काम आधुनिक मिडिया (माध्यम)को सही उपयोगबाट गर्न सकिन्छ ।

शुक्रबार, ११ माघ, २०८१

प्रतिक्रिया:

सम्बन्धित खवर