कोशी प्रदेश सरकारद्वारा पर्यटन वर्ष उद्घाटनका लागि लालीगुराँस फुलाउने प्रयास

विराटनगर । कोशी प्रदेश सरकारले चैत २७ गते तेह्रथुमको तीनजुरे क्षेत्रबाट ‘पर्यटन वर्ष २०८२’को उद्घाटन गर्दै छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटन वर्ष २०८२ उद्घाटन गर्ने भएपछि लालीगुराँस फुलाउन प्रदेश सरकार लागि परेको छ।

चैतको तेस्रो साता बित्दा समेत उद्घाटन गर्ने क्षेत्रमा लालीगुराँस फुलेको छैन। तीनजुरे लालीगुराँसको राजधानी मानिन्छ, जहाँ ३२ प्रजातिका गुराँस पाइन्छन्। नेपालमा पाइने ३६ मध्ये ३२ प्रजातिका गुराँस यही क्षेत्रमा पाइन्छन्। तीनजुरे, मिल्के र जलजले तेह्रथुम, संखुवासभा र ताप्लेजुङमा पर्छन्।
प्रधानमन्त्रीलाई राताम्मे गुराँस देखाउने प्रदेश सरकारको योजना रहेपनि गुराँस नफुलेपछि अनेकन् जुक्ति लगाउन थालिएको छ। लाली गुराँस फूलाउन अहिले तीनजुरेमा दमकलबाट लगेर पानी हाल्न थालिएको छ।

उद्घाटनमा गुराँस फुलोस् भनेर पानी लगाउने गरिएको जिल्ला समन्वय समिति तेह्रथुमका उप प्रमुख श्रीप्रसाद कार्कीले बताए।‘लालीगुराँस नगरपालिकाको दमकलबाट पानी ल्याएर हामीले सिँचाइ गरेका छौं,’ उप प्रमुख कार्कीले भने, ‘यति गर्दा पनि प्रधानमन्त्रीले उद्घाटन गर्ने कार्यक्रममा गुराँस फुल्छजस्तो छैन।

वातावरण क्षेत्रका विज्ञहरुले भने सिँचाइपछि फुल्न सक्ने बताएका छन्। समयमा हिउँ र पानी नपरेका कारण फुल्न ढिलाइ भएको हुन सक्ने वातावरण क्षेत्रका विज्ञ रामचन्द्र अधिकारीले बताए। उनले सिँचाइपछि फुल्न सक्ने सम्भावना रहेको बताएका छन्।

पर्यटन वर्ष मनाउन सरकारले चालु वर्षको बजेटमा १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। तर, चालु वर्षमा खर्च गर्न विनियोजन गरिएको रकम तीन महिनाको अवधिमा खर्च हुने सम्भावना भने छैन।पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले पनि गुराँस फूलाउन तेह्रथुमकै स्थानीयहरूले सिँचाइ गरेको बताए। कोशी प्रदेश पर्यटन वर्ष २०८२ उद्घाटनको नजिक आइपुग्दा पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटन वर्षको नारा, लोगो र मस्कट तयार पारेको छ।

बिहिबार, २० चैत, २०८१, साँझको ०६:३८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर