विराटनगर । नेकपा एमाले विराटनगर महानगरको दोस्रो अधिवेशनको तयारी तीब्र पारिएको छ । बिहीबार बसेको महानगर कमिटी सचिवालय बैठकले विभिन्न ९ वटा समिति बनाएर अधिवेशनलाई भब्य रुपमा सम्पन्न गर्ने निर्णय गरेको छ ।
वैशाख २ र ३ गते हुने अधिवेशनका लागि चैत्र २८ गते एकैदिन एकै समयमा भूगोलका प्रतिनिधि चयन गर्ने निर्णय गरेको बैठकले जन संगठनहरुको प्रतिनिधि चयन चैत्र २९ गते गर्ने महानगरका सचिव बलराम गिरीले बताए । उनका अनुसार महानगरका अध्यक्ष रोहित कोइरालाको संयोजकत्वमा महानगर कमिटी तथा वडा कमिटीका अध्यक्ष र सचिव रहनेगरी २५१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको छ ।
यस्तै सचिव बलराम गिरीको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उपसमिति, प्रवक्ता राम पोखरेलको संयोजकत्वमा प्रचार–प्रसार उपसमिति गठन भएको छ । आर्थिक उपसमितिको संयोजकमा मनोज विक्रम साह र सहसंयोजकमा सी एम श्रेष्ठ रहनुभएको छ भने प्रकाश पोखरेलको संयोजकत्वमा स्वयंसेवक उपसमिति बनाइएको छ । राजनितिक तथा सांगठनिक प्रतिवेदन लेखन उपसमितिको संयोजक अध्यक्ष कोइराला र अतिथि सत्कार उपसमितिको संयोजकमा उपाध्यक्ष सुनिता श्रेष्ठ रहेका छन् ।
यस्तै सचिवालय सदस्य राम पाण्डेको संयोजकत्वमा स्वास्थ्य उपसमिति गठन गरिएको छ भने खाद्यान्न तथा आवास उपसमितिको संयोजकमा भोला बराल रहेका छन् । बैठकपछि अध्यक्ष कोइरालाले अधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्न महानगरको सिंगो टिमलाई नै विभिन्न जिम्मेवारीका साथ परिचालन गरिएको जानकारी दिए । उनले प्रतिनिधि चयन पनि सबैको प्रतिनिधित्व हुने गरि व्यवस्था मिलाइएको बताए ।
उनका अनुसार भुगोलबाट हरेक १५ जना संगठित सदस्य बराबर १ जना हुनेगरि प्रतिनिधि चयन हुनेछन् । यस्तै ३ जना प्रतिनिधि बराबर एक जना महिला अनिवार्य रहेको उनले बताए । यस्तै कुल प्रतिनिधिको २० प्रतिशत युवाको प्रतिनिधित्व अनिवार्य गरिएको छ भने सीमान्तकृत, दलित, मुस्लिम, अल्पसंख्यक, मारवाडी प्रतिनिधित्व समेत सुनिश्चित हुने उनले बताए ।
नेकपा एमाले मोरङका सचिव सोमराज थापाले नेकपा एमाले जत्तिको व्यवस्थित, अनुशासित पार्टी कुनै नभएको भन्दै महानगरको दोस्रो अधिवेशनले अभूतपूर्व एकताको सन्देश दिएर सम्पन्न हुने विश्वास ब्यक्त गरे । एमाले नेतृ तथा विराटनगर महानगरकी उपप्रमुख शिल्पा निराला कार्कीले ब्यक्तिलाई नभई पार्टीलाई अघि बढाउने गरि अघि बढ्न आग्रह गरिन् । उनले पार्टीभित्र ब्यक्ति केन्द्रमा राखेर राजनीति भइरहेको भन्दै त्यसले सिङ्गो पार्टीलाई क्षति पुग्ने बताइन् ।