जनस्वास्थ्यमाथि खेलवाड : छाला उद्योगले प्रदुषण बढाएको भन्दै स्थानीय विरोधमा

विराटनगर । सुनसरीको दुहबी नगरपालिका ६ मा संचालनमा रहेको युनाइटेड टेयारिन प्रा.लि.ले जनस्वास्थ्य मापदण्ड पालना नगरेको भन्दै स्थानीयले विरोध जनाएका छन् । जनस्वास्थ्यलाई ध्यान नदिई लापरवाही गर्दा स्थानीय नागरिकले हैरानी र प्रदुषण खप्नु परेको भन्दै उनीहरुले छाला प्रशोधन उद्योग बन्द गर्न चेतावनी पनि दिएका छन् । उनीहरुले मंगलबार उद्योगको गेटमा उभिएर विरोधसमेत जनाए ।

सुनसरी मोरङ औद्योगिक कोरिडोर अन्तर्गत दुहबी ६ मा सञ्चालित रहेको उद्योगबाट निस्किने रसायनयुक्त पानी प्रशोधन नगरी बस्तीमा छोड्दा बस्ती पूरै दुर्गन्धित भएको छ दुर्गन्धले स्थानीयमा श्वासप्रश्वास सम्बन्धी रोगको संक्रमण बढेको भन्दै उनीहरुले तत्कालल उद्योग बन्द गर्न चेतावनी दिएका छन् । उनीहरुले उद्योग बन्द नगरे चरणबद्ध आन्दोलन थाल्ने पनि बताएका छन् । त्यसका लागि छाला उद्योग पीडित संघर्ष समिति समेत गठन गरेका छन् ।

युनाइटेड टेनराइजसँगै रहेको एसियन लेदर उद्योगबाट निस्कने दुर्गन्धका कारण स्थानीय बिस्थापित हुनुपर्ने अवस्था उत्पन्न भएको भन्दै संघर्ष समितिले सुनसरीका प्रमुख जिल्ला अधिकारी मार्फत उद्योग मन्त्री, स्वास्थ्य मन्त्री र गृहमन्त्रालयमा ज्ञापनपत्र समेत बुझाएका छन् । समितिका उपाध्यक्ष मो. सलमान खानले दुर्गन्धले बस्तीमा बाहिरको पाहुनासमेत आउन नमान्ने र बालबालिका तथा वृद्धहरुमा छाला तथा अन्य गम्भीर रोगको संक्रमण बढिरहेको बताए । उनीहरुले सातदिन भित्र समस्या समाधान गर्न सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराएका छन् । त्यस अविधिभित्र समस्या समाधान नगरिए उद्योगमा तालाबन्दी गर्ने र अन्य आन्दोलनका कार्यक्रमहरु सञ्चालन गर्ने चेतावनी दिएका छन् ।

स्थानीय संजय शर्माले भैँसीराँगा तथा विभिन्न जनावरको छाला प्रशोधन गर्ने उक्त उद्योगले खुला ठाउँमा छाला सुकाउने गरेको, कुकुरले छाला बस्तीसम्म पु¥याउने गरेको जस्ता अनेकौं समस्याहरु पनि देखा परेको बताए ।छालाको प्रशोधन तथा भण्डारणमा वातावरणमैत्री परिवेश तयार नगरेका कारण स्थानीयले हैरानी खप्न परेको स्थानीयको भनाइ छ । त्यतिमात्र होइन उद्योगबाट निस्किने पानी प्रशोधन नगरी सिधै केशलिया खोलामा मिसाउँदा खोलासमेत प्रदुषित भइरहेकोमा पनि उनीहरुले विरोध जनाएका छन् ।

उद्योगबाट फैलिने दुर्गन्ध र फोहरले बालबच्चा र वृद्धवृद्धा बढि प्रभावित भएको स्थानीय कुन्दन पासवानले बताए । माथिल्लो निकायले कारवाही नगर्दा र उद्योगहरुलाई जवाफदेही नबनाउँदा समस्या भएको पासवानको भनाइ थियो । उनले प्रदूषण फैलाउने कारखाना बन्द गर्नुको विकल्प नभएको बताए । तर स्थानीयले पटक पटक विभिन्न निकायमा उजुरी दिँदा र आन्दोलन गर्न पनि उद्योगमाथि कुनै कारवाही नभएकोले स्थानीय थप पीडित हुनुपरिरहेको गुनासो गरे ।

स्थानीयले पटक पटक आग्रह गर्नुका साथै दुहबी नगरपालिकाको न्यायिक समितिमा उजुरी दिएपछि उपप्रमुख सहितको न्यायिक समितिले उद्योगको अनुगमन गरेको छ । अनुगमनको क्रममा दुर्गन्धित रूपमा सञ्चालनमा रहेको उद्योग मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएको होे । उद्योगको कागजपत्रसमेत चुस्त दुरुस्त नराखिएको तथा नवीकरण र कर समेत नतिरेको उनीहरुको आरोप छ ।

२०६२ सालमा दर्ता रहेको उद्योग बिच बिचमा बन्द हुँदै सञ्चालन भइरहेको छ । विगतमा पनि मापदण्ड विपरीत सञ्चालन गरेको भन्दै उद्योगलाई पटक पटक जरिवाना गरिसकिएको छ । तर उद्योगले राज्यका निकाय र कानुनलाई अटेर गर्दै आएको दुहबी ६ का वडाध्यक्ष घनश्याम हलुवाईले बताए । उनका अनुसार स्थानीयहरु वडामा उजुरी दिएपछि स्थानीय र उद्योग संचालक विराटनगर ६ का सदाव अकतर बिचमा सहमति गराएको जानकारी दिए । वि.स. २०७९ साउनमा १५ दिनत्रि उद्योगमा पानी प्रशोधन प्लान्ट स्थापना गर्ने, वृक्षारोपण गर्ने, टालाका टुक्रा बाहिर नफालने आदि सहमति भए पनि कार्यान्वयन नगरिएको स्थानीयले बताए । त्यस विषयमा उद्योगमा पटक पटक जानकारी गराई सहमति पालना गर्न आग्रह गर्दासमेत बेवास्ता हुने गरेको वडाध्यक्ष हलुवाईले बताए ।

बुधबार, ३० साउन, २०८१, बिहानको ०७:४८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर