विराटनगर । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो ध्यान अब सरकारतिर नभएको बताएका छन् ।
माओवादीको कोशी प्रदेश समितिको विराटनगरमा मङ्गलबार सम्पन्न सातौं पूर्ण बैठकलाई सोमबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफ्नो जीवन कालमा पार्टी बनाउने अन्तिम मौका आएकोले त्यसको सदुपयोग गर्ने बताए ।
‘मेरो लागि यो अन्तिम मौका छ । तपाईहरुको लागि त फेरि फेरि पनि मौका आउला,’ उनले भने, ‘मेरो उमेरका कारण पनि अब यो अन्तिम मौका हो, त्यसको सदुपयोग गर्न लाग्छु ।’
बिचौलिया र दलालको स्वार्थमा बनेको अहिलेको सरकार धेरै लामो समय टिक्ने नदेखिएको भन्दै प्रचण्डले तर सरकारमा जाने हिसाबले कुनै प्रयत्न नगर्ने बताए । ‘हामी सरकारमा जान कुनै हिसावले प्रयास गर्दैनौं । सरकार नै हामीलाई खोज्दै आउँला कि भन्ने डर छ’ उनले भने, ‘उनीहरू फतक्क झर्नेवाला छन् ।’
नेतृत्व हस्तान्तरणको तयारीमा रहेको संकेत गर्दै प्रचण्डले आफू ३५–३६ वर्षदेखि नेतृत्वमा रहेको भन्दै उनले अब अध्यक्ष रहिरहनुपर्छ भन्ने पक्षमा नभएको बताए । ‘म अझै अध्यक्ष हुनुपर्छ भन्ने छैन, किनकि मेरो पहिचान अध्यक्षभन्दा माथिको भइसकेको छ’ उनले भने, ‘तर, पार्टी अगाडि बढाउने टिम निर्माण नहुँदा अप्ठ्यारो भएको छ ।’ उनले आफूलाई सबै छाडेर इतिहास र स्मरण लेख्न मन भएको पनि बताए ।
प्रचण्डले भ्रष्टाचारको विरुद्धमा अभियान चलाउँदा देशमा उभार आएको बताउँदै नक्कली भुटानी शरणार्थी काण्ड, ललिता निवास र बाँसबारीको जग्गा काण्डमा प्रहार गर्दा दलालहरु आत्तिएर सरकार ढालेको दाबी गरे । सरकार ढल्नुमा दुई जना विचौलिया पक्राउ पर्नु र धितोपत्र बोर्डको अध्यक्ष चयन पनि कारण भएको उको भनाइ छ ।
‘अन्तिम समयमा दुईजना पक्राउ परेका थिए नि ?,’ बेचन झा र प्रतिक थापातिर लक्षित गर्दै प्रचण्डले भने, ‘त्यसपछि कनेक्सन बालकोट र बुढानिकण्ठतिर सोझियो । त्यसपछि त सरकार ढल्यो ।’ अर्को कारण बताउँदै उनले थपे, ‘धितोपत्र बोर्डमा अरबौंको चलखेल हुने रहेछ । त्यहाँ सेटिङ डरलाग्दो हुँदो रहेछ । शेरबहादुरसँग गठबन्धन हुँदा नामै तोकेर फलानो नियुक्ति गर्नु भन्थे । केपीसँगको गठबन्धनपछि उनले पनि उहि नाम भन्ने ।’ केपीले त फलानो नियुक्ति नगरे समीकरण नरहने भनेर खुल्ला चुनौति दिएको पनि प्रचण्डले बताए ।
विवादित र अनियमिततामा मुछिएको मान्छे नियुक्त नगर्न देशका प्रशासक र बुझेका मान्छेहरुले दिएको सुझाब आफूले कार्यान्वयन गरेको प्रचण्डले बताए । धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति रद्द भएपछि जुनजुन घरमा मिटिङ भयो र सरकार ढाल्ने कसरत भयो, त्यसले सबै संकेत गरेको उनको भनाइ छ ।
आफू प्रधानमन्त्री र जनार्दन शर्मा उर्जामन्त्री भएको बेला बनाएको योजना र निर्देशन अनुसार कुलमान घिसिङले देशमा लोडसेडिङको अन्त्य गरेकोमा अहिले उनैलाई हटाउने प्रयास भइरहेकोले सरकार किन बनेको हो भन्ने जनताले पनि जान्न पाएको प्रचण्डको भनाइ छ । ‘ कुलमानलाई जसरी पनि हटाउने गरि सरकार लागेको छ, दलालसँग बसेर माईन्यूट गरेको कुराले पनि प्रष्ट कुरा भयो’ सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई लक्षित गर्दै उनले भने, ‘त्यसको प्रतिवाद गरिन्छ ।’
भ्रष्टाचारविरुद्ध लागेका प्रहरी अधिकृतहरूलाई जथाभावी सरूवा गर्ने, विद्युत महशुल उठाउने प्रयास गरेका कुलमान हटाउने प्रयास विरुद्ध संसद र सडकमा पनि आवाज उठाउने प्रचण्डले बताएका छन् । काँग्रेस र एमालेले चाहे जसरी संविधान संशोधन नहुने र संवैधानिक परिषद पनि उनीहरुको अनुकुल नरहेको भन्दै प्रचण्डले यो समयावधि आफ्नो पार्टीको लागि प्लस पोइन्ट रहेको सुनाए ।
प्रचण्डले अब विप्लव, र किरणजीसँग पनि एकता गर्ने कुरा भएको भन्दै माओवादीहरु केन्द्रीकृत हुनुको विकल्प नभएकोमा जोड दिए । समाजवादी मोर्चालाई नै पार्टी एकता संयोजन समिति बनाउने कोशिस रहेको भन्दै उनले त्यसले वाम ध्रुबिकरणको अवस्था बन्ने बताए ।
माओवादीलाई सहयोग गर्नेहरू विस्मृतितिर र विरोधीहरू स्मृतिमा आउन थालेकोले पार्टी प्रदूषित भएको भन्दै उनले अव त्यो अवस्था फेरिन बताए । ‘हामी चिन्तित र पीडित हुने । तर, नेतृत्वमा रूपान्तरण नआउने स्थिति बन्यो’ उनले भने, ‘त्यसकारण आफूले नै विद्रोहको सुरूवात गर्नुपर्छ भन्ने निष्कर्ष म पुगेको हो, संसदमा प्रधानमन्त्रीको हैसियतमा मैले गरेको अस्तिको सम्बोधन विद्रोह हो ।’
कतिपयले केपी ओलीको व्यवहारबारे प्रचण्डले नबुझेको भनेर टिप्पणी गरेको भन्दै प्रचण्डले भने, ‘केपी यस्तो छ भन्ने थाहा पाउँदा पाउँदै अध्यक्षले किन यसो गरेको होला भन्ने लागेको होला ? त्यसो किन भन्दा हाम्रो पार्टीको दिमागमा लेफ्टहरूलाई एक ठाउँमा पार्ने र समाजवादी क्रान्ति गर्ने भन्ने परेको छ । एक वर्ष अगाडिदेखि केपीको मात्रै होईन उनका वरिपरिका मान्छेहरुले पनि त्यही भने । त्यसलाई विश्वास गरियो र एमालेसँग सहकार्य गरिएको हो ।’ तर, उक्त भावनामाथि धोका दिएर काँग्रेसँग मिलेसँगै संसारभरका कम्युनिष्ट र समाजवादीहरुसामू एमाले अध्यक्ष ओली नाङ्गिँदा आफ्नो पार्टीलाई नै फाइदा पुगेको प्रचण्डको विश्लेषण छ ।
आफूले केपीलाई बुझेरै पार्टी सदस्यबाट कुनैबेला निष्काशन गरेको दृष्टान्त पनि उनले दिए । ‘केपीलाई मैले नबुझेको होईन । मैले केपी प्रवृत्तीलाई बुझेर नै १९ पृष्ठको दस्ताबेज लेखेको हो नि । पार्टीको पुरै कमाण्ड सम्हालेर उनलाई पार्टी बाटै कारबाही गरिएको हो नि । हाम्रो क्षमता कम थियो र ? दलमा पनि बहुमत त हामीले बनाएकै हो नि… त्यो आँट त गरेकै हो । तर, निर्वाचन आयोग र अदालत हाम्रो पक्षमा नभएको कारण त्यो कुरा स्थापित गर्न नसकेको मात्रै हो,’ प्रचण्डले भने ।
प्रचण्डले कोशी प्रदेशको नामकरणमा देखिएको समस्या समाधानका लागि आगामी भदौ पहिलो साता बस्ने स्थायी समितिको बैठकले ठोस निर्णय गर्ने बताए । आफ्नो पार्टीले पहिचानको मुद्दा नछोडेको उनको भनाइ थियो ।