राजस्वमा कमी आउनुको संकेत : संगठित तस्करी मौलायो

सुरक्षा नेतृत्व परिवर्तनसँगै राजश्वमा घटबढ

विराटनगर । पछिल्लो समयमा सुरक्षा निकायकै संलग्नतामा तस्करी बढेको विषयले बजार गर्माएको छ । गृह मन्त्रालय मातहत रहेका मोरङका सुरक्षा नेतृत्वबीच नै तस्करीमा एकअर्काको संलग्नता रहेको आरोपसहितको उजुरी उपल्लो निकायमा दिने प्रतिष्पर्धा चल्यो ।

सुरक्षा निकायमा भएको बेमेल र तस्करीमा संरक्षणबारे हाम्रोमत दैनिकले समाचार प्रकाशन गरेपछि मोरङको सुरक्षा समितिको बैठक नै बस्यो । बैठकमा समाचारको विषयमा छलफल भई तस्करी नियन्त्रणमा सबै निकायले सहकार्य गरेर काम गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताएका छन् ।

सुरक्षा निकायका प्रमुखहरु तस्करी पूर्ण रुपमा नियन्त्रणमा रहेको दावी गर्छन् । मोरङका प्रहरी प्रमुख नवराज कार्कीको दावी त्यस्तै छ । तर, सुरक्षा स्रोतले उनको दावी अस्वीकार मात्र गर्दैन्, तस्करीमै संलग्नता रहेको दावी गर्छ । सीमा क्षेत्रमा बसोबार गर्ने नागरिकहरु पनि तस्करी बढेको बताउँछन् ।

कोशी प्रदेशका तराईका तीन जिल्लामा नै तस्करी फस्टाएको र त्यसमा प्रहरी प्रशासन रमिते रहेको देखिन्छ । यो आरोप नभएर तथ्याङ्कले पनि विगत केही महिनादेखि तस्करी मौलाउन थालेको देखाएको छ ।

विगत केही वर्षदेखि विराटनगर भन्सार कार्यालयको मात्रै होइन मेची भन्सार, भद्रपुर भन्सार, सुनसरी भन्सार कार्यालयको राजस्व असुली घटिरहेको छ । भन्सार रावश्व मात्र हैन, नेपाल चोरी पैठारीका सामान नियन्त्रणमा लिएर असुली गर्ने राजस्व पनि घटेको छ ।सशस्त्र प्रहरीको गत वैशाख महिनासम्म बरामदी सामानको मूल्य अत्याधिक देखिएपनि जेठ र असारदेखि आधाले घटेको छ । त्यही तथ्याङ्कलाई हेर्दा पनि पछिल्लो समयमा तस्करी बढेको दावीलाई बल मिल्छ । किनकि सुरक्षा नेतृत्वले दावी गरेजस्तो तस्करी नियन्त्रण भएर प्रहरीले बरामद गर्ने सामान भएको भए भन्सारको राजश्व बढ्नुपर्ने थियो ।

सशस्त्र प्रहरीलाई अवैध सामानहरु बरामद गर्ने जिम्मेवारी र अधिकार रहेको छ । सीमा क्षेत्रमा हुने चोरी, तस्करी र अवैध गतिविधिहरु नियन्त्रण गर्ने उसको पनि जिम्मेवारी हो । तर, सशस्त्र प्रहरीको जिल्लास्थित नेतृत्व फेरिनेवित्तिकै अवैध सामान बरामदको अवस्था धेरै घटबढ हुने गरेको छ ।

डिआईजी परिवर्तनपछि घट्यो राजश्व

सशस्त्र प्रहरी बल, नेपाल बराह बाहिनी पकलीमाख अन्जनी पोखरेल डिआईजी भएर काम गरेको १४ महिना १२ दिनमा बरामदी सामानको राजश्व असुली उच्च देखिन्छ । पोखरेल नेतृत्वमा भएको गत आर्गिक वर्षको चैत, वैशाख, जेठ र असारमा मात्रै २२ करोड १३ लाख ७६ हजार ७४९ रुपैयाँ बराबरको सामान सशस्त्रले बरामद गरेको थियो । अघिल्लो आर्थिक वर्ष २०८०–८१ को वैशाखमा पोखरेल सरुवा नहुँदासम्मको अबधिमा ४७ करोड २० लाख ८२ हजार ५२३ रुपैयाको सामान बरामद भएको थियो ।

पोखरेलको सरुवा भएर सशस्त्र प्रहरीको नेतृत्वमा शम्भु सुवेदी आएपछि बरामदी सामानको मात्रा ह्वात्तै घटेको देखिन्छ । सुवेदी आएपछिको दुई महिना (जेठ र असार)मा जम्मा ६ करोड ८६ लाख ६४ हजार ३०६ रुपैयाँ बराबरको मात्रै सामान बरामद भएको छ । अघिल्लो वर्ष जेठ र असार १२ करोड ३१ लाख ३२ हजार ७४६ रुपैयाँ बराबरको सामान बरामद भएको थियो ।

अघिल्लो वर्षको तुलनामा नेतृत्व परिवर्तन भएपछि बरामदी राजस्व घट्नुको कारणबारे गम्भीर प्रश्न उठेको छ । सशस्त्र प्रहरीले आ.व.२०७७–७८ मा १२ करोड ६५ लाख बराबरको सामान बरामद गरेकोमा २०७८–७९ मा १६ करोड १७ लाख ९७ हजारको बरामद गरेको थियो । २०७९–८० मा भने ३६ करोड २४ लाख ५६ हजार ९३८ तथा गत आर्थिक वर्षमा ५४ करोड ७ लाख ४६ हजार ८२९ रुपैयाँ बराबरको बरामद भएको थियो ।
सशस्त्र प्रहरीका अधिकारीहरुका अनुसार डिआइजी पोखरेलले तस्करीमा गरेको कडाईले बरामदी सामानको राजश्व उच्च भएको थियो । ‘पोखरेलको सरुवा हुनसाथ सशस्त्रले कडाइ नगरेकोले बरामदी राजश्वमा कमी आएको हो’ सशस्त्र प्रहरीका एक जुनियर अधिकृतले भने, ‘तस्करीमा कडाइ हुँदा बरामदी सामानको राजश्व बढ्छ, नयाँ डिआईजी आएको अबधिमा उनले सबै कुरा नबुझिसकेको अवस्थामा तस्करी बढेको छ ।’

नेपाल प्रहरीको राजश्व आधाभन्दा कम

सशस्त्र प्रहरी मात्र हैन, नेपाल प्रहरीको पनि भन्सार चोरी तस्करी नियन्त्रणबाट असुल हुने राजश्व घटेको पाइएको छ । कोशी प्रदेश प्रहरी कार्यालयले आर्थिक वर्ष २०७८–७९ मा ११ करोड ७४ लाख ४६ हजार ९२९ रुपैयाँ राजस्व संकलन गरेकोमा २०७९–०८० मा २६ करोड ९८ लाख ३८ हजार ९८० रुपैयाँ संकलन गरेको थियो । तर, गत आर्थिक वर्षमा १२ करोड ३८ लाख ११ हजार २१६ रुपैयाँ मात्र संकलन गरेको छ ।
एक वर्षमा २६ करोड ९८ लाख राजस्व संकलन गर्दाको आर्थिक वर्षमा २०७९ असार २३ गतेदेखि २०७९ माघ १ गतेसम्म सुदिप गिरी, त्यसपछिको दुई महिना श्यामलाल ज्ञवाली र त्यसपछिको ३ महिना राजेशनाथ बाँस्तोला कोशी प्रदेश प्रहरी प्रमुख थिए । गत आर्थिक वर्षको माघदेखि चन्द्रकुबेर खापुङ कोशी प्रदेश प्रहरी प्रमुख छन् ।

भन्सारको राजस्व निरन्तर घट्दो

सुरक्षा निकायले तस्करी नियन्त्रणमा रहेकोले बरामदी राजश्वमा कमी आएको दावी गर्दै आएको छ । तस्करी कमी भएको अवस्थामा भन्सारबाटै सामानको आयात हुन्छ । त्यो अवस्थामा भन्सारको राजश्व बढ्छ । तर, अवस्था त्यस्तो छैन ।

विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०७७–२०७८ मा ४० अर्ब ८१ करोड ९० लाख १३ हजार राजस्व संकलन गरेको थियो । तर, आर्थिक वर्ष २०७८–०७९ मा भने ४० अर्ब ४२ करोड ७७ लाख ७९ हजार मात्र असुली भयो । आर्थिक वर्ष २०७९–०८० मा अझ झरेर ३३ अर्ब १३ करोड ६६ लाख ६० हजार असुली गरेको भन्सारले गत आर्थिक वर्षमा त ३० अर्ब ३५ करोड मात्र संकलन गरेको छ ।

झापास्थित मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०७९–८० मा १४ अर्ब ४ करोड ५ लाख ९२ हजार राजस्व संकलन गरेकोमा गत आर्थिक वर्ष २०८०–८१ मा १४ अर्ब २३ करोड ५२ लाख ६० हजार रुपैयाँ संकलन गरेको छ । जुन अघिल्लो वर्षको रकमभन्दा धेरै भएपनि सोही वर्षको लक्ष्यको ७८.४० प्रतिशत मात्र हो ।

उता सुनसरी भन्सार कार्यालयबाट गत आर्थिक वर्ष २०८०–८१ मा १ अर्ब १७ करोड ४३ लाख ७३ हजार राजस्व संकलनको लक्ष्य राखेकोमा ४१ करोड ५ लाख १७ हजार मात्रै संकलन गरेको छ ।

भन्सार छलेर के–के हुन्छ तस्करी ?

तीन जिल्लाबाट गाई गोरु, मटर, चाइनिज स्याउ, सुपारीलगायत सामान भारततर्फ तस्करी हुने गरेको छ । भारतबाट भने धान, गहुँ लगायतका खाद्यान्नका परिकार, किराना सामान, लत्ताकपडा, गाडीका पार्टपूर्जा, हार्डवेयरका सामानलागयत भन्सार छली गरेर नेपाल भित्रिने गरेको छ ।
मोरङमा भारतसँग सीमा जोडिएको ५२ किलोमिटर छ । ५२ किलोमिटरमा तीन दर्जन बढी सीमा नाका छन् । तस्करीको लाइन सबैभन्दा बढी विराटनगरको दक्षिण क्षेत्र मटिअर्वा, दक्षिण गेट, दरैया नाका पर्दछ । यसैगरी पूर्वमा रंगेली नगरपालिकाको धनापट्टी, रतुवामाई नगरपालिको सिक्टी, आमतोला, धनपालथान गाउँपालिका दक्षिण क्षेत्रको मायागञ्ज र खैरबना नाकादेखि खाद्यवस्तु तस्करी हुने गरेको छ ।

रतुवामाई नगरपालिकाको सिक्टी र धनपालथान गाउँपालिकाको मायागञ्ज, खैरवनादेखि लाखौं रुपैयाँको सामान खुलेआम तस्करी हुने गरेको छ । बिहान २ देखि ३ बजे र रातिको ११ देखि १२ बजेको समयमा तस्करीमा लागेका क्यारिङ गर्नेले भरियालाई निश्चित रकम दिए एउटा मोटसाइकल र आटोमा सामान ओसार्ने गरिएको सुरक्षा स्रोतकै दाबी छ ।

मोरङको उत्तरी क्षेत्र उर्लाबारी, मधुमल्ला, पथरीदेखि झापाका दमकसम्मका होलसेल पसलमा कपडा र खाद्यवस्तु निश्चित रकम लिएर क्यारिङ गर्नेले पु¥याइदिने गरेका छन् । विराटनगर बजारका खाद्यान्न पसलमा तस्करी भएर आएको सामान खुलेआम बिक्री भएको देख्न सकिन्छ ।
यस्तै झापाबाट गुड्काको कच्चा सामान, कपडा, सिटिसी चिया, युरिया मल पनि तस्करी हुने गरेको छ । भारततर्फ नेपालबाट गाइ गोरुको मनग्ये चोरी हुने गरेको प्रहरी अधिकारीहरु नै बताउँछन् ।

झापाको सचिघट्टा, राइसिङ पुल, बाउनडाँगी एरिया, मेची डाँडा, साधु गौडाको तिरिङ एरिया, बाउनडाँगीकै चौकी एरियाबाट तस्करी हुने गरेको छ । यस्तै सुनसरीको भाण्टाबारी, देवानगञ्ज, कप्तानगञ्जको सिमा क्षेत्रबाट चोरी पैठारी हुने गरेको छ ।

शुक्रबार, ११ साउन, २०८१, बिहानको ०८:२४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर