विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले फागु पूर्णिमा अर्थात् होली पर्वले नेपालीहरूबीच एकता र सद्भाव अभिवृद्धि गरी विकास र समृद्धिका लागि अघि बढ्न प्रेरणा दिने बताएका छन्।
होली पर्वको अवसरमा शुभकामना सन्देश दिँदै मुख्यमन्त्री कार्कीले नेपालीहरूको मौलिक र परम्परागत पर्वले एकआपसमा सद्भाव र भाइचारा वृद्धि गर्ने उल्लेख गर्नुभयो। उहाँले यस्ता पर्वहरुले हाम्रो धर्म, संस्कृति र पहिचानलाई स्थापित गरेको बताए ।
असत्यमाथि सत्यको विजय उत्सवको रूपमा मनाइने यो पर्वले सबै नेपालीलाई सत्यमा हिँड्नका लागि प्रेरित गर्ने मुख्यमन्त्री कार्कीले उल्लेख गरेका छन् । मौलिक परम्पराहरूको संरक्षण गर्दै आपसी सद्भाव र एकताका साथ पर्व मनाउने प्रचलनले हाम्रो राष्ट्रिय आकांक्षा ‘समृद्ध नेपाल, सुखी नेपाली’ लाई साकार पार्न पनि अभिप्रेरित गर्ने विश्वास उनले व्यक्त गरे ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक र बहुपहिचान भएको मुलुक भएकाले नै हामीबीचको एकता र सद्भाव वृद्धि भएको मुख्यमन्त्री कार्कीले उल्लेख गर्दै यसका माध्यमबाट विकास र समृद्धिमा अघि बढ्नका लागि प्रेरित गरिरहेको बताउनुभयो।
होली पर्व पहाड र तराई क्षेत्रमा आज र भोलि मनाइँदैछ।