मधेसमा किन होली अर्को दिन मनाइन्छ ?

  डा. बालकृष्ण साह

होली केवल रङको पर्व मात्र नभई सत्यको विजय, प्रेम, खुसी, नयाँ जीवन, र सामाजिक सद्भावको प्रतीक हो । यसले हामीलाई बिगतका कटुता बिर्सेर खुसी, मित्रता, र एकता फैलाउने सन्देश दिन्छ । सायद त्यसैले नेपालमा बिशेष उल्लासका साथ होली पर्व मनाउने गरिन्छ ।

होलीको कुरा गर्दा भक्त प्रल्हाद, उनका पित्ता हिरण्यकश्यपु, र होलिकासँग जोडिएको पाइन्छ । पिता हिरण्यकश्यपुलाई सर्वशक्तिमान, श्रेष्ठ नमानेर भगवान मान्ने प्रल्हादलाई जलाएर मार्ने षड्यन्त्र असफल भएको र आगोमा नजल्ने वरदान पाएकि ‘होलिका’ अरुको अहित गर्ने उद्देश्य लिएका कारण भस्म भएकोले नै होली मनाउदै आएको जनविश्वास छ ।

होलीको अर्को पक्ष पनि छ । होलीलाई ‘फागु पूर्णिमा’ पनि भनिन्छ । भगवान कृष्णले राधा र गोपिनीहरूसँग रङ खेल्दै रमाइलो गरेको कथा पनि यो पर्वसँग जोडिएको छ । कृष्णले आफ्नो श्याम वर्ण (रङ) लाई लिएर चिन्ता व्यक्त गर्दा माता यशोदाले राधालाई रङ लगाउन भनेकी थिइन् । राधाले कृष्णलाई रङ लगाएपछि उनीहरूको प्रेम झनै गहिरियो । यसै परम्परालाई जीवन्त राख्न होलीमा रङ खेल्ने चलन छ । र यो विशेषतः प्रेमीहरुको बिचमा अझ लोकप्रिय रहेको छ ।

धर्म एउटै, चलन एउटै, कथा एउटै भए पनि पहाडी र तराई क्षेत्रमा होली मनाउने दिन फरक किन ? धेरैलाई जिज्ञाशा हुने गर्छन् । पहाडी क्षेत्रमा फागुन शुक्ल पूर्णिमाको दिन होली मनाइन्छ तर तराईमा त्यसको भोलिपल्ट रङ खेलेर होली मनाउने चलन छ ।
नेपालको पहाडी र तराई क्षेत्रका परम्परागत चलनहरु फरक फरक रहेका छन् । पहाडतिर पनि फागुन महिनाको पूर्णिमा तिथिमा नै होलिका दहन गरिन्छ । र तराईमा पनि सोहि राति होलिका दहन गरिन्छ । यसमा भिन्नता छैन । पहाडमा होलिका दहन गरेकै दिन होली मनाइन्छ । तर तराईमा त्यसको भोलिपल्ट मनाइन्छ । आखिर किन ? मैथिली एसोसिएसन नेपालका अध्यक्ष प्रविणनारायण चौधरीका अनुसार “होली पूर्णिमाका दिन घरका देवीलाई पूजा आरधना गर्ने, राति होलिका दहन गर्ने भएकाले भोलिपल्ट प्रातः (बिहान) देवीको प्रसाद ग्रहण गर्ने र रङ-अबिर खेलेर होली मनाउने प्रचलन भएकाले १ दिन ढिला भएको हो ।” हुनत होली भनेको खानपिनसँग पनि सम्बन्धित छ ।

मधेसमा नवरात्री, लक्ष्मीपूजालगायतका शुभ उत्सव तथा पूजाहरुमा माछा–मासु नखाने, व्रत बस्ने प्रचलन छ । फागु पूर्णिमाको दिन शुभ दिन रहेको, यस दिन होलिका दहन गरिने, भगवान नरसिंहको जन्म भएर हिरण्यकश्यपुको बध गरेकाले सो दिन राक्षसी भोजन (माछा–मासु) सेवन नगरिने भएकाले पनि भोलिल्ट मान्ने प्रचलन भएको हुनसक्ने चौधरीको तर्क छ ।

होली वसन्त ऋतुको आगमनको संकेत पनि हो । यो समय जाडो सकिएर गर्मी सुरु हुने समय हो, जहाँ वातावरणमा खुसी, उमंग, र नयाँ ऊर्जा ल्याउने विश्वास गरिन्छ । यसबेला आँप, लिची फुल्न थाल्ने, किसानहरुले बाली भित्र्याउने आदि समय हुन्छ । प्रकृतिलाई धन्यवाद दिन पनि होली मनाउने गरिन्छ भन्ने तर्कहरु पनि समाजमा विद्यमान छ ।

त्यस्तै होली सामाजिक तथा सांस्कृतिक रूपमा पनि महत्वपूर्ण छ । यो पर्वमा सबै वर्ग, जात, धर्म, उमेरका मानिसहरू एकै ठाउँमा भेला भएर रङ खेल्छन्, मिठाइ बाँड्छन्, र रिसराग बिर्सेर नयाँ सम्बन्ध सुरुवात गर्छन् । पुरानो मनमुटाव मेटाउने, मित्रता बलियो बनाउने, र समाजमा भाइचारा फैलाउने पर्वको रूपमा पनि होली मनाइन्छ ।

होली जहिले मनाए पनि अरुको अहितको कामना गरे भस्म हुनुपर्ने शिक्षा लिएर सदैव मानव हित, एकता र आपसि सद्भाव कायम गर्ने उद्देशका साथ मनाईयोस् । सकारात्मक उर्जा र प्रेम बढोस् र यसका लागि मनाइयोस् ।

बिहिबार, २९ फागुन, २०८१

प्रतिक्रिया:

सम्बन्धित खवर