होलीको दिन कस्तो मौसम ?

विरागनर । रंगहरुको पर्व होलीको दिन राम्रोसँग घाम नलाग्ने जल तथा मौसम विज्ञान विभागका मौसमविद्ले बताएका छन् ।
यस वर्षको होली पहाडी जिल्लाहरुमा फागुन २९ गते बिहीबार र तराईका जिल्लामा चैत १ गते शुक्रबार मनाइँदै छ ।मौसमविद प्रतिभा मानन्धरले होलीसम्म घाम राम्रोसँग नलाग्ने बताएकी छन् । ‘आगामी तीन दिनसम्मै घाम खुलेर लाग्दैन’ उनले भनिन्, ‘घाम–बादल, घाम–बादल मात्रै हुने सम्भावना छ ।’

अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ । साथै बंगालको खाडीबाट पनि हल्का खालको जलवाष्पयुक्त वायु नेपाल भित्रिएको विभागले जनाएको छ । त्यसैको प्रभावले देशभर नै बादल लागेको हो । तर, यो प्रणाली एकदम कमजोर भएकाले तत्काल ठूलो पानी पर्ने सम्भावना छैन ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा अघिल्ला दिनहरुमा जस्तै आगामी तीन दिनसम्म बादल लाग्नेछ । तर, ठूलो पानी पर्ने सम्भावना छैन । ‘अहिलेको मौसमी प्रणाली कमजोर भएकाले टलक्क घाम लाग्ने अवस्था छैन । पानी परिहालेछ भने पनि अलि–अलि छिट्याउने जस्तो मात्र देखिन्छ, ठूलो पानी पर्दैन,’ विभागले भनेको छ ।

अहिलेसम्मको अवस्था हेर्दा अर्को हप्ताबाट भने मौसममा सुधार हुने र घाम लाग्ने सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् ।

बिहिबार, २९ फागुन, २०८१, बिहानको ०८:०६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर