विराटनगर । गत असार २५ गते कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की विभिन्न कार्यालयहरूको उद्घाटन गर्न पूर्वी पहाडी जिल्ला तेह्रथुम गएका थिए । नेपाल पत्रकार महासंघ तेह्रथुम शाखा, भेटनरी अस्पताल तथा पशु विज्ञ केन्द्रको उद्घाटन गर्न गएका बेलामा उनले कार्यालय प्रमुखहरूसँग जिल्लाको अवस्थाका बारेमा ब्रिफिङ लिए । जिल्ला प्रशासन कार्यालयले कार्यालय प्रमुखसँगको बैठक बोलायो । सबै कार्यालय प्रमुखहरूले आ–आफ्नो कार्यालय र काम बारे जानकारी दिएका थिए ।
बैठकको अन्तिमतिर प्रमुख जिल्ला अधिकारी मिना अर्यालले जिल्लाको अवस्था बारे मुख्यमन्त्रीलाई जानकारी गराइन् । उनले बैठकमा बसाइँ सराइका कारण गाउँहरू सनुसान बन्दै गएकोमा चिन्ता व्यक्त गरिन् । बैठकमा उनले भनेकी थिइन् ‘गाउँतिर सडकहरू चिल्ला बने तर मान्छे छैनन् । बाटो बिर्सियो भने सोध्ने मान्छे पनि भेट्न मुस्किल छ । यहाँ बसाइँ सराइ प्रमुख समस्या भयो ।’
सबैको कुरा सुनेपछि मुख्यमन्त्री कार्कीले तेह्रथुमलाई पर्यटन र कृषिको माध्यमबाट रोजगारीको अवसर सिर्जना गरेर बसाइँ सराइ रोक्न सक्ने बताए । मुख्यमन्त्री कार्कीका प्रेस सल्लाकार विक्रम लुइँटेलका अनुसार मध्यपहाडी लोकमार्गले छोएको क्षेत्रमा प्राविधिक विद्यालयहरू सञ्चालन गरेर बसाइँ सराइ रोक्ने बारेमा मुख्यमन्त्रीले बताएका थिए ।
प्रजिअ अर्यालले स्थानीय तहरुलाई बाटोमा नम्बरिङ गरेर प्रष्टरुपमा लोकेसनसहितको साइन बोर्ड राख्न भनिसकेको पनि बताइन् । ‘मैले सुरक्षा समितिको बैठकमा पालिकाका प्रमुखहरूलाई नै राखेर बाटोमा नम्बरिङ र लोकेसन लेख्न आग्रह गरेको छु’, प्रजिअ अर्यालले भनिन् ‘तर, जनप्रतिनिधिहरूले यो काम गर्नु भएको छैन । मैले फलोअप गरिरहेको छु ।’ सडक बने पनि उपभोग गर्ने उपभोक्ता भने गाउँमा नभएको उनले सुनाइन् ।
वि.स.२०७८ को जनगणना अनुसार तेह्रथुम जिल्लाको कुल जनसंख्या ८८ हजार ७३१ जना रहेको छ । जसमध्ये महिला ४५ हजार १५० जना र पुरुष ४३ हजार ५८१ जना रहेका छन् । कोशी प्रदेशमा सबैभन्दा कम जनसंख्या तेह्रथुममै छ । वि.स. २०६८ को जनगणनामा २०७८ भन्दा बढी थियो । त्यसबेला १ लाख १ हजार ५७७ जना रहेको थियो । खानेपानी तथा सिँचाइको चरम अभाव भएर तराइका जिल्लामा बसाइँ सर्ने क्रम बढेको यहाँका अगुवाहरू बताउँछन् । २०६८को जनसंख्या भन्दा २०७८ को जनसंख्यामा १.३०५ प्रतिशतले कमी आएको देखिन्छ । गाउँ घर सुनसान हुँदा धेरै खेतबारीहरू पनि बाँझै रहेको उनले सुनाइन् ।
गाउँमा बुढापाका मात्रै
प्रजिअ अर्यालले भने जस्तै तेह्रथुम म्याङ्लुङ ९ सम्फरजुङका बमबहादुर श्रेष्ठले युवा विदेशिँदा गाउँका खेतबारी बाँझिएको दुखेसो पोखे । ‘मेरो घरभन्दा मुनि नै ३० मुरी बिउ लाग्ने खेत बाँझिएको छ,’ उनले भने ‘तपाइँहरू आएर हेर्नुभयो भने गाउँ कहालीलाग्दो देखिहाल्नु हुन्छ ।’बाँझिएका खेतबाट ६०० मुरी धान भित्रिने गरेको उनले सुनाए । आफ्नै दाइ करबीर श्रेष्ठको ३० मुरी अट्टे धान फल्ने खेत बाँझिएको उनले बताए । ‘भाउजू बिरामी भएपछि दाजु भाउजू नै इटहरी बस्नुहुन्छ । छोराहरू विदेशतिर छन् । घरमा ताला लगाइएको छ । खेत गौचरन बनेको छ । काम गर्ने मान्छे पाइँदैन । बुढापाका मात्रै गाउँमा छौं । युवा विदेशमा छन्’ उनले भने ।
तेह्रथुमकै फेदाव गाउँपालिकाको ओयाक्जुङ हात्तीसारका नीरज ढकालले पनि श्रेष्ठको जस्तै चित्र पेश गरे । गाउँमा बुढापाका मात्रै बाँकी रहेको उनले बताए । उनी सखुवासभामा शिक्षण पेशा गर्छन् । ‘अहिले बर्खे बिदा भएर म घरमा आएको छु,’ उनले भने ‘दुई वर्ष अगाडिसम्म अधियाँमा खेती गर्ने भेटिन्थे तर अहिले अधियाँ गर्ने पनि भेटिदैनन् । धेरैले खेतबारी बाँझै छाडेर तराइमा बस्न थालेका छन् ।’ शिक्षक ढकालकाअनुसार आफ्नो खेतीयोग्य जमिनलाई बाँझै छाडेर धेरै जना तराइमा गएर अर्काको खेतीमा काम गर्ने गरेका छन् ।
पहाडका गाउँमा स्वास्थ्य र शिक्षामा सुधार हुँदा बसाइँसराइ रोकिने उनले बताए । छोराहरू विदेशतिर पलायन हुँदा बुहारीहरू शिक्षाको गुणस्तर खोज्दै सदरमुकाम तथा तराइका जिल्लामा बस्ने गरेको स्थानीयको गुनासो छ । अहिले गाउँमा केटाकेटी पाउनै समस्या हुने गरेको स्थानीय अगुवाहरू बताउँछन् ।
कृषि निर्देशनालयको तथ्यांक भने ४० वर्षदेखि एउटै
पहाडमा दिन प्रतिदिन खेती बाँझो भइरहँदा कोशी प्रदेश कृषि निर्देशनालय भने ४० वर्षदेखि एउटै खेतीको तथ्यांक देखाइरहेको छ । कृषि निर्देशनालयले उपलब्ध गराएको तथ्यांक अनुसार कोशी प्रदेशका १४ जिल्लामा २५ लाख ९० हजार ६ सय हेक्टर क्षेत्रफल जमिन रहेको छ । जसमध्ये ८ लाख १२ हजार ८३३ हेक्टर खेतीयोग्य जमिन हो । ७ लाख ५ हजार ३५६ हेक्टर क्षेत्रफलमा खेती गर्ने गरिएको छ ।
कृषि विकास निर्देशनालयका अधिकृत काजिमान प्रधानका अनुसार यो तथ्यांक २०४० सालतिरको हो । ‘हामीले दिइरहेको तथ्यांक ४० साल तिरको हो,’ उनले भने ‘अहिलेसम्म नयाँ तथ्यांक आएको छैन ।’ कृषि निर्देशनालयका अनुसार ताप्लेजुङमा २२ हजार ५१०, पाँचथरमा ५१ हजार ८६१, इलाममा ६३ हजार २९७, झापामा ९० हजार, संखुुवासभामा ३० हजार ६००, तेह्रथुममा ३० हजार ४२८, धनकुटामा ३९ हजार ८९५, भोजपुरमा ५६ हजार ९३६, सुनसरीमा ७४ हजार ३५३, मोरङमा १ लाख ७ हजार ५९९, सोलुखुम्बुमा ४० हजार ६३१, खोटाङ ५१ हजार १६५.६६, ओखलढुंगामा २३ हजार ८७० र उदयपुरमा २२ हजार २१०.४ हेक्टर क्षेत्रफलमा खेती हुने गरेको छ । ‘हामीसँग स्थानीय तहसम्म जोडिने मोडालिटी नै छैन,’ अधिकृत प्रधानले भने ‘स्थानीय तहरुले कति क्षेत्रफल खेती घट्यो भन्ने तथ्यांक हामीलाई दिँदैनन् अनि पहिला जे तथ्यांक निकालिएको थियो त्यही कृषि ज्ञान केन्द्रहरूले पठाइदिने गरेका छन् ।’ स्थानीय तहहरुले घर जग्गा बाटो सिफारिसदेखि जग्गाको वर्गीकरणसमेत गरेकाले उनिहरुले मात्रै सहि तथ्याक निकाल्न सक्ने प्रधानले बताए ।