कोशी सरकारबारेको रिट ढुंगाना, मुसलमान र पोखरेलको इजलाशमा

विराटनगर । कोशी प्रदेश सरकार गठनविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट आजबाट सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुँदैछ ।

सर्वोच्च अदालतका न्यायाधीशहरु प्रकाशकुमार ढुंगाना, अव्दुल अजीज मुसलमान र सुनिल कुमार पोखरेलको इजलासमा रिटको सुनुवाइ हुने भएको हो ।

तीन जनाको पूर्ण इजलासमा आज कोशी सरकारबारेको एक मात्र मुद्दा रहेको छ । यसअघि गत बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले गएको रिटलाई पूर्ण इजलासमा पठाउने आदेश गरेको थियो ।

एउटा मुख्यमन्त्रीलाई पदमुक्त नगरी संविधान विपरित अर्को मुख्यमन्त्री नियुक्त गरेको भन्दै कार्कीले गत वैशाख २७ गते दायर गरेको रिटमा अन्तरिम आदेश माग गरिएको भएपनि अदालतले अन्तरिम आदेश भने दिएको छैन । संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीले समर्थन गर्ने सांसदहरुले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत नलिएको भन्दै नयाँ सरकार गठन भएको थियो । प्रदेशसभाका ५२ सांसदको समर्थनमा मुख्यमन्त्री भएका नेकपा एमालेका प्रदेशसभा सदस्यह हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मतसमेत लिइसकेका छन् ।

निवर्तमान मुख्यमन्त्री केदार कार्कीले भने एक पटक विश्वासको मत लिएपछि २ वर्षसम्म आफूले विश्वासको मत लिन नपर्ने भन्दै नयाँ सरकार गठनको प्रक्रिया खारेज गरेर आफूलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिन माग गरेका छन् ।

आइतबार, २७ जेठ, २०८१, बिहानको १०:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर