विराटनगर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापाको पार्टी अधिवेशन सहमतिको नाममा अबरुद्ध भएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले सहमतिमै नेतृत्व चयन गर्न निर्देशन दिएपछि नेतृत्व चयन प्रक्रिया अगाडि बढ्न नसक्दा अधिवेशन नै रोकिएको हो । न ओलीको निर्देशन अनुसार सहमति हुन सकेको छ, न त चुनाबको प्रक्रिया नै अगाडि बढेको छ ।
झापाको पार्टी अध्यक्षको लागि कार्यबहाक अध्यक्ष रहेका प्रेम गिरी र सचिव शिव ढुंगेल आकांक्षी थिए । तर, अध्यक्ष ओलीसहितका नेताहरुले गिरीलाई अध्यक्ष बनाउने निर्देशन दिएका थिए । सचिव ढुंगेललाई नयाँ कार्यसमितिमा नसमेटी गिरीको नेतृत्वमा नयाँ कार्यसमितिको नामलिष्ट नै अध्यक्ष ओलीले दिएपछि विवाद भएको थियो ।
निर्वाचन प्रक्रिया अगाडि बढ्न नदिने र सहमतिको नाममा कार्यसमितिबाट नै अलग गराउने भएपछि सचिव ढुंगेल गिरीलाई अध्यक्ष स्वीकार गर्दै उपाध्यक्ष बस्न राजी भएका छन् । ढुंगेलले अध्यक्षमा दावी छाडेपछि शनिबार मनोनयन गरिएको थियो । अध्यक्षामा गिरी र उपाध्यक्षमा ढुंगेलको एकल उम्मेदवारी परेपनि अन्य पदमा सहमति नहुँदा धेरैको उम्मेदवार छ । उम्मेदवारी दर्ता भएपनि सहमतिको नाममा निर्वाचन सुरु गरिएको छैन ।
उम्मेदवारी दर्तापछि पनि सहमति खोज्न भनेर गत शुक्रबारदेखि बन्द सत्र रोकिएको छ । बन्दसत्रले तय गरेको कार्यसूचीअनुसार अधिवेशन अघि बढेको भए आइतबार मतदान हुनेथियो । तर, आइतबारसम्म पनि यो विषय टुंगो लागेको छैन ।
चुनावमा जाँदा आफूले चाहेको मान्छे पराजित हुनसक्ने देखिएपछि नेतृत्वले जबरजस्ती सहमति लाद्न खोजेको कार्यकर्ताहरुले बताएका छन् । सहमतिका लागि भन्दै मतदानलाई सोमबारका लागि सारिएको छ । एमाले झापाका इन्चार्ज विशाल भट्टराईसहितको टिमले सहमतिको खोजी गरिरहेको बताइन्छ ।
अध्यक्ष ओलीसँगको छलफलपछि अध्यक्षको प्रतिस्पर्धा छाडेर उपाध्यक्ष बस्न ढुङ्गेलले स्वीकार गरे पनि सचिवमा उम्मेदवारी दिएका बोधप्रसाद घिमिरेले नाम फिर्ता लिन मानेका छैनन् । नेताहरुले नाम फिर्ता लिन दबाब दिएको भएपनि उम्मेदवारी फिर्ता नलिने घिमिरेले बताएका छन् ।
सचिवमा ओलीले तुलसी कार्कीको नाममा सहमति गर्न चाहेका छन् । ओलीले जिल्लामा उपलब्ध नेताहरुलाई गिरी अध्यक्ष, असारु राजवंशी उपाध्यक्ष र तुलसी कार्कीलाई सचिव बनाउन निर्देशन दिएका थिए । तर, उनी असारुको स्थानमा ढुंगेललाई ल्याउन तयार भएका छन् । तर, सचिवमा कुरो नमिलेको नेताहरुले बताएका छन् ।
अधिवेशनमा ७८६ जना प्रतिनिधि सहभागी छन् । जिल्लामा अध्यक्ष र उपाध्यक्षबाहेक सबैजसो पदमा एकभन्दा धेरैको उम्मेदवारी परेको छ । एमाले केन्द्रीय सदस्य रविन कोइरालाले झापामा जनवाद र केन्द्रियताको संयोजन गरेर नेतृत्व चयनको काम अगाडि बढेको बताएका छन् ।
जिल्लामा उपसचिव पदमा असारु राजवंशी, टीकाराम मंग्राती, चन्द्र सुब्बाले उम्मेदवारी दर्ता गराएका छन् । पार्टी संस्थापनले यसअघि उपाध्यक्ष बनाउन खोजेका राजवंशीलाई उपसचिवमा ल्याउन चाहेको छ । महिला उपसचिवमा भने अनिता कन्दङ्वाको नाममा सहमति भएको छ ।
एमाले झापाको ११ औँ जिल्ला अधिवेशन चैत १५ गते बाट सुरु भएको हो ।