इलाम–२ को उम्मेदवार बनाउन माओवादीद्वारा चार जनाको नाम सिफारिस

विराटनगर। आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनको लागि नेकपा माओवादी केन्द्रले चार जना उम्मेदवारहरूको नाम सिफारिस गरेको छ ।

प्रदेश समितिले जिल्ला समन्वय समिति इलामको सिफारिसको आधारमा चार जनाको नाम केन्द्रमा पठाएको हो ।

प्रदेश अध्यक्ष हर्क बहादुर नेम्वाङका अनुसार पार्टीका केन्द्रीय सदस्य धिरेन्द्र शर्मा तिम्सिना (रमण)सहित चार जनाको नाम सिफारिस भएको छ । शर्मा प्रदेशसभाका पूर्वसदस्य समेत हुन् । माओवादीले उनीसहित उर्मिला तामाङ (चन्दा), ओमबहादुर गुरुङ (सौरभ) र कुमार बराइली (अनिल)को नाम सिफारिस गरेको छ ।

२०७९ मंसिरमा सम्पन्न निर्वाचनमा सो क्षेत्रबाट विजयी भएका एमाले नेता सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । अहिलेसम्म नेकपा एमालेले सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निधो गरिसकेको छ । उनी सुवासचन्द्र नेम्बाङकै कान्छा छोरा हुन् ।

यस्तै प्रदेशको नाम पहिचानसहित हुनुपर्ने माग राख्दै आन्दोलनरत पहिचानवादीहरूको तर्फबाट डकेन्द्रसिं थेगिम उम्मेदवार बन्ने निश्चित भइसकेको छ । पत्रकार मिलन लिम्बूले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् भने यस्तै सीके राउतको राष्ट्रिय जनमत पार्टीले भने प्रेमदिप थाम्सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

नेपाली काँग्रेसले पार्टीका जिल्ला सभापति डम्बर खड्कासहित ७ जनाको नाम सिफारिस गरेको छ भने एकीकृत समाजवादीले जिल्ला सचिव  हरिबाला राईसहित तीन जनाको नाम सिफारिस गरेको छ ।

मङ्गलबार, १३ चैत, २०८०, साँझको ०५:५४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर