धनकुटा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले धनकुटा अौद्योगिक ग्राम पूर्णरूपमा सञ्चालन गर्न निर्देशन दिएका छन् ।
मुख्यमन्त्री कार्कीले धनकुटा अौद्योगिक ग्रामका अध्यक्ष तिलक महतलाई अौद्योगिक ग्रामभित्र उद्योग सञ्चालनको खाका १५ दिनभित्र पेश गर्न निर्देशन दिएका हुन् ।
मंगलबार ग्रामको निरीक्षण गर्दै मुख्यमन्त्री कार्कीले सबै भवनमा ६ महिनाभित्र स्थानीय कच्चा पदार्थमा आधारित उद्योग सञ्चालनमा ल्याउन नसके कारवाही गर्ने चेतावनीसमेत दिएका छन् । अौद्योगिक ग्राम परिसरमा निर्मित २७ मध्ये ९ वटा भवनमा लघु उद्योग सञ्चालनमा रहेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख ईश्वर थापाले जानकारी दिएका छन् ।
ती उद्योगमा सेनेटरी प्याड र खाद्यान्न सामाग्रीहरू उत्पादन भएपनि परिमाण कम रहेको छ । मुख्यमन्त्री कार्कीले ग्रामलाई पूर्णरुपमा सञ्चालन गरेमा पूर्वी पहाडी क्षेत्रको जनजीविकामा सहजता हुने बताउँदै सञ्चालनका लागि आवश्यक निर्देशन दिएका हुन् ।
मुख्यमन्त्री कार्कीले भने, ‘यस क्षेत्रको स्थानीय कच्चा पदार्थमा आधारित उद्योग स्थापना भएपछि मात्रै यो क्षेत्रका बासिन्दा लाभान्वित हुनसक्छ ।’ ग्राम स्थापनाको ५ वर्ष बितिसक्दासमेत पूर्णरुपमा सञ्चालनमा आउन सकिरहेको छैन । ५२ रोपनी क्षेत्रफलमा फैलिएको औद्योगिक ग्राम प्रदेश सरकार मातहत रहेको छ ।