इलाम–२ मा सुहाङलाई उम्मेदवार बनाउने एमालेको निर्णय

विराटनगर । इलाम–२ मा १५ वैशाखमा हुने उपनिर्वाचनमा नेकपा एमालेले सुहाङ नेम्बाङलाई उम्मेदवार बनाउने भएको छ ।

संविधानसभाका अध्यक्ष रहेका सो क्षेत्रका सांसद सुवासचन्द्र नेम्बाङको निधन भएपछि रिक्त रहेको सो क्षेत्रमा हुने उपनिर्वाचनमा एमालेले उनकै कान्छा छोरा सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

एमाले उपमहासचिव प्रदिप ज्ञवालीका अनुसार आइतबार बसेको पार्टीको सचिवालय बैठकले सुहाङलाई उम्मेदवार चयन गरेको हो । सिंगो पार्टी शक्ति चुनाबमा जित निकाल्न केन्द्रित हुने निर्णय भएको एमालेले जनाएको छ ।

सुवास नेम्वाङको भदौ २५ गते निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो । यसअघि इलाम जिल्ला कमिटी र प्रदेश कमिटीले इलाम–२ का लागि सुहाङसँगै नेताहरु बुद्धि खनाल, रवीन्द्र सुवेदी, नरेन्द्रनाथ भट्टराई, देवी क्षेत्री दुलाल र रिम्पल राई पनि सिफारिस गरेको थियो ।

सुहाङ अधिवक्ता हुन् । बुबाकै प्रेरणाले वकालती पेशा अपनाएका उनी उनको निधनपछि सोही क्षेत्रमा उम्मेदवार बन्ने भएका हुन् । यसअघि फुटबल क्लब र आफ्नै वकालती फर्म चलाइसकेका सुहाङलाई एमालेले ‘हेभिवेट’ नेताका रुपमा उम्मेदवार बनाएको जनाएको छ । सुहाङले ३० वर्षको उमेरमा बुबाले निरन्तर जितेको निर्वाचन क्षेत्रबाट टिकट पाएका हुन् ।

एमालेले आफूलाई उम्मेदवार बनाउने निर्णय गरेपछि उत्साहित भएको नेम्वाङले बताएका छन् । ‘मलाई पार्टीले विश्वास गरेर उम्मेदवार बनाउने निर्णय गर्‍यो यसमा उत्साहित छु’ उनले भने, ‘जिम्मेवारी पनि थपिएको महसुस गरेको छु ।’

आफू इलाम २ बाट उम्मेदवार बन्दै गर्दा नेकपा एमालेको तर्फबाट मात्रै नभएर सिङ्गो इलामका जनताकै भावना समेट्ने गरेर अगाडि बढ्ने नेम्बाङले बताएका छन् । ‘म सिङ्गो इलामका जनताको भावना समेट्नेगरी अघि बढ्ने प्रयास गर्छु’, उनले भने, ‘सवैजना मैदानमा उत्रँदा जित्छु भनेरै उत्रने हो । म पनि जनताको विकास र सम्मृद्धिका एजेण्डा बोकेर जनतामाझ जान्छु ।’

काठमाडौँमा रहेका सुहाङले केहि दिनदेखि नै चुनावी क्षेत्रमा खटिने बताएका छन् ।

आइतबार, ११ चैत, २०८०, दिउँसोको ०४:०३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर