रेष्टुरेन्ट अनुगन नहुँदा उपभोक्ता मारमा

विराटनगर । विराटनगर– ३ मा रहेको ताण्डव रेस्टुरेन्टमा खाजा खाएपछि प्रदेश सांसद गणेश उप्रेतीसहित पाँच जना विरामी परे । शुक्रबार माछा खान उप्रेतीसहित उनको परिवार ताण्डव रेस्टुरेन्ट पुगेको थियो । उनीहरूले खाजामा माछा खाए । खाएको २४ घण्टा बित्न नपाउँदै उप्रेतीसहित उनकी श्रीमती नरमाया भट्टराई गरिमा, छोरी शैली विरामी भएका छन् ।

उनीहरुसँगै खाजा खान गएका प्रकाश पौडेल र सविना दाहाल पनि शनिबारदेखि विरामी परेका छन् । सांसद उप्रेतीकी पत्नी गरिमा र छोरीलाई झाडापखाला र ज्वरोले सताएपछि विराटनगरस्थित नोबेल मेडिकल कलेजमा राखेर अहिले उपचार भइरहेको छ ।

यो एउटा प्रतिनिधि घटना मात्रै हो । पछिल्लो समय विराटनगरमा बग्रेल्ती खुलेका रेस्टुरेन्ट र होटलहरुको खाद्य सुरक्षालाई लिएर सम्बन्धित निकायले अनुगमन र निरीक्षणमा ध्यान नदिँदा अखाद्य खाद्यवस्तु खान उपभोक्ता बाध्य छन् । खाद्य सुरक्षाको प्रत्याभूतिका लागि नेपालमा विभिन्न संवैधानिक एवं कानुनी व्यवस्था गरिएको छ । तर, अनुगमन र निरीक्षण गर्ने जिम्मेवारी पाएको स्थानीय सरकार विराटनगर महानगरपालिका, संघीय सरकार मातहतमा रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र वाणिज्य तथा उपभोक्ता संरक्षण कार्यालय मौन बसेका छन् । जसले गर्दा व्यापारीहरूले खाद्यवस्तु मनपरी बिक्री वितरण गरेको कारणले उपभोक्ताहरुको स्वास्थ्यमा समस्या निम्तिने गरेको छ ।

खाद्य सुरक्षाको लागि नियामक निकायले अनुगमन र निरीक्षण नगर्दा अखाद्य वस्तु खानुपरेको उपभोक्ताहरुको हकहितमा वकालत गर्ने संस्था पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलले बताए । ‘स्वच्छ पानी, आवश्यकता अनुसारको पौष्टिक तत्व, सरसफाइ र स्वास्थ्यसम्बन्धी विविध जानकारी हासिल गर्दै गुणस्तरीय खाद्यान्न उपभोग गर्ने कार्यलाई ‘खाद्यान्नको उपयोग’ भनिन्छ । यसले खाद्यान्नको सही तवरले प्रयोग गर्ने क्षमतामा जोड दिन्छ । यसअन्तर्गत खाद्यान्न छनोट, संकलन, भण्डारण, संरक्षण, प्रशोधन, तयारी, पोषणसम्बन्धी ज्ञान र आनीबानीजस्ता विषय पर्छन,’ उनले भने ।

स्वास्थ्यसँग जोडिएको खाद्यवस्तुको नियामक निकायले निरीक्षण र अनुगमन नगर्दा अस्वस्थ खाद्यवस्तु खान उपभोक्ता बाध्य भएको उनले सुनाए । ‘खाद्य सुरक्षा मानव जीवनको महत्वपूर्ण सवाल हो । यसले मानव जीवन जिउनका लागि अत्यावश्यक सन्तुलित आहारको उपलब्धतामा जोड दिन्छ,’ उनले भने, ‘यहाँ विक्री वितरण हुने खाद्यबस्तु कस्तो रहेको छ । त्यसको विषयमा नियक निकायले अनुगमन र निरीक्षण गरेको पाइँदैन ।’ प्राविधिकि सहितको अनुगमन र निरीक्षण गरिनुपर्नेमा उनले जोड दिए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख राजकुमार रिजालले गुनासो आएको ठाउँमा अनुगमन र निरीक्षण गरेर खाद्यबस्तुको अवस्था बुझने गरेको बताए । ‘अहिले जनशक्ति स्रोत साधनको अभावको कारणले अनुगमन प्रभावकारी नदेखिएको हो,’ उनले भने, ‘गुनासो आएको ठाउँमा पुगेर अनुगमन र निरीक्षण गर्दै आएका छौं ।’

मङ्गलबार, १२ बैशाख, २०८०, बिहानको ०८:१५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर