आक्रामक चुनाबी अभियानमा रेखा थापा

विराटनगर । मोरङ निर्वाचन क्षेत्र नम्बर ३ बाट राप्रपाबाट प्रतिनिधिसभा निर्वाचनको लागि उम्मेदवार सिफारिस भएकी चर्चित नायिका रेखा थापाले चुनाबी अभियान तीब्र बनाएकी छन् ।

पार्टीले उम्मेदवार बनाउने निर्णय गरिनसकेको भएपनि थापा पहिलो पटक प्रतिनिधिसभा प्रत्यक्षतर्फ चुनावी प्रतिस्पर्धामा उत्रने घोषणासहित गाउँगाउँ पुगिरेहकी छन् ।

चुनावी अभियान अन्तरगत उनले निर्वाचन क्षेत्र मोरङ ३ मा पर्ने पथरीशनिश्चरे, कानेपोखरी, बेलबारी र सुन्दरहरैचाका मतदातासँग भेटघाट गरिरहेको थापाले बताएकी छन् । उनले मोरङ ३ का बिभिन गाउँ तथा नगरका वडाहरुमा स्थानीयहरुसँग समस्याहरुबारे जानकारी लिएको बताइन् ।

सबै उमेर समूहका मतदाताहरुको अपार माया पाइरहेको र ठूला दलहरुप्रति असन्तोष व्यापक रहेको देखेको थापाको भनाइ छ । सेलिब्रेटी अभिनेत्रृ पनि रहेकोले उनी पुगेको स्थानमा स्थानीयको भिड लाग्ने गरेको छ । रेखालाई अग्रज मतदाताहरुले आशिर्वाद दिएका छन् भने महिलाहरुले अंकमाल गरेर शुभकामना दिएका छन् ।

घरदैलोका क्रममा थापाले जनताले नै मतदान गरेर जिताएपछि जनतालाई घृणा, दास र जनताको जीवनलाई नर्क बनाउने, जनताको भोटलाई खरिदविक्री गर्ने, जनतालाई भोट बैंकको रुपमा मात्रै प्रयोग गर्ने भ्रष्टहरुलाई चिन्नुपर्ने बताउने गरेकी छन् । थापाले ‘ठगहरुलाई लखेट्ने बेला आएको’ बताउँदै आफ्नो मत खेर नफाल्न आग्रह गर्दै आएकी छन् ।

‘अहिलेसम्म हामीले गलत मान्छेहरुलाई चुनेको र गलत मान्छेहरु हाम्रा नेता रहेकोले गर्दा अब आफुहरुले भोगेका दुःखको अन्त्य गर्न आफुहरु जागेका छौं, उनले भनिन्, ‘पुराना नेताहरुले जनतालाई वर्षौँदेखि रुवाएर राखेकाले अब असल उम्मेदवारलाई मतदान गर्नुपर्छ ।’

जहाँ पुग्यो त्यहाँका युवाले माया र ज्येष्ठ नागरिकले आशिर्वाद दिने गरेकोले उत्साहित रहेको थापाले बनाइन् । यसअघि रिल लाईफमा नागरिकका समस्या उठान गरेको स्मरण गर्दै उनले अब जनताका आवाज बोल्न सदनसम्मै पुग्ने बताइन् ।

भेटघाटका क्रममा धेरै मतदाताले पहिलेका उमेदवारले चुनाव जितेर जाने त्यसपछि फर्किएर नआउने गरेको गुनासो गरेको थापाले सुनाइन् । रेखाको निर्वाचन क्षेत्रमा सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्या रहेको छ । स्थानीयले समस्याबारे निकै गम्भीरतापूवर्क बताउने गरेका छन् ।

महिला दिदीबहिनीहरूको सुरक्षाका लागि आफू ‘काली’ बनेर आएको बताउँदै थापले दिदीबहिनीहरूलाई राति हिँड्दा डराउनुपर्ने अवस्था अन्त्य हुनुपर्ने धारणा राख्ने गरेकी छन् । मोरङ क्षेत्र नम्बर ३ बाट नेकपा एमालेका तर्फबाट पूर्वस्वास्थ्यमन्त्री भानुभक्त ढकाल उम्मेदवार बन्दैछन् । कांग्रेसबाट मेडिकल व्यवसायी सुनील शर्मा उम्मेदवारको रुपमा सिफारिस भएका छन् ।

बुधबार, २९ भदौ, २०७९, दिउँसोको ०१:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर