विराटनगर । विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पताल मुटु रोग उपचारका लागि भरपर्दो गन्तव्य बनेको छ । अत्याधुनिक उपकरण र चर्चित कार्डियोलोजिष्ट चिकित्सकसहितको टिम दुवैको संयोजन मिलेका कारण न्यूरोले मुटु उपचारमा पछिल्लो समयमा फड्को मारेको हो ।
सात वर्ष अगाडिदेखि विशेषज्ञ चिकित्सकसहितको ‘क्याथल्याब’ सञ्चालनमा ल्याएपछि मुटुरोगीका विरामीको उपचारमा न्यूरो निरन्तर सफलतातिर अग्रसर बनेको हो । अस्पतालमा मुटुरोगीको सफल शल्यक्रिया तथा उपचार हुन थालेपछि पूर्वी नेपाल र भारतका विरामीको चाप बढ्न थालेको छ । गुणस्तरीय सेवा प्रदान गरेर विरामीको मन जित्न पनि न्यूरो सफल हुँदै गएको हो ।
मुटुमा जटिल समस्या भएका विरामीका लागि कोरोनरी तथा रेनल एन्जियोग्राफी, एन्जियोप्लाष्टी र पेसमेकर प्रत्यारोपणमा न्यूरो–कार्डियो अस्पतालले छोटो समयमैै फड्को मारेको हो । नेपाली र भारतीय मुटुरोगीले सेवा पाउँदै आएको अस्पतालमा जटिल शल्याक्रियालाई आवश्यक पर्ने प्रविधि र विशेषज्ञ चिकित्सक उपलब्ध भएसँगै उपचार गराउने विरामीको संख्या बढ्दै गएको छ ।
अस्पतालका कल्सल्टेन्ट इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा.निकेशराज श्रेष्ठका अनुसार मुटुको भल्वमा पर्ने प्वालको परीक्षण, मुटुका नलीमा जम्ने रगत खोल्ने उपचार पद्दतिदेखि मुटुमा ब्याट्री राख्ने विरामीहरुको सफल उपचार न्यूरो–कार्डियोमा हुने गरेको छ । हृदयाघात भएका विरामीका लागि गरिनुपर्ने उपचार पद्दतिमध्ये एन्जियोग्राफी, मुटुको नशामा जम्ने रगत खोल्ने एन्जियोप्लाष्टी र मुटुको चाल बढाउन मुटुमा ब्याट्री राखिने पेसमेकरबाट विरामीले लाभ लिइरहेका छन् ।
न्यूरो अस्पतालमा अत्याधुनिक प्रविधिसहितको ‘क्याथल्याब’ सञ्चालनमा आएपछि भारतबाट समेत विरामी आएर मुटुको शल्याक्रिया गराउन थालेको डा.श्रेष्ठले बताए । उनका अनुसार हालसम्म २ हजार मुटुरोगीले न्यूरो–कार्डियो अस्पतालबाट सफल शल्याक्रिया तथा उपचार सेवा लिएका छन् । जसमध्ये कोरोनरी एन्जियोग्राफी १ हजार ४ सय ३ जनाले गराएका छन् । एन्जियोग्राफी गर्नेमध्येका ६ सय ७ विरामीको एन्जियोप्लाष्टी गरिएको छ ।
यसैगरी मुटुको चाल बढाउन ९४ जना विरामीमा अस्थायी र १ सय १३ जना विरामीमा स्थायी प्रकृतिको ब्याट्री यसै अवधिमा राखिएको छ । त्यसबाहेक ७ जनाको रेनल एन्जियोग्राफी र ३ जनाको रेनल एन्जियोप्लाष्टी गरिएको डा.श्रेष्ठले बताए ।
कुनैपनि अस्पतालमा भर्ना भएका विरामीको लक्षण हेरेर मुटुको समस्या भएको आशंका लागे तत्काल विशेषज्ञ चिकित्सकसम्म उपचारमा पठाउने संस्कारको विकास नहुँदा कतिपय विरामीको ज्यान जाने गरेको छ । असन्तुलित खानपिन तथा शारिरीक कसरत अभावले निम्त्याउने हृदयाघातका विरामीको वायाँ भागतर्फको छाती क्रमशः दुख्दै दायाँ हाततर्फ सरेमा तत्काल विशेषज्ञ चिकित्सकसम्म पुग्नुपर्ने डा.श्रेष्ठको आग्रह छ । त्यसबाहेक पनि मुटुको नलीमा हुने समस्या, भल्वमा पर्ने प्वाल र नली पुरिने, मुटुकै मांसपेशीमा देखिने समस्या र उच्चरक्तचाप र मधुमेहका विरामी हृदयाघातको उच्च जोखिममा हुने गर्दछन् ।
ठूलो लगानीसहित न्युरो अस्पतालले मुटुको जटिल समस्या देखिएका विरामीको उपचारमा आवश्यक अत्याधुनिक प्रविधि (फिलिप्स एफडि २० क्याथल्याव) भित्र्याएपछि उपचारमा आउनेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । यो प्रविधि नेपालमा तीन वटा अस्पतालमा मात्र उपलब्ध रहेको छ । सरकारले मुटुको एन्जियोप्लाष्टी गर्नुपर्र्ने बिरामीका लागि १ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्न थालेपछि न्यून आर्थिक अवस्था भएका विरामीको पनि उपचार सहज भएको छ ।
कार्डियोलोजिष्ट डा.श्रेष्ठका अनुसार मुटु रोगलाई जटिल समस्या मानिएका कारण यसको उपचार खर्चिलो छ । खर्चिलो भएकाले आम नागरिकको पहुँचमा नहुँदा हृदयाघातले मर्नेको संख्या वर्षेनि बढ्दै गएको छ । पछिल्लो समय मुटु रोगको उपचारमा सरकारी सहयोग कोशेढुंगा सावित हुँदै गए पनि अझै यस्ता विरामीको उपचारमा सरकारी चासो बढ्नु पर्नेमा उनको भनाइ छ ।
मुटु रोगका लक्षण
१. छातीको बीचको भाग दुख्नु ।
२. खुट्टाहरु सुन्निनु ।
३. मुटुको धड्कन रोकिने वा छिटो छिटो चल्नु ।
४. ओठ, जिब्रो र औंलाका टुप्पाहरु नीलो हुनु ।
५. टाउको दुख्ने वा रिंगटा लाग्नु ।
६. घाँटीको रक्तनली फुल्नु ।
७. जोर्नीहरु दुख्ने, सुन्निने र ज्वरो आउने ।
जोगिने उपायहरु
१. बाहिरको खानेकुरा सकेसम्म कम खाने ।
२. धुम्रपान तथा मद्यपान नगर्ने ।
३. बोसो, तारेको र चिल्लोयुक्त खानेकुरा नखाने ।
४. नियमित शारिरीक व्यायम गर्ने ।
५. खानामा हरियो सागसब्जी र सलाद बढी खाने ।
६. मानसिक तनाव कम गर्ने ।
७. मोटोपना र तौल नियन्त्रणमा राख्ने ।
८. फलफूल बढी खाने ।
९. ६÷६ महिनामा मुटुको चेकजाँच गर्ने ।