७३ वर्षीया मनमायाले पाइनन् नागरिकता

विराटनगर । मोरङ उर्लाबारी नगरपालिका– २ डुम्रेकी मनमाया थापा मगर उमेरले ७३ वर्ष पार गरिन् । तर, उनले अझै नागरिकताबिहीन बन्नुपरेको छ ।

उनले सोही ठाउँमा बसोबास सुरु गरेको चार दशक हुन लाग्यो । मनमायाको माइती घर धनकुटाको ६ नम्बर बुधबारे हो । उनको सानैमा पदमबहादुर मगरसँग विवाह भयो । त्यसपछि उर्लाबारी झरेकी मनमाया सानै हुँदा उनको आमा–बुबाको मृत्यु भयो । अहिले उनको माइतीपटीका आफन्त कोही छैनन् ।

आर्थिक अवस्था नाजुक रहेको परिवारमा मनमाया ७७ वर्षीय श्रीमान पदमबहादुर मगर र जेठी छोरीको साथमा बसोवास गर्दै आएकी छिन् । वृद्धा दम्पतीको चार जना छोराछोरीमध्ये एक जना छोरा र तीन छोरी छन् । एक छोरा कामको सिलसिलामा १८ वर्षको उमेरमा भारत गएको अहिलेसम्म बेखबर छन् । छोरा हराएको ३० वर्ष भएको वृद्ध दम्पतीले बताए । श्रीमान र छोराछोरीको नागरिकता भएपनि मनमाया नागरिकता छैन । नागरिकता नभएकोले राज्यले दिने वृद्धभत्ताबाट उनी वञ्चित हुनुपरेको छ ।

‘झोडामा बसेको दशकौं बित्यो,’ उनले भनिन्, ‘बुढ्यौली उमेरसम्म पनि देशको नागरिक बन्न नपाइने हो भन्ने चिन्ताले सताउन थालेको छ ।’ वृद्धा मनमायाको अहिले एउटै चाहना रहेको छ स्वर्गवास हुनुभन्दा अगाडि नागरिकता प्राप्त गर्ने धोको । इच्छा पूरा गरिदिन मनमायाले जनप्रतिनिधि र सरोकारवालसँग आग्रह गर्नुभएको छ ।

नागरिकता प्रमाणपत्र नपाउँदा वृद्धा मनमाया दुःखी छिन् । उनको अहिले एउटै इच्छा छ राज्यले नगरिकता दिलाइदिहोस् । नागरिकता नभएकोले राज्यले दिने वृद्धा भत्ताबाट उहाँ वञ्चित हुनुहुन्छ । ‘नेपालमै जन्मेर पनि हालसम्म नागरिकता पाएको छैन । नागरिकताको लागि धेरैलाई हारगुहार गरिसकें अहिलेसम्म पाउन सकेको छैन,’ वृद्धा मनमायाले दुःखेसो पोख्नुभयो, ‘नागरिकता बनिहाल्छ कि भन्दै प्रशासन र नगरपालिका धेरै तिर धाएँ । तर, अहिलेसम्म पाउन सकिँन ।’ वृद्धाअवस्थामा माइती पक्षको आफन्तको नागरिकता र बसाइसराइ ल्याउनु भन्दै स्थानीय प्रशासन, जनप्रतिनिधिले कार्यालयबाट फकाई दिने गरेको उहाँको भनाइ छ ।

बिहान बेलुकाको छाक टार्न समस्या रहेको वृद्धा दम्पतीले केही समय अगाडि निगुरो र दाउरा बिक्री गरि परिवारको गुजारा चलाउँदै आएका थिए । अहिले बुढेसकाल भएर काम गर्न नसक्दा उनीहरूलाई समस्या छ । नागरिकता बनेको भएपनि राज्यबाट प्राप्त हुने सामाजिक सुरक्षा भत्ताबाट केही राहत हुने स्थानीय एलिसा धामीले बताउनुभयो ।

‘निर्वाचनको बेला भोट माग्न आएका दलका नेताहरूलाई हामीले धेरै पटक वृद्धाको नागरिकता बनाइदिए जीवन यापन गर्न सहज हुन्थ्यो भन्दै पहल गरिदिन आग्रह गरेका थियौं,’ धामीले भन्नुभयो, ‘अहिलेसम्म कुनै दलका प्रतिनिधि र जनप्रतिनिधिहरूले ठाडो कान लगाउन सकेका छैनन् । हामीले सबैलाई भन्दाभन्दा आजित भइसक्यौं ।’ आमाको नागरिकताको लागि पटक–पटक प्रयास गरेपनि नागरिकता नबनेको जेठी छोरी नरमाया मगरले बताउनुभयो ।

उर्लाबारी नगरपालिका–२ का वडाअध्यक्ष राजनकुमार कँडेलले वृद्धाको नागरिकताको लगि पहल गर्ने बताउनुभएको छ । ‘अहिलेसम्म नागरिकता नभएको मलाई जानकारी आएको थिएन,’ उहाँले भन्नुभयो, ‘स्थानीयसँग समन्वय गरेर वृद्धाको नागरिकता बनाउन आवश्यक कागजपत्र भेला पारि काम गरिदिनेछु ।’

शनिबार, २७ भदौ, २०७७, साँझको ०७:३७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर