विश्वमै महामारीको रुप धारण गरिरहेको कोरोना भइरसले विश्वभर आतंक मच्चाएइको छ । विश्वकै अर्थतन्त्र प्रभावित भएको छ ।
कयौँ मुलुकले संक्रमण फैलिन नदिनका लागि ‘लकडाउन’ घोषणा गरेका छन् । हजारौँ मानिस क्वारेन्टाइनमा छन् । कयौँको रोजगारी गुमेको छ ।
यो अवस्था कहिलेसम्म रहन्छ भन्ने प्रष्ट छैन । नागरिकको सामाजिक स्वतन्त्रता लगभग खोसिएको छ । यसलाई विर्सने हो भने कोरानाले केही सकारात्मक परिवर्तन पनि ल्याएको छ ।
प्रदूषणमा कमी
कोरोनाको कारण कयौँ मुलुक ‘लकडाउन’ को अवस्थामा छन् । यसले प्रदूषणको स्तरमा कमी आएको छ ।
चीन र इटालीमा वायु प्रदूषणको गम्भीर कारक मानिएको नाइट्रोजन डाइअक्साइडमा निकै कमी आएको छ । औद्योगिक कारखाना बन्द भएका र सडकमा कारको संख्यामा कमी आएसँगै प्रदूषण घटेको हो ।
यसका साथै पृथ्वीलाई तातो बनाउने कार्बन डाइअक्साइड ग्यासमा उत्साहप्रद कमी आएको छ ।
पानीको गुणस्तरमा सुधार
कोरोना प्रभावित भेनिस सहरको पानीको गुणस्तरमा निकै सुधार आएको छ । स्थानीय बासिन्दाका अनुसार सहरको नहरमा बग्ने पानीको गुणस्तर सुध्रिएको हो ।
इटालीमा पर्यटक नपुगदा पानी सफा भएको छ। सफा पानीका कारण नहरमा रहेका माछासमेत देख्न थालिएको स्थानीयबासीको भनाइ छ ।
सहयोगी भावना र उदारता बृद्धि
कोरोनाभाइरसका कारण कयौँ मुलुक पूर्णरुपमा बन्द भएका छन् । केही मुलुक यस प्रकारको बन्दको तयारीमा छन् । न्यूयोर्कमा दुई जनाले ७२ घण्टाभित्रै एक हजार तीनसय स्वयंसेवक तयार पारेका छन्, जसले सहरमा वृद्धवृद्धा तथा सहयोगापेक्षीलाई घरेलु सामान तथा औषधि घरमै लगिदिन्छन् ।
बेलायतमा हजारौँ मानिस एउटा समूहमा आवद्ध भएका छन्, जो कोरोनाभाइरस विरुद्ध जनचेतनाका लागि बनाइएको हो । यस्तो फेसबुक समूह क्यानाडामा पनि बनाइएको छ ।
अस्ट्रेलियाको सुपरमार्केटमा वृद्धवृद्धाका लागि खरिद समय निर्धारण गरिएको छ । उनीहरुका लागि छुट्याइएको समयमा अन्य ग्राहकलाई सेवा बन्द गरिएको हुन्छ ।
केहीले आफ्नो व्यवसायलाई नै परिवर्तन गरेर कोरोना संक्रमणविरुद्ध आवश्यक सामान उत्पादन गर्न थालेका छन् ।
एकजुट हुँदै मानिस
कार्यालय तथा घरको भागदौडबीच मानिसहरु आफन्तबाट केही टाढिएजस्तो देखिन्थ्यो । कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि मानिसहरु आफ्नो घरमै सीमित हुन थालेका छन् । जसका कारण विश्वका लाखौँ मानिस आफ्नो परिवारको निकट रहन पाएका छन् ।
इटालीमा एउटा घरको कौसीबाट अर्को घरको कौसीमा सम्पर्क बढ्न थालेको छ । टोलका सबैजसो घरका कौसीमा बसेर स्थानीयबासी गीत गाउने तथा प्रार्थना गर्दछन्, जसले एक अर्काको हौसला बढाइरहेको हुन्छ ।
यो भाइरसको प्रकोपले स्वास्थ्यकर्मीहरु तथा तमाम अत्यावश्यक सेवामा काम गर्नेहरुको महत्वलाई पनि दर्शाएको छ । युरोपमा हजारौँ मानिस आफ्नो घरको कौसी तथा छतमा बसेर चिकित्सक तथा स्वास्थ्यकर्मीको हौसला बढाइरहेका छन् ।
रचनात्मक क्षमतामा वृद्धि
कोरोना संक्रमणबाट जोगिनका लागि घरमा बस्न थालेपछि मानिसहरु आफ्नो रचनात्मक क्षमता देखाउन थालेका छन् । आफ्नो रुचीअनुसारको पुस्तक पढ्ने, पेन्टिङ गर्ने, कथा–कविता तथा निवन्धहरु लेख्ने क्रम बढेको छ ।
अमेरिकाको टेनेसीमा एक आर्ट शिक्षकले स्कुल बन्द भएर घरमा बसेका बालबालिकाका लागि लाइभ स्ट्रिमिङ कक्षा सञ्चालन गरेका छन् । धेरैजसो सार्वजनिक स्थल बन्द भएका कारण मानिसहरु अनलाइनमा केन्द्रित भएका छन् । यसबाट कयौँले विभिन्न जानकारी हासिल गर्न थालेका छन् । एजेन्सीबाट