खुम्बु पासाङ ल्हामुलाई सबैभन्दा धेरै रोयल्टी

सोलुखुम्बु ।सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका प्राकृतिक स्रोत उपयोग वापत सबैभन्दा धेरै रोयल्टी प्राप्त गर्ने पालिका बनेको छ ।

प्राकृतिक स्रोतको उपयोग वापत संकलन भएको रोयल्टी बाँडफाँड गर्दा खुम्बु पासाङ ल्हामु गाउँपालिकाले सबै भन्दा धेरै रोयल्टी प्राप्त गरेको हो ।

पालिकाले कुल १४ करोड ६१ लख रुपैयाँ रोयल्टी प्राप्त गरेको छ । यो पालिकाले पर्वतारोहण र अन्य शिर्षकबाट यो रकम प्राप्त गरेको हो । खुम्बुपासाङ ल्हामुले १० करोड ८६ लाख ४९ हजार रुपैयाँ पर्वतारोहण बाट रोयल्टी प्राप्त गरेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा यहि पालिकामा पर्दछ ।

उदयपुरको कटारी नगरपालिकाले २ करोड ३ लाख रूपैयाँ रोयल्टी पाएको छ । यो पालिकाले प्राकृतिक स्रोत मध्ये खनिज पदार्थ वापत प्राप्त गरेको हो । यस्तै सोलुदुधकुण्ड नगरपालिकाले १ करोड ८१ लाख र मकालु गाउँपालिकाले १ करोड ७० लाख रुपैयाँ रोयल्टी प्राप्त गरेका छन् ।

देश संघीयतामा गएपछि प्राकृतिक स्रोतको उपयोगका क्रममा संकलन गरिने रोयल्टी संघ, प्रदेश र स्थानीय तहमा बाँडाफाँट गर्ने गरिएको छ । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ मा प्राकृतिक स्रोतबाट उठेको रोयल्टीको ५० प्रतिशत हिस्सा संघमा रहन्छ । बाँकी ५० प्रतिशतबाट २५–२५ प्रतिशत प्रदेश र स्थानीय तहले पाउने व्यवस्था छ ।

आगामी आर्थिक वर्षदेखि भने रोयल्टी बाँडफाँटको हिस्सामा परिवर्तन गरिने भएको छ । २०७४ मा तोकिएको हिस्साका आधारमा भने अहिले अन्तिम पटक रोयल्टी बाँडफाँटको सिफारिस गरिएको प्राकृतिक स्रोत तथा वित्त आयोगले जनाएको छ ।
गत वर्ष बाँडफाँट गर्न मिल्ने ६ अर्ब ३० करोड रूपैयाँ संकलन भएको थियो । त्यसमध्ये तीन अर्ब १५ करोड संघीय सरकारको खातामा र प्रदेश तथा स्थानीय तहको खातामा समान एक अर्ब ५७ करोड÷एक अर्ब ५७ करोड विभाजन गरिएको छ ।

शुक्रबार, १४ चैत, २०८१, बिहानको ०८:४५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर