पेट्रोल पम्पमा ट्राफिक सचेतना बोर्ड

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले सवारी दुर्घटना रोक्ने उद्देश्यले सचेतना मुलक बोर्ड पेट्रोल पम्पहरुमा राख्न थालेको छ ।८० प्रतिशत सवारी दुर्घटना दुई पाङग्रे सवारी साधनहरुबाट हुन थालेपछि ट्राफिक प्रहरीले सवारी दुर्घटना रोक्न पेट्रोल पम्पहरुमा सचेतना मुलक बोर्ड राख्न सुरु गरिएको हो ।

नेपाल आयल निगम विराटनगर र पेट्रोलियम डिलर्स एसोसिएसन कोशीसँग सहकार्य गरेर ट्राफिक प्रहरीले सचेतना बोर्ड राख्न सुरु गरिएको मोरङ ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक राजन लम्सालले जानकारी दिए । ‘दुर्घटना हुने मुख्य दुई कारण तीब्र गति र मादक पदार्थ सेवन तथा लागूऔषध सेवन गरी सवारी साधन चलाउनु रहेको पाइएको छ । त्यसैको कारणले अहिले सवारी दुर्घटना बढेपछि सवारी साधनमा इन्धन हाल्न पेट्रोल पम्पहरुमा आउने गर्दछन् । यहाँ आएपछि ट्राफिक नियमको बारेमा जानकारी गराउने उद्देश्यले यो बोर्ड राखिएको हो,’ ट्राफिक प्रहरी निरीक्षक लम्सालले भने, ‘सचेतना मुलक बोर्डमा विभिन्न सूचनाहरु राखिएको छ । सवारी चालकले यहाँ राखिएको सचेतना बोर्ड पढेर सवारी चलाए सवारी दुर्घटना न्यूनिकरण हुने थियो । त्यसको लागि हामी सबैले सचेत गराउन जरुरी रहेको छ ।’

मोरङपछि कोशी प्रदेशको १४ वटै जिल्लामा रहेको ११८ वटा पेट्रोल पम्पहरुमा सचेतना मुलक साइनबोर्ड राख्ने तयारी गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

मङ्गलबार, १८ चैत, २०८१, बिहानको ०९:१२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर