विराटनगर । नेपाल औषधि व्यवसायी संघ मोरङले सबै फार्मेसीबाट रिर्जभ एन्टिबायोटिक्स औषधिहरुको विक्री वितरणको माग गर्दै सोमबार स्वास्थ्य मन्त्री प्रदिप पौडेललाई ज्ञापन पत्र बुझाएको छ ।
कोशी अस्पतालले संचालनमा ल्याएको ‘निःसन्तान क्लिनिक’ को उद्घाटन तथा अस्पताल निरीक्षणका क्रममा विराटनगर आएका स्वास्थ्य मन्त्री पौडेललाई भेटेर संघले ज्ञापन पत्र बुझाएको हो ।संघका अध्यक्ष देशबन्धु ढकालको नेतृत्वमा गएको टोलीले स्वास्थ्यमन्त्री पौडेललाई गत फागुन २५ गते औषधि व्यवस्था विभागले रिर्जभ एन्टिबायोटिक्स औषधि अस्पतालभित्रका फार्मेसीले मात्र बिक्री वितरण गर्न पाउने निर्णयलाई सच्याई सबै फार्मेसीले बिक्री वितरण गर्न पाउने व्यवस्था मिलाउन माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।
संघका अध्यक्ष ढकालद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा औषधि व्यवस्था विभागले गरेको उक्त निर्णयले अस्पताल वाहिरका फार्मेसीहरुलाई विस्थापित गर्नुको साथै करोडौंको लगानी डुब्ने अवस्था आएकोले औषधि व्यवासायीलाई विस्थापित हुनबाट जोगाउन र लगानी सुरक्षित गर्न मन्त्री समक्ष आग्रह गरिएको छ । ज्ञापन पत्रमा भनिएको छ, ‘विभागले रिर्जभ एन्टिबायोटिक्स औषधि अस्पताल भित्रका फार्मेसीले मात्रै बिक्री वितरण गर्न पाउने गरी गरेको निर्णयले तमाम औषधि व्यवसायीहरुलाई चिन्तित तुल्याएको छ । यस खालको निर्णयका कारण अस्पताल बाहिरका फार्मेसीहरू प्रत्यक्ष प्रभावित हुनुका साथै व्यवसायी यो पेशाबाट विस्थापित हुने र करोडौं लगानी डुब्ने खतरासमेत बढाएको छ ।’
संघले ज्ञापन पत्रमा भनेको छ , ‘विभागले कुनै वैज्ञानिक आधारबिना र एकतर्फी रूपमा निर्णय गरेको हुनाले यो गलत निर्णयलाई सच्याउन मन्त्रीले पहलकदम लिईदिनुहुन्छ भन्ने विश्वास लिएका छौंं । ’ज्ञापन पत्र बुझ्दै मन्त्री पौडेलले यस विषयमा आफुले विभागसँग बुझेर समस्या समाधान गराउन पहल गर्ने प्रतिबद्धता जनाएका थिए । उनले भने, ‘यस विषयमा आफूले विस्तृत नबुझेकोले अहिले नै गर्छु भनेर भन्न नसक्ने तर, व्यवसायी विस्थापित हुने र लगानी डुब्ने अवस्था आउन नदिन विभागसँग बुझेर ठोस प्रयास गर्छु ।’
संघका प्रदेश समिति अध्यक्ष धनराज काफ्लेसहित जिल्ला अध्यक्ष ढकालको नेतृत्वमा ज्ञापन पत्र बुझाउन गएको टोलीमा संघका वरिष्ठ उपाध्यक्ष हरिराज रेग्मी , महासचिव अरुण व्राम्हणलगायतको सहभागी थिए ।