कोशी अस्पतालको इनफर्टिलिटी’ क्लिनिकमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. अञ्जु देव र डा. मधुमिता राभाले निःसन्तान दम्पत्तिको उपचार गर्दै आएका छन् । सोमबारदेखि औपचारिक रुपमा इनफर्टिलिटी क्लिनिक उद्घाटन भएपछि उनीहरुले सेवा आरम्भ गरेका हुन् । डा. अञ्जुको दुई वर्षअघि देखिको योजना अहिले आएर पूरा भएको छ । उनले निः सन्तान दम्पत्तिको उपचारको लागि दुई वर्ष अगाडि तालिम लिएकी छिन् । यसैगरी डा. मधुमिताले केहीअघि मात्रै त्यही तालिम लिइन । दुबैले हप्ताको तीन दिन कोशीमा इनफर्टिलिटी सेवा दिने बताएका छन् । सेवा सुरु भएसँगै अस्पतालको स्त्री तथा प्रसूति विभागको प्रमुख समेत रहेकी डा. अञ्जुसँग हाम्रोमत संवादताता अनिल श्रेष्ठले निः सन्तान दम्पत्तिको उपचार कसरी हुन्छ ? यस विषयमा केन्द्रीत कुराकानी गरेका छन् ।
इनफर्टिलिटी क्लिनिक खोल्ने योजना कसरी बनाउनुभयो
– कोशी अस्पतालमा आउने बिरामी विपन्न नागरिकहरु हुने गर्दछन् । त्यसमाथि पनि अस्पतालको गाइनो वार्डमा पनि यस्तै खालका बिरामीहरु धेरै नै आउँछन् । आउने मध्ये १० प्रतिशत बढी दम्पत्ति सन्तान नभएको भन्दै आउने गरेका छन् । उनीहरुलाई हामी परार्मश मात्र दिन सक्थ्यौं । तर, कोशीमा उपचार हुदैन थियो । उहाँहरुको समस्या सुनेपछि मैले दुई वर्ष अगाडि टे«निङ पनि लिए । त्यसपछि कोशी अस्पतालमा निः सन्तान दम्पत्तिको उपचार गर्ने योजना पहिलादेखिको थियो । अहिले आएर कोशी अस्पतालको मेसु डा. रुना झा म्यामको साथ सपोर्टले यो सेवा सुरु गर्न सकेका छौं ।
कोशी अस्पतालमा निःसन्तान दम्पत्ति कति आउने गर्दछन् ?
– अस्पतालको स्त्री तथा प्रसूति रोग विभागको गाइनो वार्डमा दैनिक आपीडीमा ७० देखि ९० जनासम्म बिरामी आउने गरेका छन् । आउनेमध्ये १५ जनासम्म बिरामी सन्तान नभएको भनेर गुनासो गर्छन । तर, कोशीमा अस्पालमा यस सम्बन्धी सेवा दिने उपाय थिएन । त्यसपछि हामीले मेडिकल कलेजहरुमा पठाउने गरेका थियौ । अब अन्य हस्पिटलमा रेफर गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ । अब कोशी अस्पतालमा निः सन्तान दम्पत्तिको उपचार भरपर्दो गरेर उनीहरुको मुहारमा खुसी छर्ने प्रयत्न हामी गर्नेछौं । त्यसको लागि इनफर्टिलिटी क्लिनिक खुलेको छ । हप्ताको तीन दिन हामी सेवा दिने तयारी गरिएको छ । यसमा कुन कुन बार भन्ने विषयमा छलफल भइरहेको छ ।
निःसन्तान समस्या भनेको के हो ?
–कुनैपनि विवाहित दम्पत्तिले एक वर्षसम्म प्रयास गर्दा पनि सन्तान नबस्ने समस्यालाई निःसन्तान भनिन्छ । ३५ वर्षभन्दा माथिका महिलाले नियमित यौन सम्पर्क गर्दा पनि ६ महिनासम्म सन्तान नभए त्यसलाई पनि निःसन्तान भनिन्छ ।
निःसन्तानको समस्या के कारणले हुन्छ ?
– निःसन्तानको समस्या महिला र पुरुष दुबैमा हुन्छ । महिलामा पाठेघरको मुखमा घाउ हुने, मासु पलाएको, धेरै सेतो पानी बग्ने, विभिन्न संक्रमणका कारण निःसन्तानको समस्या हुन सक्छ । नली ब्लक भए, डिम्बासयमा समस्या भएपनि निःसन्तानको समस्या हुन्छ । हर्मोनल गडबडी, अण्डा नबन्ने समस्याका कारण पनि हुन्छ । पाठेघरको राम्रोसँग विकास नभएको, जालो पलाएको, गर्भपतन गराएकोमा पाठेघर टाँसिने जस्ता समस्याले पनि सन्तानमा अवरोध हुन्छ । पुरुष शुक्रकिटको मात्रामा कमी आउनु, गति राम्रो नहुनु, बनोट राम्रो नहुनु कारण हुन्छन् । बच्चामा हुने हाँडे रोगका कारण अण्डकोष सुकेर जाने भएकाले शुक्रकिट नबन्ने समस्या हुन्छ । जन्मजात नै अण्डकोष आफ्नो ठाउँमा नबसी पेटमा बस्दा पनि शुक्रकिटमा समस्या आउँछ ।
निःसन्तान दम्पत्तिको उपचार कसरी हुन्छ ?
– अहिले विवाहित दम्पतिका लागि निःसन्तान एक मुख्य समस्या हो । अस्वस्थ्यकर र निस्किृय जीवनशैलीले निःसन्तानको समस्या बढाउँदै लगेको छ । कुनैपनि विवाहित दम्पत्तिले एक वर्षसम्म सन्तानको प्रयास गरेको छ तर बच्चा बसिरहेको छैन भने त्यसलाई निःसन्तानको समस्या भनिन्छ । निःसन्तानको समस्या हुनुमा महिला र पुरुष दुबै जिम्मेवार हुन सक्छन् । समयमै समस्या पत्ता लगाएर उपचारमा जान सके निःसन्तानको समस्याबाट जोगिन सकिन्छ ।
सबै किसिमको निःसन्तानको उपचार नेपालमै सम्भव छ । हर्मोनको गडबडी, अण्डाको समस्या, पाठेघरको खराबीदेखि उनीहरुको समस्याअनुसार उपचार हुन्छ । शुक्रकिटको जाँचदेखि अण्डकोषको अल्ट्रासाउण्ड गर्ने सबै सेवा र उपचार छन् । कुनैबेला शुक्रकिट आउने नली ब्लक हुँदा पनि समस्या हुन्छ । ब्लक भएको उक्त नली शल्यक्रिया मार्फत उपचार गर्न सकिन्छ ।
निःसन्तानको समस्या बढी कसलाई देखिन्छ ?
– भविष्यमा केन्द्रित भई काममा निकै व्यस्त रहने महिलाहरुमा निःसन्तानको समस्या बढी देखिन्छ । ढिला उमेरमा विवाह गर्दा पनि निसन्तानको समस्या देखिने गरेको छ । रक्सी चुरोटको अत्यधिक प्रयोग गर्ने, तनावपूर्ण वातावरणमा काम गर्ने र कडा व्यायाम गर्ने पुरुषमा पनि निःसन्तानको समस्या देखिन्छ । विदेशमा काम गर्न गएका पुरुषहरुमा शुक्रकिटको समस्या देखिने गरेको छ ।
निःसन्तानको समस्याबाट कसरी जोगिन सकिन्छ?
– निःसन्तानको समस्याबाट जोगिन स्वस्थकर जीवनशैली अपनाउनु सबैभन्दा महत्वपूर्ण हुन्छ । खानपिनसँगै राति सुत्ने र बिहान उठ्ने समयको तालमेल मिलाउनु पर्छ । धेरै तनावपूर्ण वातावरणमा काम गर्नु हुँदैन । विवाहित महिलाले २५ वर्षदेखि सन्तानको योजना बनाउनु आवश्यक छ । अहिले अण्डा फ्रिजिङ्ग गरेर राख्ने प्रविधिको सुविधा पनि छ । यसले ढिला बच्चा जन्माउनेलाई सहज बनाउँछ । एक वर्षसम्म पनि सन्तान नभए तत्काल चिकित्सकसँग परामर्श गर्नुपर्छ ।