विराटनगर । नेकपा एमालेलाई करोडौंको जग्गा दान दिएर चर्चासहित विवादमा आएका व्यवसायी मिनबहादुर गुरुङले एमाले नेता एवं उद्योगी मोतीलाल दुगडले विराटनगरमा निर्माण गरिरहेको होटल खरिद गरेका छधन् ।
विगत १० वर्षदेखि दुगडले निर्माण गरिरहेको होटल सेन्चुरियन भाटभटेनीका प्रबन्ध निर्देशक रहेका गुरुङले १ अर्ब ५५ करोड रुपैयाँमा खरिद गरेका हुन् ।दुगडले दश वर्ष अगाडि निर्माण थालेको होटल सञ्चालनमा नआउँदै बिक्री गरेका हुन् । देशभर सुपरस्टोर खोल्दै आएको भाटभटेनी समूहले होटल क्षेत्रमा पनि हात हालेको हो । सेन्च्यूरियनलाई पाँच तारे होटलको रुपमा सञ्चालन गर्ने तयारी गुरुङको छ ।
गुरुङले काठमाडौंमा होटल स्क्वार तयार गरिरहेका छन् । उमेश श्रेष्ठसँगको साझेदारीपछि काठमाण्डौं स्क्वायरमा लगानी गरेका उनले विराटनगरमा होटल सेन्च्यूरियन खरिद गरेका हुन् । गुरुङले होटल खरिदको लागि बैना भएको बताएका छन् । दुगडले भने कुरा मात्र भएको दावी गर्दै बिक्री गरिनसकेको बताए ।
गुरुङले खरिदको लागि बैना गरिसकेको बताउँदा दुगडले बिक्री नभएको दावी गर्नुको कारण भने खुलेको छैन । ‘कुरा भएको छ, तर बिक्री गर्ने तहसम्म कसैसँग पनि कुरा भएको छैन’ दुगडले भने, ‘भाटभटेनीले किनेको भनेर भनिहाल्ने गरि कारोबार भएकै छैन ।’ व्यवसायी गुरुङले भने ५ तारे होटलसहित, मल र इन्टरटेनमेन्ट पार्कसमेत सञ्चालन गर्ने उद्देश्यले होटल सेन्चुरियनको खरिद गरेको बताए । मालपोत कार्यालयमा लिखत पास हुन भने बाँकी नै रहेको उनको भनाइ छ ।
होटल खरिद गरिसकेपछि पनि दुगडले सेयर लिन चाहेमा आफूले १० प्रतिशतसम्म दिनसक्ने गुरुङले बताएका छन् । होटल कम्पाउन्डमा ३ वटा छुट्टाछुट्टै भवन निर्माणाधीन छन् । सबैभन्दा ठुलो भवनमा बेसमेन्टसहित १० तला छन् । कुल १ बिघा ४ कट्ठाको कम्पाउन्डमा पार्किङ क्षेत्र पनि छ ।
होटलमा थप १ अर्ब २० करोड रुपैयाँ लगानी गर्ने जानकारी दिँदै गुरुङले सञ्चालनमा आउँदा लागत २ अर्ब ७५ करोड पुग्ने बताए । गुरुङका अनुसार दुगडले होटल सेन्चुरियनका नाममा निर्माण सुरु गरेको भएपनि भाटभटेनी ग्रुपको सञ्चालनमा आएपछि यसको नाम होटल भाटभटेनी हुनेछ ।दुगडले यसअघि होटल व्यवस्थापनको जिम्मा र्याडिसनलाई दिने सम्झौता गरेका थिए । भाटभटेनीले पनि त्यही सम्झौतालाई निरन्तरता दिने जनाएको छ ।
गुरुङले वैवाहिक गन्तव्य (म्यारिज डेस्टिनेसन)–को संस्कृति मौलाइरहेका बेला छिमेकी भारत र नेपालबाट आउने वैवाहिक कार्यक्रम पनि होटलका मुख्य बजार हुने बताएका छन् । होटलमा १ हजार जना अटाउने दुई वटा ब्यांकेट र अन्य पूर्वाधार रहेको उनको भनाइ छ ।गुरुङले हस्पिटालिटी क्षेत्रमा होटल अन्नपुर्णपछि दोस्रो ठुलो भेन्चरका रूपमा आउन लागेको होटल भाटभटेनी निर्माण सुरु भएको १८ महिनामा सञ्चालनमा आउने र ५ सयले रोजगारी प्राप्त गर्ने बताए ।
दुगडले विराटनगर प्रदेश राजधानी हुने र यहाँको व्यावसायिक वातावरण बढ्ने आँकलन गर्दै सन् २०१५ मा होटल सेन्चुरियनको शिलान्यास गरेका थिए । पछिल्लो समयमा एमालेको राजनीतिमा सक्रिय उनी कर नतिरेको लगायतका विवादमा पर्दै आएका छन् ।