विराटनगर । नेपाली काँग्रेसका नेता डाक्टर शेखर कोइराला पक्षले विराटनगरमा आजदेखि गर्ने भनेको पालिका सभापतिहरुको वृहत भेला नरोक्ने भएको छ ।
यसअघि सोमबार काँग्रेसको संस्थापन पक्षले कोशी प्रदेशका सबै जिल्ला सभापतिहरुलाई पत्राचार गर्दै औपचारिक रूपमा मंसिर २२ गतेदेखि आयोजना गरिएको भेला नै आधिकारिक हुने भन्दै घुमाउरो पारामा शेखर पक्षको भेला नरहेको जनाएको थियो । कोइराला पक्षका विराटनगर सभापति दिपक चापागाईंले भने, ‘यो भेला हामीले सोचि विचारी राखेका हौं । भेला रोक्नुपर्ने कुनै कारण छैन । केन्द्रले पत्रमार्फत भेला रोक्नु भनेको पनि छैन । केन्द्रीय समितिको कार्यक्रम नभएको विषय मात्रै पत्रमा उल्लेख छ । यो त पालिकाले गरेको हो ।’
उनले भेलामा सहभागि हुनका लागि १ सय १३ पालिकाका सभापतिहरुले नाम दर्ता गरिसकेको र केहीले नआउने भनेको जानकारी दिए । ‘हामीले गर्ने भनेको भेला निर्धारित समयमा हुन्छ । १ सय १३ पालिकाका सभापतिहरु आइसक्नु भएको छ,’ उनले भने । कोशी प्रदेशमा १३७ पालिका रहेका छन् ।
नेपाली काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पठाएको पत्रको कुनै अर्थ नहुने पनि उनले बताए । ‘केन्द्रीय कार्यालयको एक कर्मचारीले हामी नेतालाई कन्ट्रोल गर्न खोजेर हुँदैन । उहाँको हैसियत कार्यालय सहयोगी जस्तो हो । पार्टीका महामन्त्रीहरुबाटै त्यस्तो पत्र आएको भए अर्कै कुरा हुनेथियो,’ चापागाईंले भने । पौडेलले भने कोशी प्रदेशका सबै जिल्लाका सभापतिहरुलाई पत्राचार गर्दै मंसिर २२ गते आधिकारिक प्रदेशको सम्मेलन हुने र अन्य कार्यक्रम नभएको जनाएको थियो ।
काँग्रेस प्रदेश समितिका सभापति संस्थापन पक्षमा रहेका कृष्णप्रसाद सिटौला निकट उद्धव थापा छन् । थापा नेतृत्वको प्रदेश समितिले मंसिर २२ गते पहिलो सम्मेलन गर्ने तय गरेको थियो । त्यसअगाडि शेखर पक्षले भने मंसिर आज र भोलीका लागि प्रदेश राजधानी विराटनगरमै सभापतिहरुको भेला राखेको भन्दै पत्रकार सम्मेलन गरेको थियो । कोइराला पक्षले भने मोरङका १७ वटै स्थानीय पालिका कमिटीको आयोजनामा भेला गर्न लागेको जनाएको छ ।
मंसिर २२ गते हुने प्रदेश सम्मेलनमा सभापति शेरबहादुर देउवा प्रमुख अतिथि र अन्य पदाधिकारीहरू सहभागी हुने जनाइएको छ । कोइराला पक्षले गर्ने भनेको भेलामा भने डा। शेखर कोइराला प्रमुख अतिथि हुने जनाइएको छ । कोइराला पक्षले आज दिउँसो १ बजे विराटनगरको जैन भवनमा उद्घाटन गर्ने कार्यक्रम छ । उक्त भेलामा काठमाडौं, पोखरा, वीरगञ्ज, ललितपुर र भरतपुरका सभापतिहरुपनि सहभागी हुने कोइराला पक्षले जनाएको छ ।
मंसिर २२ को प्रदेश सम्मेलनमा भने प्रतिनिधिसभा क्षेत्रीय सभापतिहरू, महासमिति सदस्य, महाविधेशन प्रतिनिधि, पालिका सभापति, प्रतिनिधिसभा तथा प्रदेश अधिवेशन प्रतिनिधिहरू सहभागी हुने जनाइएको छ । बन्दसत्रमा ६४८ जना प्रतिनिधिहरू सहभागी हुने र सोही सत्रले कांग्रेस कोशीको राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदनमाथि छलफल गर्दै पारित गर्ने तयारी छ ।