कांग्रेस–एमाले गठबन्धनलाई हराउँदै पुथा उत्तरगंगामा माओवादी विजयी

विराटनगर । रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा सत्ता गठबन्धनका उम्मेदवारलाई हराउँदै माओवादी केन्द्र विजयी भएको छ ।

निर्वाचन आयोगका अनुसार उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार नरपुरा बुढा ३ हजार ६२७ मतसहित विजयी भएकी छन् ।

कांग्रेसकी उम्मेदवार केशकुमारी तुलाचनले २ हजार १२८ मत प्राप्त गरेकी छन् । कांग्रेस उम्मेदवार तुलाचन एमालेको महिला संगठनकी केन्द्रीय सदस्य हुन् । एमाले र कांग्रेसबीच गठबन्धन भएपछि एमालेकी नेता तुलाचन कांग्र‍ेसको चुनाव चिह्न लिएर उम्मेदवार बनेकी थिइन् ।

पालिकामा ११ हजार १८० मतदाता रहेकोमा ५ हजार ९३१ मत मात्र खसेको थियो । जसमा १७६ मत बदर भएको छ । गत भदौ २८ गते बागलुङमा जिप दुर्घटना हुँदा यसअघि माओवादी केन्द्रकै तर्फबाट उम्मेदवार भएका पालिका उपाध्यक्ष भूपेन्द्रा बुढा र २ नं. वडा अध्यक्ष जसबहादुर सिर्पालीको मृत्यु भएपछि उक्त दुई पद रिक्त भएका थिए ।

उपनिर्वाचनमा एमालेका तर्फबाट कांग्रेसको चुनाव चिह्न लिएर केशकुमारी तुलाचनलाई र माओवादी केन्द्रका तर्फबाट नरपुरा बुढालाई उम्मेदवार बनाएको थियो । वडाध्यक्ष पदमा भने उम्मेदवारी दिएका एमाले उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि यसअघि नै माओवादी केन्द्रका जगत घर्ती सर्वसम्मत निर्वाचित भइसकेका छन् ।

२०७९ को निर्वाचनमा माओवादी केन्द्रकी बुढा ४ हजार ५९ मतसहित विजयी भएकी थिइन् । त्यसबेला दोस्रो स्थानमा रहेकी कांग्रेसकी कमलाकुमारी मल्लले २ हजार १० मत ल्याएकी थिइन् भने एमालेकी उम्मेदवार धर्म घर्ती बुढाले १ हजार ८१२ मत ल्याएकी थिइन् ।

सोमबार, १७ मंसिर, २०८१, दिउँसोको ०३:१९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर