१ करोड ३५ लाखको सामान बोकेको ट्रक विराटनगरबाट नियन्त्रण

भन्सार छली गरेको आशंका, प्रहरीले बुझायो राजस्व

विराटनगर । भन्सर छली गरेको आशंमा प्रहरीले दुई वटा ट्रक नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगर भन्सार कार्यालयबाट सामान जाँचपास गराएर छुटेका २ वटा ट्रकलाई मंगलबार बिहान नियन्त्रणमा लिएको हो ।

राजस्व चुहाव गरिएको सूचनाका आधारमा प्रहरीले विराटनगर महानगरपालिका–१४ बाट ट्रकसहित चालकलाई बिहान १० बजेतिर नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिए ।
प्रहरीले प्रदेश १–०२–००२ ख ०४१६ ट्रकसहित चालक विराटनगर–१९ का २९ वर्षीय ललित सरदार तथा ना ४ ख ८८७४ नम्बरको ट्रकसहित चालक मोरङको कानेपोखरी गाउँपालिका–५ का ४६ वर्षीय दुखनलाल चौधरीलाई नियन्त्रणमा लिएको छ ।
राजस्व चुहावट गरेको विशेष सूचनाका आधारमा सामान लोड गरिएका २ वटा ट्रक र चालकलाई नियन्त्रणमा लिइएको हो । ट्रक भारतबाट सामान लिएर नेपाल प्रवेश गरेको प्रहरीले जनाएको छ । दुवै ट्रक विराटनगर भन्सार कार्यालयमा सोमबार जाँचपास गराएर छुटेका थिए ।
प्रज्ञापन पत्रमा उल्लेख गरिएको भन्दा बढी सामान ट्रकमा रहेको र भन्सार मूल्यांकन कम गरिएको आशंका छ । १ करोड ३५ लाख रूपैयाँ राजस्व चुहावट भएको सूचना प्रहरीलाई आएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए । नियन्त्रणमा लिइएका ट्रक र चालकलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको एसपी कार्कीले बताए । कार्यालयका अनुसन्धान अधिकृत सरोज कोइरालाका अनुसार ट्रकमा घरेलु तथा कृषिजन्य सामग्री छन् ।
भन्सार एजेन्ट अरुण खेतानमार्फत दुवै ट्रकको जाँचपास गराइएको कोइरालाले बताए । ‘भन्सार मूल्यांकन कम रहेको भन्दै प्रहरीले नियन्त्रणमा लिएर राजस्वलाई बुझाएको छ,’ उनले भने, ‘एउटै प्रज्ञापन पत्रमार्फत दुवै ट्रकको जाँचपास गराइएको छ ।’
सामानको आयातकर्ता कम्पनी विराटनगरको बागमती इन्टरप्राइजेज रहेको कोइरालाले बताए । बागमती इन्टरप्राइजेजका संचालक लक्ष्मीकुमार राठी हुन् । राजस्वका अनुसन्धान अधिकृत कोइरालाले जाँचपासका क्रममा राजस्व चुहावट गरिएको छ कि छैन भनेर अनुसन्धानपछि यकिन हुने बताए ।

मङ्गलबार, ०८ असोज, २०८१, रातीको ०९:०९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर