कसरी भाग्छन् सुधारगृहका बालबालिका ?

विराटनगर । कमजोर भौतिक संरचनाको फाइदा र क्षमताभन्दा चार गुणा बढि बिझ्याइँकर्ताका कारण विराटनगर–३ स्थित बालसुधार गृहमा राखिएका बालकहरू बर्र्सेनि भाग्ने गरेको पाइएको छ ।जीर्ण भवन, कम्पाउन्ड वाल कमजोर र होचो भएको कारण विभिन्न अपराध गरेर बसेका बिझ्याइँकर्ताहरु भाग्ने गरेको पाइएको हो ।

मंगलबार दिउँसोे बाल सुधार गृहबाट दुई जना बालक फरार भएको दुई दिन बितिसक्दा पनि उनीहरु अझै पक्राउ परेका छैनन् । कर्तव्य ज्यान तथा डाँका मुद्दामा दोषी ठहर भएका र अर्का जबरजस्ती करणी (बलात्कार) मुद्दाका बिझ्याइँकर्ता बिहीबार साँझसम्म फक्राउ नपरेका हुन् ।

१६ वर्ष उमेरका दुवै जनालाई बाल सुधारगृहमा राखिएको थियो । उक्त सुधार गृहमा कानुनको विवादमा परेर अदालतबाट दोषी ठहर भएका तथा अनुसन्धान गर्नुपर्ने बालकहरुलाई राख्ने गरिएको छ ।

तीन वर्ष अगाडि पनि दुई जना बन्दी बालक फरार भए । ज्यान मार्ने उद्योग र जबरजस्ती करणी आरोपमा पूर्पक्षकालागि सुधार गृहमा राखिएको १७ वर्षीय दुई बालक तीन तला माथिबाट फाल हानेर फरार भएका थिए । मोरङ र झापा घर भएका तामाङ र पराजुली थरका ती बालकहरु बाल बिझ्याइँकर्ताको आरोपमा करिब एक वर्षदेखि विराटनगर ३ स्थित बालसुधार गृहमा बन्दी थिए । उनीहरु सुधार गृहको तीनतलामाथि टीभी हेर्ने बहानामा गएर झ्यालको ग्रिल निकालेर फरार भएको खुलेको थियो । फरार भएका उनीहरूलाई मोरङ प्रहरीले पाँच दिनपछि झापाबाट पक्राउ गरेर ल्याएको थियो ।

केही वर्ष अगाडि पनि विहान २ः५५ बजे चार जना बालक फरार भए । फरार भएका चार जनलाई पछि प्रहरीले पक्राउ गरेको थियो । फरार भएका तीन जना जवरजस्ती करणी मुद्दामा कैद सजाय तोकिएर कैद भुक्तान गर्दै आएका बिझ्याइँकर्ता हुन् भने एक जना हातहतियार खरजना मुद्दामा पूर्पक्षको लागि थुनामा रहेका बन्दी थिए । उनीहरूको घर सोलुखुम्बु, संखुवासभा, उदयपुर र झापा हो ।

बाल गृहमा विभिन्न अपराधमा संलग्न भएका कोशी प्रदेशका बाल बिझ्याइँकर्तालाई राख्ने गरिन्छ । ५० जना क्षमताको बालसुधार गृह हो । तर अहिले गृहमा झण्डै चार गुणा बढि अर्थात २३८ जनालाई राखिएको छ । क्षमताभन्दा बढी बाल बिझ्याइँकर्ता रहेको बालसुधार गृहको भौतिक संरचनाको अवस्था एकदमनै दयनीय र कमजोर रहेको गृहका इन्र्चाज मिलन चौहानले बताए । ६ फिटको पर्खाल रहेको भौतिक संरचना अभाव र विभिन्न समस्याका बिचमै ५० जना क्षमताको गृहमा २३८ जनालाई राख्नुपरिरहेको उनको भनाइ छ । संरचनाकै समस्याका कारण बाल बिझ्याइँकर्तालाई राख्न ठूलो चुनौती रहेको उनले बताए । ‘एक त क्षमता भन्दा बढी राखिएको छ । त्यसमा पनि जीर्ण र पुरानो संरचना हुँदा हामीलाई सुरक्षा लगायत धेरै हिसाबले समस्या रहेको छ,’ उनले भने ।

उनका अनुसार नौ वटा कोठा र एउटा हल रहेको गृहमा एउटा कोठाभित्र २५ जनासम्मलाई राख्नुपरिरहेको छ । विभिन्न अपराधिक घटनामा संलग्न भएर अदालतले कैद सजाय र पूर्पक्षको लागि थुनामा पठाएको बालकहरुलाई बालसुधार गृहमा राख्ने गरिएको छ ।

अदालतले बिझ्यार्इँ गरेको ठहर भएका १८ वर्षमुनिका बालबालीकालाई सुधार गृहमा राखेर मनोवैज्ञानिक र व्यवहार परिवर्तन ल्याउने गरिन्छ । बिझ्याइँ गर्ने बालबालिकालाई समाजमा फेरि पुनःस्थापित गराउन यस्तो यस्तो गरिएको हो । तर, बाल गृहमा क्षमता भन्दा बढि बिझ्याइँकर्ता हुँदा समस्या आएको चौहानले बताए ।

‘१८ वर्षमुनिकालाई बालबालिका भनिन्छ । बिझ्याइँ गरेका वा कानुनले विवादमा परेका बालबालिकालाई कानुन बमोजिम बालसुधार गृहमा राखी निगरानी गर्नुपर्छ । तर, हाम्रा बालसुधार गृहमा १८ वर्षमाथिका युवा पनि छन् । कानुनी विवादमा परेका बालबालिकाको संरचनामा युवाहरूलाई राख्न खोज्दा बालसुधार गृहहरू असुरक्षित बन्दै गएका छन,’ चौहानले भने, ‘यसले सुधार गृहमा बस्ने बालबालिका, युवा र व्यवस्थापन समिति तीनै पक्षलाई असर गरेको छ ।’

वयस्क व्यक्तिले फौजदारी कसुर गरे अपराध मानिन्छ । बालबालिकालाई भने अपराध नभई बिझ्याइँ मात्रै मानेर सुधारगृहमा पठाइन्छ । आगामी दिनमा आपराधिक गतिविधिमा संलग्न नहोऊन् भनी बाल बिझ्याइँकर्ताहरूलाई सुधारगृह राख्ने हो । त्यस्ता बालबालिकालाई मनोपरामर्श दिएर सीप र शिक्षासहित समाजमा पुनःस्थापना गरिनुपर्ने उनले बताए । ‘बालबालिकासम्बन्धी ऐनमा सुधारगृहमा रहने क्रममा बालबालिकाको उमेर १८ वर्ष नाघेमा अलग्गै राख्नुपर्ने उल्लेख छ । तर, कहाँ राख्ने भन्नेमा कानुन स्पष्ट छैन । त्यसैले १८ वर्ष पुग्नुअघि कानुनी विवादमा परेका बालबालिकाले बालिग भए पनि बालसुधार गृहमै कैद भुक्तान गरिरहेका छन् । बाल न्यायका मुद्दा अदालतमा अल्झिरहँदा पनि बालसुधार गृहमा युवा बढेका हुन् । बाल न्यायमा छिटोछरितो प्रक्रियाबाट मुद्दा निरूपण हुनुपर्छ,’ उनले भने ।

शुक्रबार, ०७ भदौ, २०८१, बिहानको ०७:३९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर