आवारा युवाबाट ज्ञानचन्दको हत्या

विराटनगर । आवारा भएर हिंडडुल गर्ने सुनसरीको गढी गाउँपालिका– ६ घर भएका ४६ वर्षीय रिङ व्यवसायी ज्ञानचन्द ऋषिदेवको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । गढी गाउँपालिका २ सखुबारेका ३० वर्षीय चन्दन ऋषिदेवले व्यवसायी ज्ञानचन्दको क्रुर तरिकाले हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।

आवारा रुपमा हिंडडुल गर्ने र मागेर गुजारा चलाउने चन्दन ऋषिदेवले स्थानीय व्यवसायी ज्ञानचन्दले जग्गा भाडामा लिएर रिङ बनाउने घरेलु उद्योग सञ्चालन गरेको ठाउँमा सुत्न नदिएको रिसमा हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । ज्ञानचन्दले सुत्न नदिएपछि रिसाएका उनले ज्ञानचन्दको गर्धनमा फरुवाले पटक–पटक प्रहार गरी दुई टुक्रा पारिदिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्ग्मीले जानकारी दिए । ‘हत्या हुनुभन्दा दुई दिन अगाडिदेखि ज्ञानचन्दले चन्दनलाई आफ्नो रिङ बनाउने ठाउँमा सुत्न नदिएका रहेछन् । उनले त्यहाँबाट गालीगौज गरी हटाएका थिए । ज्ञानचन्द रिङ बनाउने ठाउँमा सुतेका रहेछन् । त्यही मौका छोपेर आँगनमा रहेको फरुवाले पटक पटक प्रहार गरेर हत्या गरेको देखिन्छ,’ एसपी रेग्मीले भने, ‘उनीहरुबीच पुरानो रिसइबी पनि देखिन्छ । त्यस विषयमा पनि हामी अनुसन्धान गरिरहेका छौं ।’

हत्या आरोपी चन्दनको एकहोरो स्वभाव रहेको प्रहरीले जनाएको छ । ‘रिङ बनाउने ठाउँमा जस्तापाताले छाएको दुई कोठाको घर छ । त्यसमा लामो समयदेखि चन्दन राति सुत्ने गरेका थिए । यी स्थानलाई उनले आफ्नो स्थायी बासस्थान ठान्ने गरेका रहेछन् । केही दिन अगाडि ज्ञानचन्दले हटाएपछि हत्या गरिदिएको उनले स्वीकार गरेका छन्,’ घटनाको अनुसन्धान गर्दै आएका प्रहरी अधिकृतले भने ।

हत्यागरेपछि घनास्थलमै

ज्ञानचन्द ऋषिदेवको सोमबार बिहान दुई टुक्रा भएको अवस्थामा गढी गाउँपालिका २ थलाहामा शव भेटिएको थियो । शव भेटिएको स्थान ऋषिदेवको घरदेखि करिब एक किलोमिटर नजिकमा पर्दछ ।

थलाहामा टाउकोदेखि मुनिको भाग भेटिएको थियो । शरीर भेटिएको ठाउँबाट करिब ११६ मिटर उत्तर पश्चिम किर्तेलाल चौधरीको खेतको आलीमा टाउको भेटिएको थियो । घटनास्थलममा उपस्थितमध्ये शंकास्पद गतिविधि देखाएपछि चन्दनलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । ‘चन्दनले लगाएको बुट्टे हाफ सर्ट र गन्जीमा रगत जस्तो पदार्थ लागेको टाटा देखिएको थियो । प्रहरीले अनुसन्धान गर्दै गएपछि कोदालोले पटक पटक प्रहर गरी टाउको छिनाएर हत्या गरेको उनले स्वीकार गरेका थिए । त्यसपछि घटनामा प्रयोग भएको कोदालोसमेत देखाइदिएका थिए,’ यस घटनाको अनुसन्धान गर्दै आएका एक प्रहरी अधिकृतले भने ।

हत्या आरोपमा पक्राउ परेका ऋषिदेवलाई इलाका प्रहरी कार्यालय दुहबीले सुनसरी जिल्ला अदालतमा मंगलबार कर्तब्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको छ । यस घटनामा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर रिटको टोली, सुनसरी प्रहरी र इप्रका दुहबीका प्रहरी निरीक्षक मोहन पोखरेलको नेतृत्वको टोलीले अनुसन्धान गर्दै आएको छ ।

बुधबार, ०५ भदौ, २०८१, बिहानको ०८:२५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर