कोशी पुलबाट हामफालेर सुनसरीको धरानका युवा बेपत्ता

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका १७ बस्ने २७ वर्षीय सुनिल साह सुनसरी र उदयपुर जोड्ने कोशी नदीको पुलबाट हाम फालेर बेपत्ता भएका छन् ।

साह सोमबार अपरान्ह ४ बजेर ३७ मिनेटमा पुलमै स्कुटर राखेर नदीमा हाम फालेको कोशी पुलस्थित प्रहरी बिटमा राखेको सिसी टिभीमा देखिएको छ ।

स्कुटर, हेलमेट, मोबाइल, पर्स र घडी कोशी पुलमै छाडेर उनी नदीमा हाम फालेका थिए । प्रहरीका अनुसार उनी सुनसरी र उदयपुर जोडने चतरा स्थित कोशी को ९ प ९८६५ नम्बरको स्कुटरमा उनी चतरातर्फबाट पुगेका थिए ।

प्रहरीका अनुसार कोशीमा हाम फाली बेपत्ता भएका सुनिलका मामा धरान १७ का गोबानध्वज नेपालीले हाम फाल्ने सुनिल भएको जानकारी दिएका हुन् । मोबाइल र सिम कार्डमा आधारमा हेर्दा हाम फाल्ने व्यक्ति आफ्नो भान्जा सुनिल रहेको उनले पुष्टि गरेका हुन् ।

बुवा आमा नभएका सुनिल मामाघरमै बस्दै आएका थिए । विवाहपश्चात् उनी धरान १७ को मामाघर छोडेर धरान १६ मा डेरा लिएर श्रीमतीसँग बस्दै आएको परिवारले जनाएको छ । उनी गृल सम्बन्धी काम गर्ने गर्दथे ।

यसअघि गत असरा २१ गते जलसमाधी लिन भन्दै सम्पर्कविहीन भएका सुनसरीको इटहरीका प्रतिष्ठित समालोचक रामजी तिम्सिना अझैसम्म पत्ता लाग्न सकेका छैनन् । त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापकसमेत रहेका तिम्सिना बराहक्षेत्रमा जलसमाधी लिन जाने जानकारी गराएर बेपत्ता भएका थिए ।

मङ्गलबार, ०४ भदौ, २०८१, बिहानको ११:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर