कोशी प्रदेशको प्रदेशसभा बैठक अझै अनिश्चित

कांग्रेसको आग्रहमा प्रदेशसभा बैठक रोकिएको मुख्यमन्त्रीको भनाइ

विराटनगर । २०८१ असार ८ गते बसेर अर्को सूचना नआएसम्मका लागि स्थगित भएको कोशी प्रदेशसभाको बैठक कहिले बस्छ अझै अन्यौल छ । असार ८ गतेको बैठकमा आर्थिक वर्ष २०८१–०८२ को बजेट पारित गरेपछि स्थगित भएको बैठक चाँडै बस्छ भन्ने प्रतिक्रियाबाहेक सरकारसँग स्पष्ट जवाफ छैन ।

बजेट पारित भएको एक हप्तापछि केन्द्रीय समीकरणमा फेरबदल हुँदा कांग्रेस र एमाले मिलेका थिए । त्यसपछि एक्लिएको माओवादी केन्द्र प्रदेश सरकारबाट गत साउन ११ गते बाहिरिसकेको छ । माओवादी सरकारबाट बाहिरिए पनि कांग्रेस सरकारमा सहभागी हुने सुरसार अझै देखिएको छैन । नेपाली कांग्रेस सरकारमा सहभागी भएपछि मात्रै प्रदेशसभा बैठक राख्ने बारेमा टुंगो हुने मुख्यमन्त्री हिक्मतकुमार कार्की बताउँछन् । ‘उहाँहरु (कांग्रेस) ले केही दिन प्रदेश सभाको बैठक रोकौं भन्नु भएको छ । त्यही कारण रोकिएको हो । सम्भवतः भदौको पहिलो साता प्रदेशसभा बैठक बोलाउँछौं,’ मुख्यमन्त्री कार्कीले आइतबार पत्रकारहरुसँग भने ।

कांग्रेस कोशी प्रदेशका उपसभापति रमेशजंग रायमाझीले पनि आफ्नो पार्टी सरकारमा सहभागी नभएसम्मका लागि प्रदेशसभा बैठक नबोलाएको हुनसक्ने बताए । ‘मुख्यमन्त्रीज्यूलाई पनि अप्ठ्यारो भएको होला । सरकारको मुख्य पार्टनर दल नै सरकारमा नआई महत्वपूर्ण निर्णय किन गर्नु भन्ने होला,’ उनले भने । कांग्रेसमा मन्त्री बन्नेहरुको नामावलीको टुंगो लागिसकेको भएपनि डाक्टर शेखर कोइराला पक्षबाट दुई मन्त्रालय माग हुँदा सरकारमा जान ढिलो भएको उनी बताउँछन् । ‘कांग्रेस सरकारमा गएपछि संसद बैठक पनि बोलाइन्छ होला,’ उनले भने ।

उता, प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले भने प्रदेशसभाको बैठक छिटो डाक्न माग गरिरहेको छ । कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले कांग्रेस र एमालेको असक्षमताले बाढी, पहिरो, डुबानलगायत प्राकृतिक विपत्ति, नीति कार्यक्रम र नयाँ बजेट कार्यावन्यन लगायतका विषयमा छलफल र सरकारको ध्यानाकर्षण गराउने जनप्रतिनिधिको मुख्य थलो प्रदेशसभा बन्धक भएको बताएका छन् ।

उनले प्रदेश निजामती ऐनलाई संसोधन गर्न बनेको विधेयक, तत्कालीन सरकारले केही प्रदेश ऐन संसोधन गर्न ल्याएको अध्यादेश अस्विकृतसँगै निस्कृय रहेका ऐनहरु पुनस्र्थापित गर्ने विधेयकलगायत अत्यावश्यक विधेयकहरु प्रदेशसभामा अलपत्र परेको भन्दै तत्काल बैठक बोलाउन माग गरेका हुन् । ‘बिना कुनै बहाना तत्काल प्रदेशसभा सुचारु गर्न मुख्यमन्त्री र सभामुखज्यूको गम्भीर ध्यानाकर्षण गराउँछु,’ उनले भने ।

यस्तै माओवादी केन्द्रका सांसद जीवन आचार्यले पनि दुई तिहाई बहुमतको भारमा प्रदेशसभा थिचिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । ‘जनताको आवाज जनताद्वारा चुनिएका जनप्रतिनिधिद्वारा उठाउने थलो कोशी प्रदेशसभा (संसद) लामो समयदेखि बन्द छ । दुई तिहाई बहुमतको भारमा थिचिएर रुमल्लिएको प्रदेश सरकार र सम्बन्धित सरोकारवालाको ध्यानाकर्षण होस्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रदेशसभामा नेकपा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रको १३, राप्रपाको (सभामुखसहित) ६, नेकपा (एकीकृत समाजवादी) को ४ र जसपाको एक सांसद छन् । दुई पार्टीबीचको सहमति अनुसार कोशी प्रदेशमा एमालेले मुख्यमन्त्रीसहित पाँच र कांग्रेसले चार मन्त्रालय लिने सहमति भएको छ । तर, कांग्रेसकै आन्तरिक गुटबन्दीका कारण चार मन्त्रालयमा नाम दिन सो पार्टीले सकेको छैन । भदौको १–२ गतेसम्ममा आफ्नो पार्टीले नाम दिइसक्ने रायमाझी बताउँछन् ।

मङ्गलबार, २९ साउन, २०८१, बिहानको ०७:४२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर