इटहरी । नेकपा एमाले निकट अनेरास्ववियु सुनसरी जिल्ला कमिटीको २३औँ अधिवेशन विवादित भएपछि समानन्तर कमिटि बनेको छ ।
सर्वसम्मत नेतृत्व चयन गर्ने भन्दै बन्दसत्र स्थगित गरेको तीन सातापछि एकै पटक दुई वटा कमिटी गठन भएका हुन् ।
अध्यक्ष मण्डलका अध्यक्ष तथा प्रदेश अध्यक्ष जीवी गजल र केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्ज रोशन रेग्मीले फरक–फरक कमिटी घोषणा गरेका छन् । गजलले उज्ज्वल सिग्देलको नेतृत्वमा कमिटी गठन गरेको सार्वजनिक गर्न नपाउँदै रेग्मीले शेखर रेग्मीलाई अध्यक्ष र उज्ज्वल सिग्देललाई उपाध्यक्ष बनाएर समानान्तर कमिटी गठन गरेका हुन् ।
यसअघि अध्यक्ष मण्डलको सहमतिमा ५१ सदस्य कमिटी निर्वाचित भएको थियो । सोही कमिटी बाट पदाधिकारी तथा सदस्य छनौट गर्ने सहमति बमोजिम बहुमत सदस्यको हस्ताक्षरमा इन्चार्ज रेग्मीले नयाँ कमिटी घोषणा गरेका हुन् ।
शेखर रेग्मी अध्यक्ष रहेको कमिटीको उपाध्यक्षमा उज्वल सिग्देल र सन्तोष तामाङ छन् भने सचिवमा आदर्श पोख्रेललाई राखिएको छ । यस्तै सह–सचिवमा एनिस रेग्मी, रुजु राई, इबेश डाँगी र चित्रमान राई चयन हुँदा कोषाध्यक्षमा सङ्कल्प खतिवडा र कार्यालय सचिवको जिम्मेवारी सुनिल सुब्बालाई प्रदान गरिएको छ ।
अनेरास्ववियु सुनसरीको साउन ४ र ५ गते २३ औ जिल्ला अधिवेशन भएको थियो । अनेरास्ववीयुका केन्द्रीय अध्यक्ष समिक बडालले उद्घाटन गरेको अधिवेशनले पदाधिकारी चयन गर्न नसकेपछि स्थगित भएको थियो ।
पदाधिकारी चयनमा विवाद उत्पन्न भएर नेतृत्व चयन नगरी अधिवेशन सम्पन्न भएपछि एमाले सुनसरीले यस विषयमा कार्यदल समेत बनाएको थियो । कार्यदलको सुझावका आधारमा उज्ज्वल सिग्देलको अध्यक्षतामा पदाधिकारी घोषणा गरेको प्रदेश अध्यक्ष गजलले दाबी गरेका छन् ।
गजलले घोषणा गरेको कमिटीको उपाध्यक्षमा शेखर रेग्मी, आदित्य खड्का, सुनिल सुब्बा छन् । सुरज भट्टराईले सचिवको जिम्मेवारी पाएका छन् भने सह सचिवमा चित्रमान राई,अरुण चौधरी र आदर्श पोखरेल चुनिएका छन् । कोषाध्यक्षको जिम्मेवारी मन्दिरा लिम्बुले पाएकी छन् ।