कृषि एक्स्पोको तयारी तीव्र

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले आउँदो भदौ २७ देखि ३० गतेसम्म कटहरी कृषि थोक बजारमा आयोजना गर्न लागेको कृषि एक्स्पोको तयारीलाई तीव्रताका साथ अगाडि बढाएको छ ।

कृषि एक्स्पोको प्रचारप्रसारका लागि महासंघका अध्यक्ष राजेन्द्र राउतसमेतको टोलीले विभिन्न ठाउँमा पुगिरहेको छ । यसैक्रममा अध्यक्ष राउत नेतृत्वको टोलीले इलामको सूर्योदय नगरपालिका र झापाको विर्तामोडमा त्यस क्षेत्रका उद्योग वाणिज्य संघ, विभिन्न वस्तुगत संघ, नगरपालिकाका प्रमुख तथा प्रतिनिधिहरु, कृषि व्यवसायी तथा कृषकहरुसँग छलफल गरेको छ ।

छलफलमा अध्यक्ष राउतले विगतमा काठमाडौं र चितवनमा मात्र सीमित रहेको कृषि एक्स्पो पहिलो पटक नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले आयोजना गर्न लागेको जानकारी दिए ।

उक्त एक्स्पोलाई प्रदेश सरकार, कोशी प्रदेश, उद्योग, कृषि तथा सहकारी मन्त्रालय, नेपाल सरकार र स्वीस सरकार विकास सहयोग रहेको छ । यस्तै नेपाल कृषि बजार विकास कार्यक्रम(सहज) र कटहरी गाउं पालिकाको सहकार्यमा कृषि एक्स्पो हुन लागेको हो ।

एक्स्पोमा कृषिका नवीनतम प्रविधि, कृषि व्यवसायका उत्पादन, पशुपंक्षीका दाना, भेटनरी लगायतका वस्तुहरुको प्रदर्शनी हुनका साथै कृषि विज्ञबाट प्यानल डिस्कशन, बि टु बी छलफलका लागि भारतको विहार राज्यबाट समेत कृषि विज्ञहरु आउने जानकारी राउतले दिएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले पहिलो पटक कृषि एक्स्पोको आयोजना गर्न गइरहेकोमा सूर्योदय नगरपालिकाका प्रमुख रणवहादुर राईले खुसी व्यक्त गरे । उनले इलामका उत्पादनहरुलाई एक्स्पोमा राख्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा सहभागी ताप्लेजुंग, पाँचथर, इलाम, झापा लगायत विभिन्न उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरु सहभागी थिए । उनीहरुले एक्स्पोमा कोशी प्रदेशमा उत्पादन भएका कृषिजन्य वस्तु, प्रविधि, कृषि औजारको प्रर्दशनी गर्ने व्यवस्था मिलाउन आग्रह गरेका थिए ।

यसैगरी विर्तामोड उद्योग वाणिज्य संघकामा भएको अन्तरक्रिया कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य श्री नरेन्द्रकुमार खडकाले कृषि एक्स्पो कोशी प्रदेशका लागि एउटा उत्साह भएकोले सवैले मिलेर सफल बनाउनु पर्ने बताए ।

आइतबार, २७ साउन, २०८१, रातीको ०९:३९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर