धरानको खानेपानी विवादमा सहमतिः आन्दोलन स्थगित

विराटनगर । सुनसरीको धरानस्थित खानेपानी बोर्ड र स्थानीयबीच देखिएको विवाद तत्कालका लागि समाधान भएको छ ।

खानेपानी बोर्डले खानेपानी महशुल वृद्धिको निर्णय गरेपछि त्यहाँका १० राजनीतिक दल तथा नागरिक समाजले आन्दोलन गर्दै आएका थिए ।

नगरप्रमुख हर्कराज राईसहितको उपस्थितिमा खानेपानी बोर्ड र दश दलीय संयुक्त संघर्ष समितिबीच आइतबार वार्ता भएको थियो । वार्तामा खानेपानी तथा सेवा महशुल निर्धारण आयोगलाई लिखित पत्र पठाई जवाफको आधार मान्ने र अहिले पुरानै महशुल दर यथावत राख्ने सहमति भएको छ ।

धरान खानेपानी व्यवस्थापन बोर्डको पूर्णताको विषयमा उच्च अदालतमा मुद्दा विचाराधिन रहेकोले अदालतबाट आउने आदेश अनुसार गर्ने र खानेपानी बोर्डको आयव्यय विवरण सात दिनभित्र सार्वजनिक गर्ने सहमति पनि भएको छ । सहमतिमा नगरप्रमुख साम्पाङसहित उपप्रमुख आइन्द्रविक्रम बेघा तथा राजनीतिक दलका प्रतिनिधिहरुले हस्ताक्षर गरेका छन् ।

खानेपानीमा अस्वभाविक मूल्य वृद्धि गरेको विरोधमा सुनसरी धरानका १० दलले केही दिनयता आन्दोलित बनेका थिए । खानेपानी बोर्डका अध्यक्षसमेत रहेका नगर प्रमुख हर्कराज राई भने महशुल वृद्धिको निर्णय फिर्ता नहुने अडानमा थिए । बोर्डको बैठक नबसी एकलौटी रूपमा नगरप्रमुखले बोर्डका अध्यक्षको हैसियतले निर्णय गर्दै खानेपानीको महसुल तथा शुल्क अवैज्ञानिक रूपमा वृद्धि गरेको १० दलको आरोप थियो ।

खानेपानी बोर्डले जारी गरेको नयाँ निर्णय अनुसार खानेपानी महशुलसँगै अन्य क्षेत्रमा पनि शुल्क वृद्धि गरिएको छ । जसमा जडान, होल चेन्ज, नामसारी, मर्मत तथा चेकमा महशुल वृद्धि भएको थियो ।

आइतबार, २७ साउन, २०८१, रातीको ०९:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर