विराटनगर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्न माग गरेका छन् । नेपाली काँग्रेसको जारी केन्द्रीय समितिको बैठकमा १३ बुँदे लिखित धारणा राख्दै उनले यस्तो माग गरेका हुन् ।
परम्परागत चलिआएका धर्म संस्कृतिको संरक्षण र सम्बद्र्धनमा ठोस कदम नचाले देश अगाडि बढ्न नसक्ने भन्दै पराजुलीले नेपाललाई वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्न माग गरेका हुन् । उनले विगतदेखि नै काँग्रेस बैठकमा हिन्दु राष्ट्र घोषणाको माग गर्दै आएका छन् ।
बंगलादेशमा भएको सत्ता उलटफेरमा आम जनताको भावनाको कदर गर्दै जुनसुकै अर्थमा पनि लोकतन्त्र बहाल हुनुपर्ने भन्दै पराजुलीले त्यसबाट हाम्रो देशका नेताहरुले जनभावना बुझेर काम गर्नुपर्ने बताएका छन् । उनले बंगलादेशमा पछिल्लो समय भइरहेको हिन्दु विरोधी गतिविधिप्रति भत्र्सना गरेका छन् ।
पराजुलीले समानुपातिक र समावेशी प्रतिनिधित्व नघट्नेगरी राष्ट्रियसभामा व्यवस्थापन गर्ने, संघीय संसद र प्रदेश संसद तथा स्थानीय कार्यपालिकाको सिट संख्या घटाउनुपर्ने र जिल्ला संरचना हटाउनुपर्ने प्रस्ताव पनि गरेका छन् । समयमै विकास निर्माण कार्य गर्ने ठेकेदारलाई पुरस्कृत गर्ने र जानीजानी ढिलो गर्नेलाई आर्थिक जरिवानाको कानुनी प्रावधान बनाउनुपर्नेमा उनले जोड दिएका छन् ।
वैदेशिक लगानी भित्र्याउने प्रयोजनमा के कस्ता बहुराष्ट्रिय कम्पनीहरूले नेपालकै कच्चा पदार्थहरू प्रयोग गर्छन् ? नेपालीहरूलाई शिप र दक्षता प्रदान गर्छन् ? ती कम्पनीहरूको अन्तर्राष्ट्रिय रेपुटेसन कस्तो छ ? मुल्याङ्कन गरेर मात्रै ल्याउनुपर्ने पराजुलीको मत छ । उनले आफ्नै देशका कच्चा पदार्थहरूमा आधारित वस्तु र सेवाहरू उत्पादन गर्न सके मात्र दिगो विकास हुने बताउँदै स्वदेशी वस्तु र सेवालाई प्रवद्र्धन गर्ने उत्पादन नीति बनाउनुपर्नेमा जोड दिएका छन् ।