नेप्सेको कारोबार रकम र गिरावटमा बन्यो रेकर्ड

विराटनगर । साताको दोस्रो कारोबार दिन सोमबार नेपाली धितोपत्र बजारमा हालसम्मकै उच्च कारोबार हुँदा गिरावटको अंक पनि हालसम्मकै उच्च भएको छ ।

मंगलबार नेप्सेमा ३२२ स्टकको २ लाख ७१ हजार ५८७ पटकको कारोबारमा २३ अर्ब ७१ करोड ६७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भयो । यो नेप्सेकै इतिहासको उच्च कारोबार हो ।

यसअघि गत साताको बुधबार (साउन १६ गते) नेप्सेको भोल्यूमले नयाँ रेकर्ड बनाएको थियो । सो दिन नेप्सेमा २१ अर्ब ९१ करोडको शेयर कारोबार भएको थियो । यस दिनको भोल्यूमले सो दिनको रेकर्ड तोडेको हो ।

सोमबार कारोबारले रेकर्ड कायम गर्दा नेप्सेको गिरावट अंकले पनि रेकर्ड कायम गरेको छ । यस दिन नेप्से परिसूचक ५.१८ प्रतिशत अर्थात १४५.०५ अंक घटेको छ । एकैदिनमा उति उच्च अंकको गिरावट पनि पहिलो हो ।

बजारको खुलेको केहि समयमा २८०० अंक क्रम गरेको नेप्से अन्तिममा २६५१.३२ विन्दुमा झरेर बन्द भएको छ । यस दिन सेन्सेटिभ इण्डेक्स २७.२२ अंक घटेको छ भने फ्लोट इण्डेक्स १०.५३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ९.९१ अंक घटेको छ ।

नेप्से उच्च अंक घटेपनि यस दिन थ्रिस्टार हाइड्रोपावर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन सो कम्पनीको शेयरमूल्य ६८ रुपैयाँ ६० पैसा बढेर ७५४ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ। अन्य स्टकहरुको मूल्य वृद्धिदर भने ४ प्रतिशतभन्दा कम रहेको छ ।

यस दिन करिब एक दर्जन स्टकको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन नेपाल फाइनान्स, गोर्खाज फाइनान्स, सेन्ट्रल फाइनान्स, पञ्चकन्या माई हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, शुभम पावर, हाथवे इन्भेष्टमेन्ट, ओरियन्टल होटल सानिमा बैंक, हिमालय बैंक लगायतको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन १ अर्ब ३९ करोड ७८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, यस दिन नेपाल रि इन्स्योरेन्सको ४८ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने सिईडिबी हाइड्रोपावरको ४३ करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये वित्त र होटल तथा पर्यटन उपसमूहको परिसूचक ८ प्रतिशतभन्दा धेरै घटेको छ । त्यस्तै, यस दिन लगानी र जीवन बीमा उपसमूहको परिसूचक ६ प्रतिशतभन्दा धेरै घटेको छ भने बैंकिङ्ग, विकास बैंक र निर्जीवन बीमा उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा धेरै घटेको छ।

मङ्गलबार, २२ साउन, २०८१, दिउँसोको ०४:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर