विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) विराटनगर महानगर कमिटीका सचिव रोहित कोइरालाले वडा नं ५ का अध्यक्ष राजेश गिरीलाई साउन १६ गते सचेत गराइएको पत्र पठाए । पत्रको भाषा अपमानजनक र पार्टी नीति विपरीत भएको भन्दै गिरीले त्यसको प्रतिवाद गरे । उनी ‘आफन्तको मरिमराउमा सहभागी हुन गएकै दिन डाकिएको’ बैठकमा अनुपस्थित थिए ।
पार्टीका जिल्ला अध्यक्ष बाबुराम र सचिव रविन थापा उपस्थित भएको बैठकमा अनुपस्थित भएको भन्दै कोइरालाले ‘नियतबस उपस्थित नभएको पइएकोले अब आइन्दा यस्ता क्रियाकलाप सचेत गराउँदै दुई दिनभित्र लिखित पत्र पठाउन’ निर्देशन दिएका थिए ।
बैठकमा अनुपस्थित भएको कारण देखाएर कोइरालाले ‘दुई दिनभित्र लिखित जवाफ दिन निर्देशन’ दिएका थिए । तर, गिरीले चिठीको जवाफ दिएनन् बरु पार्टी कार्यालय पाञ्चाली पुगेर जिल्ला इञ्चार्ज, पार्टीका जिल्ला अध्यक्ष र महानगर कमिटी कोइराला सहभागी छलफलमै ‘चिठी च्याति दिए’ दिए ।
“पार्टी विधि विधान विपरीत एक पटक त्यसमा पनि परिस्थितिजन्य कारण अनुपस्थित हुँदा स्पष्टीकरण सोध्नै मिल्दैन,” गिरीले भने,“मलाई कुन विधि प्रक्रिया अनुसार चिठी काटेको हो भन्दै सिचिवकै अगाडि चिठी च्यातेर फ्याँकिदिएँ । जिल्ला अध्यक्ष बाबुराम कार्की, इन्चार्ज तथा केन्द्रीय सदस्य जीवन घिमिरे पनि छलफलमा हुनुहुन्थ्यो ।” महानगरले अपमानजनक ढंगले पठाएको पत्र पठाएर गलत गरेको र यसबारे आफूहरुसित पनि छलफल नगरेको इन्चार्ज घिरिमेले बताउँदै स्पष्टीकरण दिई रहनु नपर्ने बताएको गिरीले सुनाए ।
आफ्नो ‘अनुकूलको मानिस भएन’ भनेर अहिले महानगर कमिटीका सचिवसहितका नेताले ‘कारवाही आतंक मच्चाएको’ उनले सुनाए । तीनवटा बैठकमा अनुपस्थित भए स्पष्टीकरण सोध्न सकिने र त्यसबारे पार्टीलाई जानकारी गराउनु पर्ने एमाले विधिानमा रहेको गिरीले बताए । महानगर कमिटीका सचिवले वडा नं ५ राजेश गिरी, भानुभक्त पाठक १२, वडा नं ९ को अन्ताज आलम र १० का गोबिन्द ढुंगानालाई चिठी पठाएका थिए । तीमध्ये वडा नं ९ र १० का अध्यक्षले भने सामान्य स्पष्टीकरण बुझाएका छन् ।
एमाले महानगर कमिटीमा कारवाही र स्पष्टीकरणको श्रृंखला भने विराटनगर–३ स्थित मानगढ खानेपानी समितिको निर्वाचनबाट शुरु भएको हो । त्यो निर्वाचनमा महानगर कमिटीका अध्यक्ष सागर थापाले ‘पार्टीले लाइन दिएका भन्दा फरक उमेदवारलाई सघाएको’ भन्दै पार्टी जिल्ला कमिटीले ‘पार्टी सदस्य समेत नरहने गरी कारवाही गरेको’ घोषणा गरेयता झन् बढेको हो । निवर्तमान एमाले मोरङका अध्यक्ष ऋशिकेष पोख्रेलले अघि सारेको उमेदवारलाई स्वीकार नगरेर फरक व्यक्तिलाई उम्मेदवार बनाएको थापा माथि आरोप छ । उनीसँगै उपसचिव नवराज नेपाल र विराटनगर ३ नम्बर वडा कमिटी अध्यक्ष लालमणि भट्टराईलाई कारबाही गरिएको छ ।
यसबारे छानबिन गर्न एमाले मोरङकी उपसचिव शान्ति भुजेलको संयोजकत्वमा रविन थापा र काजीबहादुर बस्नेत सदस्य रहेको समिति गठन भएको थियो । समितिले कारवाही गर्न सिफारिस गरेको थियो । तर, बस्नेतले भने फरक मत राख्दै निर्णयमा हस्ताक्षर गरेका थिएनन् ।
गत असार १७ गते बसेको प्रदेश कमिटी बैठकले प्रदेश सचिव राजकुमार भण्डारीको नेतृत्वमा छानबिन समिति बनाएको थियो । शनिबार बसेको एमाले मोरङको संगठन कमिटी पदाधिकारी बैठकले महानगर कमिटी अध्यक्ष थापालाई गरेको कारबाहीलाई अनुमोदन गर्ने निर्णय गरेको थियो ।
पदाधिकारी बैठकमासमेत थापालाई कारबाहीको सिफारिस गर्नेको बहुमत छ । सिफारिस समितिका संयोजक शान्ति भुजेल संगठन कमिटीका उपाध्यक्ष हुन् भने सदस्य रविन थापा सचिव हुन् । जिल्ला संगठन कमिटीका अध्यक्ष बाबुराम कार्की पनि थापाका विपक्षमा छन् । पदाधिकारीमा उपसचिहरु सन्तोष साह र सोम थापा छन् । थापा र साह दुवै यस प्रकरणमा मौन छन् । एमाले महानगर कमिटीमा नेता पर्शुराम बस्नेत र सागर थापा गुटबीच विवाद रहँदै आएको छ ।