काठमाडौं । उपराष्ट्रपति कमला ह्यारिसलाई आसन्न राष्ट्रपति चुनावका लागि अमेरिकी डेमोक्राटिक पार्टीले उम्मेदवार चयन गरेको छ ।
डेमोक्राटिक पार्टीका अधिकारीहरूले बहुमतसहित ह्यारिसलाई आफ्नो पार्टीको तर्फबाट राष्ट्रपति उम्मेदवारमा चुनेको घोषणा गरेका छन् ।
यसै सन्दर्भमा ह्यारिसले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै भनिन्, ‘म संयुक्त राज्य अमेरिकाको राष्ट्रपति पदका लागि डेमोक्रेटिक उम्मेदवार हुन पाउँदा सम्मानित छु ।’
आगामी हप्तामा आधिकारिक रूपमा मनोनयन स्वीकार गर्ने ह्यारिसले जनाइन् ।
ह्यारिस राष्ट्रपति पदको नेतृत्व गर्ने पहिलो अश्वेत तथा दक्षिण एसियाली मूलकी महिला उम्मेदवार हुन् ।
राष्ट्रपति जो बाइडेनले ह्यारिसलाई समर्थन गर्दै जुलाई २१ मा चुनावी प्रतिस्पर्धाबाट बाहिरिने घोषणा गरेका थिए । समर्थनपछि जुलाई २७ मा ह्यारिसले अमेरिकी राष्ट्रपति चुनावका लागि आधिकारिक रूपमा आफ्नो उम्मेदवारको उद्घोष गरेकी हुन् ।