विद्यालयको भवन निमार्णमा चलखेल : ४४ लाख खर्चेर ५१ लाख भुक्तानी लिने योजना असफल

विराटनगर । विराटनगर १३ स्थित श्रीबाल माध्यामिक विद्यालयमा निर्माणाधीन भवनमा खर्च भएको भन्दा बढी रकम भुक्तानी लिने योजना असफल भएको छ । भवन निर्माण गरिसकेपछि भएको प्राविधिक जाँचका क्रममा निर्माणमा ४४ लाख ९३ हजार रुपैयाँ बराबर रकम खर्च भएको पाइएको थियो । तर उपभोक्ता समितिले निर्माणका क्रममा ५१ लाख रुपैयाँ खर्च भएको बिल पेस गरेपछि महानगरपालिकाले प्राविधिक टोली पठाएर जाँच गरेको थियो । उक्त टोलीले भवन निर्माण गर्दा ५१ लाख रुपैयाँ खर्च नभएको प्रतिवेदन दिएको हो ।

विद्यालयकोे चार कोठे भवन निमार्णमा उपभोक्ता समितिले ६ लाख रूपैयाँ बढी खर्च देखाएर आर्थिक चलखेल गर्न खोजेको देखिएको छ ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत निमार्ण भएको चार कोठे भवन निर्माणमा विद्यालय व्यवस्थापन समिति, उपभोक्ता समिति र प्रधानाध्यापकको मिलेमतोमा ६ लाख रुपैयाँ बढी हिसाब देखाएर आर्थिक चलखेलको गर्न खोजिएको देखिन्छ ।

उक्त विद्यालयको भवन निमार्णको लागि विराटनगर महानगरपालिकाले ४५ लाख २९२ रुपैयाँ बजेट बिनायोजन गरेको थियो । बजेट विनियोजन भएपछि ११ पुस २०७९ मा सम्झौता भएपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र महतोको अध्यक्षमा उपभोक्ता समिति गठन गरेर १४ पुसबाट काम सुरु भयो । २० असार २०८० मा निमार्ण कार्य सम्पन्न गरिनुपर्ने भवन ४ चैतमा सम्पन्न भएको थियो । ५ चैतमा विराटनगर महानगरपालिकाको प्राविधिकसहितको नापी हुँदा उक्त विद्यालयको चार कोठे भवन निमार्णको कुल खर्च ४४ लाख ९३ हजार ४२ रुपैयाँ ५२ पैसा देखाएको छ । जुन इस्टिमेट भन्दा ७ हजार २४९ रुपैयाँ ४८ घटी हो । तर, निमार्ण समितिले भने ५१ लाख रूपैयाँ खर्च भएको भन्दै विद्यालयमा बिल पेश गरेको पाइएको छ । जुन सम्झौता रकम भन्दा ५ लाख ९९ हजार ७०८ रुपैयाँ बढी रकम हो ।

उपभोक्ता समितिका अध्यक्षमा रामचन्द्र महतोसहित सचिवमा बिहारी महतो, कोषाध्यक्षमा बन्दनाकुमारी कुर्मी र सदस्यहरुमा घनश्याम मुखिया, चाँदमुनी महतो, कुन्ति यादव र विजयप्रसाद महतो छन् । विद्यालयका व्यवस्थापन समितिको अध्यक्षसमेत रहेका रामचन्द्र महतो र विद्यालयका प्रधानध्यापक अभिनन्दन यादवले सम्झौताभन्दा बढि बिल बनाएर आर्थिक चलखेल गर्न खोजेको आरोप लागेको छ । तर, प्रअ यादवले भने प्राविधिकको फाइनल बिल अनुसार ४४ लाख २९ हजार ८८२ भुक्तानी गरेको बताए ।

जसमा विराटनगरस्थित शिव हार्डवेयरलाई २९ लाख, गणेश सप्लायर्सलाई बालुवा गिट्टीको ५ लाख ५५७, अनुपाल मण्डल, बैजनाथ चौधरी, सकलदेव महतो र सुरेश महतो नाममा विभिन्न मितिमा १० लाख २९ हजार ३२५ रुपैयाँ भुक्तानी गरेको छ । ‘मैले स्टिेमेट अनुसार प्राविधिकले फाइनल गरेको बिल अनुसार भुक्तानी गरेको छु,’ उनले भने, ‘कहीँ कतै बढी बिल पेश गरेको छैन । उपभोक्ता समितिले काम गरेको छ । निमार्णमा मेरो भूमिकानै छैन ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका उपभोक्ता समितिका अध्यक्ष महतोले भने निमार्ण समग्राी ५१ लाख रुपैयाँको खरिद गरेकोले अझै ६ लाख रुपैयाँ हार्डवयेर पसललाई दिन बाँकी रहेको बताएका छन् । उनले ६ लाख रुपैयाँ महानगरपाकिलाले भुक्तानी दिनुपर्ने भन्दै अहिले निमार्ण सम्पन्न भएको प्रतिवेदनमा हस्ताक्षर नगरी बसेका छन् ।

अध्यक्ष महतोले उधारोमा काम गर्न प्रअ यादवले भनेपछि सामान उपलब्ध गराएको बताए । ‘बजेट ४५ लाखको रहेको छ । अहिले आएर हिसाब गर्दा निमार्ण सामग्रीमा ५१ लाख खर्च भएको छ,’ उनले भने, ‘खरिद गरेर ल्याएको सामानको पैसा त दिनुपर्यो नि !’ मौखिक सहमतिमा प्रअ यादवले सबै निर्माण सामग्री उपलब्ध गराएर निर्माण समिति मार्फत काम सम्पन गराएको उनको भनाइ छ ।

समयमै काम नसक्दा ६ लाखको भुक्तानी रोकियो

श्रीबाल माविको चार कोठे भवनको प्लास्टर र झ्याल ढोका बनाउनको आएको ६ लाख रुपैयाँ बजेट समयमै काम सम्पन्न नहुँदा भुक्तानी रोकिएको छ ।आर्थिक वर्ष २०८०/०८१ को लागि राष्ट्रपति शैक्षिक सुधार अनुदान कार्यक्रम अन्र्तगत आएको बजेट तोकिएको सम्झौतामा निमार्ण पूरा नहुँदा भुक्तानी रोकिएको हो ।

विराटनगर महानगरपालिकासँग २०८० जेठ मा सम्झौता भएपछि २५ जेठदेखि निमार्ण कार्य सुरु भयो । २३ असार २०८० मा निमार्ण कार्य सम्पन्न भयो । तर, महानगरपालिको २० असारमा निमार्ण सम्पन्न गरेर बिल पेश गर्न उपभोक्ता समितिलाई बनेको थियो । समयमै निमार्ण सम्पन्न गरेर बिल नबुझाएको कारणले भुक्तानी नभएको विराटनगर महानगरपालिकाको शैक्षिक महाशाखाका प्रमुख कृष्ण भट्टराईले बताए । चालु आर्थिक वर्षमा प्राविधिकले निरीक्षण गरेपछि भुक्तानी हुने उनलेब ताए । प्राविधिकले पनि काम सम्पन भएको प्रतिबेदन दिइसकेकाले चालु आर्थिक वर्षमा प्रक्रिया पु¥याएर भुक्तानी दिने उनले बताए ।

मङ्गलबार, १५ साउन, २०८१, साँझको ०६:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर