संखुवासभा ।संखुवासभाको मकालु गाउँपालिका–४ दुर्गम गाउँ कारमारङमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । स्थानीयस्तरमा शान्ति सुरक्षा कायम गर्न र आपराधिक क्रियाकलापमा कमी ल्याउन मकालु –४ स्थित कारमारङमा अस्थायी प्रहरी चौकीको स्थापना गरिएको हो । गाउँमै अस्थायी प्रहरी चौकी स्थापना भएपछि ६ घण्टाको पैदल दुरीमा रहेको इलाका प्रहरी चौकी हेदाङ्ना जानुपर्ने बाध्यता हटेको छ ।
अस्थायी प्रहरी चौकीको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी धुब्रबहादुर खड्काले एक कार्यक्रमका बीच उद्घाटन गरे ।
अस्थायी प्रहरी चौकीको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी खड्काले अस्थायी प्रहरी चौकी स्थापना भएपछि शान्ति सुरक्षा कायम गर्न सहज हुने र ग्रामीण क्षेत्रमा हुने आपराधिक क्रियाकलापमा कमी आउने बताए । जनताको माग र सरोकारबालाको पहलमा स्थानीय स्तरमा शान्ति सुरक्षा कायम गरी अपराध न्युनीकरण गर्न अस्थायी प्रहरी चौकी स्थापना स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका संखुवासभाका प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले बताए । स्थानीय स्तरमा हुने अपराध नियन्त्रण, शान्ति सुरक्षा प्रदान तथा चोरी डकैती न्यूनीकरण गर्ने उद्देश्यका साथ अस्थायी प्रहरी पोष्ट स्थापना गरेको उनको भनाइ थियो ।
स्थानीयस्तरमा शान्ति सुरक्षा कायम गर्न र आपराधिक क्रियाकलापमा कमी ल्याउन अस्थायी प्रहरी चौकीको स्थापना गरिएको प्रनाउ श्रेष्ठले बताए । स्थायी प्रहरी चौकीमा प्रहरी हवल्दार यामेश्वर धिमालको नेतृत्वमा पाँच जनाको टोली चौकीमा खटाइएको छ ।
खोटाङमा दुई प्रहरी चौकी थपिए
खोटाङका दुई ठाउँमा नयाँ प्रहरी चौकी थप भएका छन् । नागरिकको शान्तिसुरक्षा कायम गर्न एवं आपराधिक क्रियाकलाप रोक्न जिल्लामा दुई ठाउँमा प्रहरी चौकी थप गरिएको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –९ निर्मलीडाँडाको पेलुङ बजारमा र सोही नगरपालिकाको वडा नम्बर ११ खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । निर्मलीडाँडासँगै साकेला गाउँपालिका –१ बाँझेच्यानडाँडाका नागरिकलाई शान्ति सुरक्षा कायम गर्न पेलुङ
बजारमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख (डिएसपी) पुरुषोत्तम खड्काले बताए ।
मध्य पहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–भोजपुर सडकलाई मध्यनजर गरेर सडक छेउ अर्थात पेलुङ बजारमा प्रहरी चौकी राखिएको डिएसपी खड्काले जानकारी दिए । हाल वडा कार्यालयले वार्षिक ४० हजार रुपैयाँ भाडा तिरेर व्यवस्थापन गरेको स्थानीयको घरमा अस्थायी प्रहरी चौकी राखिएको छ ।
स्थायी प्रहरी चौकी निर्माणका लागि स्थानीयले निःशुल्क जग्गासमेत उपलब्ध गराएका छन् । उक्त प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षक (असई) को नेतृत्वमा ६ जनाको प्रहरी टोली खटाइएको छ ।
यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –११ खार्मी र १० पाथेकाका नागरिकलाई शान्ति सुरक्षा कायम गर्न खार्मीको खानीडाँडामा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ ।
अस्थायी प्रहरी चौकी खार्मीमा तत्कालका लागि वरिष्ठ हवल्दारको नेतृत्वमा ६ जनाको टोली खटाइएको डिएसपी खड्काले बताए । तत्कालका लागि स्थानीय नागरिकको घर भाडामा लिएर अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । स्थायी चौकीको भवन निर्माणका लागि वडाध्यक्ष इखबहादुर राईलगायतले निःशुल्क जग्गा उपलब्ध गराएका छन् ।
१० स्थानीय तहको ७९ वटा वडा रहेको जिल्लामा एउटा जिल्ला प्रहरी कार्यालय, ४ वटा ‘क’ वर्गको इलाका प्रहरी कार्यालय, २ वटा ‘ख’ वर्गको इलाका प्रहरी कार्यालय, ३ वटा विमानस्थल सुरक्षा चौकी, ५ वटा अस्थायी प्रहरी चौकी, १९ वटा प्रहरी चौकी र एउटा पर्यटक प्रहरी सहायता कक्ष सञ्चालनमा छन् ।