विराटनगर । विराटनगर भन्सार कार्यालय भन्सार राजस्व असुली निरन्तर घट्दो क्रममा देखिएको छ । विगत चार आर्थिक वर्षयता विराटनगर भन्सार कार्यालय राजस्व असुली लक्ष्य अनुसार गर्ने कुरा त परै जावस् अघिल्ला आर्थिक वर्षको रेकर्ड नै तोड्नै नसकेको देखिएको छ ।
यो कार्यालय भन्सार राजस्व असुलीको दृष्टिकोणले वीरगञ्ज र भैरहवा भन्सार कार्यालयपछि तेस्रो ठूलो कार्यालय हो । यो कार्यालयले आर्थिक वर्ष २०७७–२०७८ मा ४० अर्ब ८१ करोड ९० लाख १३ हजार राजस्व संकलन गरेको थियो । उक्त राजस्व असुली लक्ष्यको ८८ दशमलव ४५ प्रतिशत थियो । त्यसयता भने राजस्व संकलनको अवस्था झनै खस्किरहेको छ ।
आर्थिक वर्ष २०७८–०७९ मा राजस्व असुली झण्डै ४० करोडले कमी आयो । सो वर्ष ४० अर्ब ४२ करोड ७७ लाख ७९ हजार अर्थात् लक्ष्यको ८१ दशमलव ४१ प्रतिशत मात्रै भयो ।
उक्त राजस्व संकलन आर्थिक वर्ष २०७९–०८० मा ७ अर्बभन्दा बढीले कमी आयो । सो आर्थिक वर्षमा ६० अर्ब ३ करोड ५२ लाख २४ हजार राजस्व संकलन हुने लक्ष्य राखिएको भएपनि संकलन भने ३३ अर्ब १३ करोड ६६ लाख ६० हजार अर्थात् ५५ दशमलव २० प्रतिशत मात्रै हुन सक्यो ।
गत आर्थिक वर्ष २०८०–०८१ मा विराटनगर भन्सार कार्यालयले ५० अर्ब ८१ करोडको लक्ष्य राखेको थियो । तर, राजस्व संकलन भने अघिल्लो आर्थिक वर्षको भन्दा पनि ३ अर्ब भन्दा धेरै कम भयो । लक्ष्यको ६० प्रतिशत अर्थात ३० अर्ब ३५ करोड रुपैयाँ मात्र संकलन भएको भन्सार कार्यालयले जनाएको छ ।
गत वर्ष लक्ष्य नै अघिल्लो आर्थिक वर्षको भन्दा १० अर्बले कम गरिएको थियो । तर, त्यो टार्गेट पनि पुरा हुन सकेन । लक्ष्य अनुसार राजस्व संकलन नहुनुमा आयात व्यापारमा आएको उल्लेख्य कमी मुख्य कारण हो ।
सरकारले चालू आर्थिक वर्ष २०८१–०८२ का लागि गत आर्थिक वर्षको भन्दा ९ अर्बभन्दा बढीले राजस्वको लक्ष्य घटाएको छ । यो आर्थिक वर्षमा विराटनगर भन्सार कार्यालयले ४१ अर्ब ५५ करोड १६ लाख ३० हजार राजस्व संकलन गर्ने लक्ष्य पाएको छ । त्यो लक्ष्य पनि पुरा हुनेमा धेरैले शङ्का गरेका छन् ।
विराटनगर भन्सार कार्यालयमा आर्थिक वर्ष २०७७–०७८ मा झण्डै ४१ अर्ब राजस्व संकलन भएको रेकर्ड छ । जुन रेकर्ड चालू आर्थिक वर्षका लागि लिइएको लक्ष्यकै हाराहारीमा हो ।
विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्रराज ढकालले चालू आर्थिक वर्षका लागि राजस्व संकलनमा लिएको लक्ष्य प्राप्त गर्नका लागि समग्र अर्थतन्त्र चलायमान हुनुपर्ने बताउँछन् । ‘समग्र अर्थतन्त्र चलायमान भयो भने सुधार आउँछ’, उनले भने, ‘त्यस्तै स्थानीय उद्योगको क्षमतामा पनि सुधार आउँने र कच्चा पदार्थको आयातमा पनि सुधार आउने भएमा राजस्व संकलन हुन सक्ने हामीले विश्वास लिएका छौं ।’
टार्गेट करेक्सन भएर आएको कारण सोही अनुसार राजस्व संकलन हुने उनको विश्वास छ । ‘अहिले गत वर्षको लक्ष्यको तुलनामा केही करेक्सन भएर आएको हुँदा टार्गेट मिट गर्न सकिन्छ जस्तो लागेको छ,’ उनले भने ।
यद्यपि २०७२ सालको भुकम्प र कोभिडको समयमा बन्द भएका चीनतिरका नाकाहरु खुलेपछि विराटनगरको भन्सार राजस्व असुलीमा केही असर गर्ने उनले बताए । उत्तरी नाका बन्द हुँदा विराटनगर भन्सार हुँदै चीनबाट आउने तयारी कपडा, जुत्ता चप्पल, इलेक्ट्रिक सामानहरु आयात हुने गरेको थियो । पछिल्लो समय उत्तरी नाकाहरु सुचारु भएसँगै ती सामानहरु उतैबाट आयात हुने ढकाल बताउँछन् । त्यसले केही असर गर्नसक्ने उनको आशङ्का छ ।
विगत १३ वर्षमध्ये ६ वटा आर्थिक वर्षमा भने विराटनगर भन्सार कार्यालयले लक्ष्यभन्दा धेरै राजस्व संकलन गरेको थियो । आर्थिक वर्ष २०६८–६९ मा १०१ दशमलव ९२ प्रतिशत, आर्थिक वर्ष २०६९–७० मा १०४ दशमलव ३८ प्रतिशत, आर्थिक वर्ष २०७०–७१ मा १०१ दशमलव २५ प्रतिशत, आर्थिक वर्ष २०७२–७३ मा १०६ दशमलव ०८ प्रतिशत, आर्थिक वर्ष २०७३–७४ मा १०० दशमलव २० प्रतिशत, आर्थिक वर्ष २०७४–७५ मा १०५ दशमलव ०२ प्रतिशत राजस्व संकलन भएको छ ।
आर्थिक वर्ष २०६८–०६९ मा विराटनगर भन्सार कार्यालयको राजस्व संकलन ११ अर्ब ७ करोड ५० लाख ९१ हजार थियो । १३ वर्षपछि भने उक्त राजस्व संकलनको दर बढेर ४० अर्ब हुँदा गत आर्थिक वर्ष ३० अर्बमा झरेको छ ।