विराटनगर । मोरङको धनपालथान गाउँपालिका २ घर भई हाल विराटनगर ११ जनपथ टोलमा बस्दै आएकी ४३ वर्षीया सुनिता साह घरेलु हिंसामा परेकी छन् ।
आठ वर्ष अगाडि विवाह बन्धनमा बााधिएकी सुनिता पति श्यामप्रसाद साहबाटै हिंसामा परेकी हुन् । आफूलाई मरणसन्न हुने गरी यातना दिइएको र यातना खेप्न नसकेर न्यायको खोजी गरेको उनले बताइन् ।
पतिले दिएको यातना सहन नसकेपछि उनले शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गरी न्यायको लागि हारगुहार गरिन् । मदिरा सेवन गरेर आएपछि पति श्यामप्रसादले मरणसन्न हुने गरी कुटपिट गर्ने गरेको सुनिताको आरोप छ ।
श्याम र सुनिताको २०७३ साल २ महिना ८ गते विवाह भएको थियो । सुनिताको माइती घर भारतको उत्तर प्रदेश हो । साधी डटकम भन्ने म्याट्रीमोनियल साइडबाट सुनिता र श्यामबीच सम्पर्क भएपछि उनीहरु विवाह बन्धनमा बाँधिएका थिए । विवाह भएको एक वर्षदेखि यतना दिने गरेको उनले सुनाइन् ।
बारम्बार पति र उनका परिवारका सदस्यबाट ‘टर्चर’ सहनु परेपछि सुनिता २०७७ मंसिर २ गते जिल्ला प्रहरी कार्यालय मोरङको शरणमा पुगिन् । मरणासन्न हुनेगरी श्याम र उनकी भाउजू बिनाले सुनितालाई मारपीट गरेका थिए । त्यसपछि उनले प्रहरी कार्यालयबाट घाउजाँच गराइन् । केस मिलापत्रमा सकियो । ‘विवाह गर्न साधी डटकमको सहारा लिएका पतिले मारपिट गर्न भाभी डटकमको सहारा लिए,’ सुनिताले भनिन्, ‘मेरो त हत्या हुन लाग्दा फुत्किएर भागेको थिएँ । श्याम साहले योजनामै मलाई फाँसी लगाउन खोजेका थिए । घरको माथिल्लो तलाबाट अर्को घरमा हामफालेर जोगिएकी थिएँ ।’
पीडा सहँदै कुटाइ खाँदै आएकी सुनिताबाट छोरी जन्मियो । उनी अहिले छ वर्षकी भइन् । श्याम साहसहित परिवारले धनपालथानको खरयबना नाकाबाट अवैध आयात–निर्यातको कारोबार चलाउँदै आएको छ । खयरबना नाकाबाट चल्ने सबैभन्दा ठूलो तस्करीको लाइन श्यामका दाइ नारायणका छोरा विनोद साह (छेरुवा) भन्नेले सञ्चालन गर्ने गर्दछन् ।
श्यामले विराटनगरमा सम्राट रेष्टुरेन्ट सञ्चालन गर्दै आएका थिए । त्यस बाहेक विराटनगर प्रोफेसनल इन्ष्टिच्यूटसमेत छ । उनी आफूलाई डाक्टरसमेत भन्छन् । उनको मारपीटले थलिएकी सुनिताले २०८० चैत ६ गतेसमेत जिल्ला प्रहरी कार्यालय मोरङसँग न्यायको लागि सहारा मागेकी छिन् । तर, त्यसबेला श्यामलाई प्रहरीले नियन्त्रणमा लियो । दुव्र्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट छुटे । श्यामका घरपरिवारले भेला भएर मिलापत्रमा केस डिसमिस पारेका थिए ।
बारम्बार प्रहरी, गैरसरकारी संस्था र विराटनगर महानगरपालिकाको शरणमा पुगेकी सुनिताको ज्यान थङथिलो भइसकेको छ तर न्याय पाउन सकेकी छैनन् ।
पछिल्लो घटनापछि उनी विराटनगर महानगरपालिकामार्फत न्यायलयमा पुगेकी छन् । चार महिनायता श्याम र सुनिताबीचको सम्बन्ध वैधानिक रुपमा छुट्ने प्रक्रिया अदालतमा विचराधीन छ । विराटनगर–११ जनपथमा घर खरिद गरेका श्यामले सुनिता र छोरीको दैनिक जीविकोपार्जनका लागि दिनुपर्ने रकम दिएका छैनन् । छोरी विराटनगरको बिकेभिएम पढ्दै आएकी थिइन् । विद्यालयको शुल्क बुझाउन नसक्दा उनी नयाँ भर्ना हुन पाइनन् ।
सुनिताले नेपाली नागरिकता बनाएकी छन् । तर, छोरीको जन्मदर्ता छैन । २०७७ सालमा प्रहरीको शरणमा पुगेपछि सुनिता र श्यामबीचको विवाहले वैधानिकता पाएको थियो । विवाह दर्ता गर्ने सर्तमा मिलापत्र भएका कारण श्यामले स्वीकार गरेका थिए । सुनिताका अनुसार जति पटक प्रहरीको शरणमा पुगेपनि उनी निस्कनु अगाडि नै श्याम र परिवारका सदस्यलाई प्रहरीमार्फत फोन पुग्ने गरेको छ । प्रहरी प्रशानसँग कुरा मिलाएर श्याम छुटने गरेको सुनिताको गुनासो छ । प्रहरीले उनलाई वास्ता नगर्ने र केस मिलापत्रतर्फ जाने गरेको उनको भनाइ छ ।
‘मलाई हत्या गर्नेसम्म योजना बनाएर मारपीट गर्दासमेत जीउ ज्यानको सुरक्षा भएन, अब अदालतको सहारामा पुगेको छु, न्याय पाउन सक्छु कि सक्दिन थाहा छैन,’ सुनिताले पत्रकार सम्मेलनमा गहभरी आँसु पार्दै भनिन्, ‘ भारतीय नागरिक भएर होला सहारा दिने कोहि भएन ।’ उनका अनुसार श्याम साहले धेरैसँग मिटरब्याज कारोबार गरेका छन् । उनले आफ्नो सम्पत्तिसमेत परिवारका अन्य सदस्यको नाममा नामसारी गरिसकेका छन् ।
यता डा.श्याम साहसँग कुरा गर्दा उनले सुनिताको मनस्थिति कमजोर भएको र मानसिक समस्या भएको आरोप लागए । उनले प्रहरीका सबै व्यक्तिले सम्झाउँदासमेत उनी घर बस्न नमानेको बताए । ‘डिएसपीले सम्झाउनुभयो, एसपीसाबले सम्झाउनुभयो तर घर बस्नै मानिन,’ श्याम साहले भने, ‘छोरी छ उसलाई घर बसाउन सकिएन ।’ उनले आफू डाक्टर भएकोले धेरै महिलासँग सम्पर्क हुने बताए । दिल्ली गाजियावादमा उनका बाबुआमा भाडामा बस्ने गरेको बताए । उनले लभ म्यारिज भएको र मामाको घर देखाएर विवाह गरेको बताए । माइती पक्ष कमजोर रहेको संकेत गर्दै डाक्टर साहले भने, ‘कहिले उसले कुटी, कहिले मैले ।’ उनले परिवारका अन्य सदस्यसँग मिलेर घाँटीमा पासो लगाउन खोजेको भन्ने भनाइ गलत भएको बताए ।