प्राविधिक जनशक्तिलाई स्वदेशमै खपत गर्न विश्वविद्यालयको जोड

विराटनगर । उद्योग क्षेत्रले स्वदेशी प्राविधिकहरुलाई विश्वासन नगरी विदेशीहरुलाई मात्र प्राथमिकता दिँदा दक्ष जनशक्ति पलायन हुन बाध्य भैरहेकोप्रति मनमोहन विश्वविद्यालयले चिन्ता जनाएको छ । विश्वविद्यालयले राज्यले लगानी गरेर तयार पारेको दक्ष जनशक्ति उपयोग गर्न उद्योगीहरुलाई आग्रहसमेत गरेको छ ।

दक्ष प्राविधिक जनशक्तिलाई स्वदेशमै रोजगारी दिन र प्राविधिक जनशक्तिमा देखिएको परनिर्भरता हटाउने उपायको खोजी गर्न मनमोहन प्राविधिक विश्विद्यालयले रोजगारदाताहरुसँग छलफल गरेको थियो । उक्त छलफलमा विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेलले स्वदेशी आवश्यकता अनुसारको जनशक्ति उत्पादन गर्दै आएको भए पनि अवसर नपाउँदा उनीहरु विदेशिन बाध्य भइरहेको बताएका हुन् । पोखरेलले उनीहरुलाई स्वदेशमै रोजागार दिएर पलायन हुनबाट रोक्न उद्योगी व्यवसायीहरुसँग आग्रह गरे ।

मनमोहन विश्वविद्यालयबाट उत्पादित जनशक्ति विदेशी बजारमा दक्ष जनशक्तिको रुपमा खपत भइरहेकोले स्वदेशी उद्योगीहरुले उनीहरुलाई नै रोजगारी दिन थाल्नुपर्ने पोखरेलले बताए । स्वदेशमै रोजगार पाएमा थप गुणस्तरीय जनशक्ति उत्पादन गर्न प्रोत्साहन मिल्ने उनको भनाइ थियो ।
उपकुलपति पोखरेलले उद्योगीहरुलाई आग्रह गर्दै भने, ‘हामी दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्न लगानी गर्छौ तर उद्योगहरुले स्वदेशमै रोजगाार दिन आनाकानी गर्नुहुँदैन ।’ विश्वविद्यालयका रजिष्ट्रार डा. दिलनाथ फुँयालले रोजगारमा प्राथमिकता दिए बजारको आवश्यकता अनुसार जनशक्ति उत्पादन गर्न हौसला बढ्ने बताए ।

उनले देशका युवाहरुलाई प्राविधिक शिक्षा तर्फ अग्रसर बनाउन सके परनिर्भरता अन्त्य हुने र देश विकासको महाअभियान पनि सफल हुने बताए । रजिष्टार फुँयालले भने — ‘दक्ष जनशक्त्तिले स्वदेशमै रोजगार पाए देश आत्मनिर्भरतातर्फ उन्मुख हुनसक्छ ।’कोशी प्रदेश सरकारका मुख्यमन्त्री तथा मनमोहन प्राविधिक विश्वबिद्यालयका कुलपति हिक्मत कार्कीले सरकारले स्थापना गरेको देशको पहिलो प्राविधिक विश्वविद्यालले हरेक वर्ष अनुसन्धानमा मात्र नभएर व्यवहारिक रुपमा पनि दक्ष जनशक्त्ति उत्पादन गर्ने गरेको टिप्पणी गरे । उत्पादित जनशक्तिले स्वदेशमै भरपर्दो रोजगार पाए देशको विकासमा सहयोग पुग्ने उनको भनाइ थियो । उनले दक्ष प्राविधिक जनशक्ति उत्पादन गराउन विश्वविद्यालय र रोजगार सिर्जना गर्ने उद्योगहरुलाई प्राथकिता दिएर सहयोग गर्न प्रदेश सरकार तयार रहेको पनि बताए ।

मुख्यमन्त्री कार्कीले नेपालमा उत्पादित जनशक्तिलाई बेवास्ता गरेर भारतीय कामदार र प्राविधिक मात्र दक्ष हुन्छन् भन्ने मनोविज्ञानबाट उद्योगीहरु मुक्त हुनुपर्ने बताए । उनले भने, ‘प्राविधिक जनशक्तिबिना देशको विकास अगाडि बढन सक्दैन यसैले रोजगार दिने उद्योग र शिक्षा दिने विश्बविद्यालयलाई सहयोग गर्न प्रदेश सरकार तयार छ ।

कोशी प्रदेशका समाजिक विकासमन्त्री तथा मनमोहन प्राविधिक विश्विद्यालयका सहकुलपति पाँचकर्ण राईले उत्पादन भएका दक्ष जनशक्तिले स्वदेशमै रोजगार नपाएसम्म देशको बेरोजगारी अन्त गर्न सहयोग नपुग्ने भएकोले उद्योगहरुले आफनै जनशक्तिलाई रोजगारमा प्राथकिता दिन आग्रह गरे । मन्त्री राईले प्राविधिक जनशक्ति देश विकासका लागि आवश्यक भएकोले उनीहरुले स्वदेशमै रोजगार पाउन सकेमात्र दक्ष शिक्षित युवाहरु पलायन हुनबाट रोक्न सकिने दाबी गरे ।

पूर्व समाजिक विकास मन्त्री तथा मनमोहन विश्वविद्यालयका संरक्षक जिवन घिमिरेले मनमोहन प्राविधिक विश्वविद्यालय प्रदेश सरकारको गौरवको सम्पत्ति भएकोले लगानी बढाएर दक्ष प्राविधिक जनशक्ति उत्पादन गराउन चासो दिन प्रदेश सरकारलाई आग्रह गरे । घिमिरेले सम्झौता अनुसार प्रदेश सरकारले लगानी नगर्दा विश्वविद्यालयको स्तरोन्नतिमा ढिलाइ भइरहेकोमा असान्तुष्टि जनाए । उनले विश्वविद्यालयमा प्रदेश सरकारले ६० प्रतिशत लगानी गर्नुपर्ने सर्त मुख्यमन्त्रीलाई स्मरण गराए ।

विश्विद्यालयको आंगिक क्याम्पस मनमोहन पोलिटेक्निकका प्राचार्य ईन्जिनियर सुदिप ढुंगानाले आफूहरुले हरेक वर्ष ईलेक्ट्रिक एण्ड ईलेक्ट्रोनिक्स र सिभिल ईन्जिनियरिडदेखी आईटी क्षेत्रका पाँचसय बढी दक्ष जनशक्ति उत्पादन गरिरहेको जानकारी गराए । तर उनीहरुले स्वेदशमा रोजगार नपाउँदा विदेश जानेगरेको बताए । प्रचार्य ढुंगानाले पोलिटेक्निकले स्वदेशका उद्योगहरुको आवश्यकतालाई अध्यन गरेर विभिन्न क्षेत्रका सीपपयुक्त जनशक्ति पनि उत्पादन गरिरहेकोले उनीहरुलाई रोजगारमा प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

उद्योग संगठन मोरडका अध्यक्ष राकेश सुरानाले उत्पादन भएका नेपाली जनशक्तिहरुलाई आपेक्षा अनुसार पारिश्रमिक दिन उद्योगहरु असर्मथ हुँदा सबै जनशक्ति खपत हुन नसकेको बताए । यहाँका युवापुस्ता नै स्वदेशमा भन्दा वैदेशिक रोजगारीमा जान उत्साहित देखिएका कारण चाहेर पनि उद्योगहरुले जनशक्ति खपत गर्न नसकिरहेको दाबी गरे । त्यसले गर्दा उद्योगहरुले भारतलगायतका ठाउँबाट दक्ष प्राविधिक जनशक्ति ल्याउनु परिरहेको भन्दै उनले उत्पादित जनशक्तिलाई सुहाउने खालको रोजगार नभएका कारणले पनि सबैलाई रोजगार दिन सम्भव नहुनेबताए । अध्यक्ष सुरानाले भने, ’उद्योग सुहाउँदो प्राविधिक जनशक्ति उत्यादन भए भारतीयलाई हैन स्वदेशीलाई नै रोजगार दिन उद्योगहरु तयार छन् तर सरकारको सहयोग आवश्यक पर्छ ।’

दुहवी नगरपालिका प्रमुख वेदनारायण गच्छदारले प्राविधिक जनशक्ति उत्पादनका लागि नगरपालिकाले हरेक वर्ष शिक्षामा सहयोग गरिरहेको दावी गरे ।पालिका प्रमुखले गच्दारले भने, ‘स्थानीयमा कैयन प्रकारका प्राविधिक जनशक्तिको खाँचो रहेकोले स्थानीय सरकारहरुसँग समन्वय गर्न प्रदेश सरकारलाई आग्रह गरे ।

अरिहन्त फाइवर्सका व्यावस्थापक नारायणप्रसाद लामिछानेले विश्वविद्यालयले उत्पादन गरेका जनशक्त्तिले पूरा अवधि काम गरेमात्र उद्योगहरु रोजगारमा लगानी गर्न उत्सुक हुने बताए । तर केही महिना रोजगार गरेर सिपमा थप दक्षता हासिल गरेर फेरि विदेश नै जाने प्रचलनबाट उद्योगहरु पनि प्रभावित भइरहेको उनको भनाइ थियो ।

छलफलमा प्रिमियर प्रालिका प्रशासन प्रमुख माधव घिमिरेले प्राविधिक जनशक्तिलाई रोजगार दिने विषयलाई आफूहरुले प्राथमिकतामा राखेको तर बिचमा काम छोड्ने प्रवृत्तिले समस्या हुने गरेको सुनाए ।

यसैगरी रिलायन्स इण्डिसट्रिजका व्यवस्थापक आषिस काफ्लेले विश्विद्यालयले उत्पादन गरेका जनशक्ति दक्ष भएको र आफूहरुले रोजगारमा प्राथमिकता दिइरहेको बताए । उनले बिचमा काम छोड्ने प्रवृत्ति भने बढी नै रहेकोले कतिपय बेलामा उत्पादनमै असर पर्ने गरेको गुनासो गरे ।
;कृष्णग्रिलका सञ्चालक लवमणि राजभण्डारीले विश्विद्यालयले सैदान्तिक मात्र नभएर प्रयोगात्मक रुपले पनि दक्ष जनशक्त्ति उत्पादन गराउनुपर्नेमा जोड दिए ।

कोशी प्रदेशका उत्पादनमूलक उद्योगमा मात्र नभएर सेवामूलक उद्योग र उद्यमहरुमा आवश्यक पर्ने दक्ष जनशक्तिको समेत अभाव रहेको र त्यसको आपूर्ति भारतीय बजारबाट गर्नुपरिरहेको विषय पनि छलफलमा उठेको थियो ।कोशी प्रदेश सरकारले स्थापना गरेकोे देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालयले स्नातक र डिप्लोमा तर्फ सिभिल र ईलेक्ट्रिक एण्ड ईलेक्ट्रिक बिषयका दक्ष जनशक्त्ति उत्पादन गर्दै आएको छ ।

आइतबार, ३१ असार, २०८१, बिहानको ०७:५६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर