चितवन । लेदोसहितको पहिरोले दुईवटा बस बगाउँदा त्रिशूलीमा बेपत्ता भएका छन् । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा ती बस बगाएको हो । बसमा चालकसहित ६३ जना रहेको अनुमान छ ।
घटनास्थलमा पुगेका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३ः३० बजे दुई बस त्रिशूलीमा खसेका हुन् । उनका अनुसार काठमाडौँबाट गौर जान आउँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठामाडौँ जाँदै गरेको एन्जट बस त्रिशूलीमा खसेका हुन् ।
प्रारम्भिक जानकारीअनुसार गौर जान आउँदै गरेको बसमा ४१ जना र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए ।दुईवटा यात्रुबाहक गाडीको उद्धार समस्या उत्पन्न भएको छ । ठूलो पहिरो गएका कारण गोताखोर घटनास्थलमा पुग्न नसक्दा समस्या उत्पन्न भएको हो ।
खोज तथा उद्धारका लागि उक्त स्थानमा सशस्त्र प्रहरीको १७ नम्बर गण चितवनबाट ३५ जना र विपद् व्यवस्थापन तालिम शिक्षालयबाट ७ गोताखोरसहित २० जना परिचालन गरिएपनि उनीहरू घटनास्थल पुग्न कठिनाइ भएको हो ।