विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१-८२ को लागि ३ अर्ब ४९ करोड ९८ लाख रुपैयाँको वार्षिक अनुमान नगरसभामा प्रस्तुत गरेको छ । अघिल्लो वर्षको तुलनामा १३ करोड रुपैयाँ थपेर आगामी वर्षका लागि बजेट ल्याएको हो ।
चालु वर्ष निर्धारण गरेको लक्ष्यको करिव ७० प्रतिशत मात्र आम्दानी गरेको महानगरले थप १३ करोड रुपैयाँ भन्दा बढी आय हुने अनुमान गरी बजेट ल्याएको हो ।
महानगरपालिकाले चालु वर्षमा ३ अर्ब ३६ करोड रुपैयाँ आम्दानी हुने अनुमान गरेको थियो । तर, यथार्थ आम्दानी भने २ अर्ब ३७ करोड ५४ लाख रुपैयाँ मात्र गर्न सकेको छ । आन्तरिक आय तर्फ ८९ करोड आम्दानी गर्ने लक्ष्य लिएको महानगरले जेठ मसान्तसम्म जम्मा ४१ करोड रुपैयाँ मात्र राजश्व संकलन गरेको छ जुन कुल आय अनुमानको ४६.९० प्रतिशत मात्र हो ।
संघीय सरकारबाट प्राप्त हुने समानीकरण र विशेष अनुदानमा पनि अनुमान गरेअनुसार महानगरले आम्दानी गर्न सकेको छैन । विशेष अनुदानतर्फ ६ करोड अनुमान गरेको महानगरले यथार्थ आम्दानी ३ करोड रुपैयाँ मात्र प्राप्त गरेको थियो ।
यस्तै मनोरञ्जन कर र विज्ञापन करवापत ४१ लाख आय अनुमान गरेको महानगरले २६ लाख रुपैयाँ मात्र संकलन गर्न सकेको छ भने घरजग्गा रजिस्ट्रेशनबाट ४५ करोड रुपैयाँ आम्दानी हुने अनुमान गरेको महानगरले यथार्थमा १८ करोड ८३ लाख रुपैयाँ मात्र प्राप्त गरेको छ । प्रदेश सवारीसाधन करबाट ४ करोड ८ लाख आम्दानी गर्ने लक्ष्य लिएकोमा महानगरले ३ करोड ८२ लाख रुपैयाँ, संघसंस्था अनुदानवापत ३ करोड अनुमान गरेकोमा १७ लाख रुपैयाँ मात्र आम्दानी गरेको छ । यसैगरी जनसहभागिताबाट ८ करोड रुपैयाँ आम्दानी गर्ने अनुमान गरेको महानगरले ३ करोड ३२ लाख ८६ हजार रुपैयाँ मात्र आम्दानी गरेको नगरसभामा वितरण गरिएको विवरणमा उल्लेख छ ।