विराटनगर महानगरको बजेट : लामखुट्टै नियन्त्रण गर्न २५, महामारी रोक्न ५ लाख

विराटनगर । विराटनगर महानगरपालिकाले आगामी वर्ष लामखुट्टे नियन्त्रण गर्नका लागि २५ लाख रुपैयाँ बजेट छुट्याएको छ ।  लामखुट्टे नियन्त्रणका लागि फगी स्प्रे गर्ने कार्यक्रममा उक्त रकम खर्च गर्ने छ । महामारीजन्य रोगहरु नियन्त्रण गर्ने शीर्षकमा भने महानगरले जम्मा ५ लाख रुपैयाँ मात्र बजेट विनियोजन गरेको छ । उक्त रकम रिसर्च एण्ड रेस्क्यु टोली परिचालनमा खर्च गर्ने जनाइएको छ । महानगरले पेशागत स्वास्थ्य र सुरक्षामा खर्च गर्न २५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

यसैगरी महानगरले सरसफाइ साझेदारी संस्थाहरुलाई भुक्तानी दिनका लागि ८० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । उक्त रकमबाट गतवर्षको भुक्तानी पनि दिनुपर्ने छ ।

राजश्व वृद्धि गर्न घरदैलो अभियान संचालन तथा स्वयंसेवक परिचालन गर्न महानगरले १० लाख रुपैयाँ बजेट छुट्याएको छ भने राजश्व सम्पर्क व्यक्तिको बैठक सञ्चालन, राजश्व सुधार योजना निर्माण, सूचना प्रवाह, करदाता शिक्षा अभियान सञ्चालन गर्न बजेट व्यवस्था गरेको छ ।

यस बाहेक महानगरपालिकाले घरनक्साको पुरानो अभिलेख डिजिटाइज गर्न ठूलो रकम छुट्याएको छ । यस प्रयोजनका लागि महानगरले ७० लाख रुपैयाँ विनियोजन गरेको छ भने फायल भण्डार व्यवस्थापन गर्न ६ लाख र कम्प्युटर खरिद गर्न ५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

महानगरले आगामी वर्षका लागि नयाँ कार्यक्रमहरु भने प्रस्तुत गरेको छैन । महानगरले आगामी वर्षको अनुमानबाट झण्डै ४५ करोड रुपैयाँ दायित्व भुक्तानी गर्नुपर्ने भएकोले नयाँ कार्यक्रमहरु समावेश गर्न नसकेको हो ।

मङ्गलबार, १२ असार, २०८१, बिहानको ०८:५५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर